काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) र नेपालका लागि बेलायती राजदूत रब फेनबीच द्विपक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धिबारे छलफल भएको छ । सो अवसरमा सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रम सुरु गरेकोमा धन्यवाद दिनुभयो । जसबाट नेपालले महत्वपूर्ण उपलब्धि हासिल गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सिएनआईले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै अग्रवालले बेलायती दूतावाससँग सहकार्यका लागि सिएनआई तयार रहेको बताउनुभयो । उहाँले बेलायतसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्दै नेपाली वस्तु बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोगका लागि राजदूतलाई आग्रहसमेत गर्नुभयो । साथै उहाँले नेपालको पूर्वाधार, विद्युत् तथा नवीकरणीय ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गर्दै बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिनुभयो ।
नेपालस्थित बेलायती राजदूत फेनले नेपालमा आर्थिक गतिविधि सञ्चालन गर्न, रोजगारीका अवसर सिर्जना गर्न र दुर्ई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न विद्युत् उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल इन बिजनेस जस्ता पहलमार्फत् नेपालसँगको आर्थिक साझेदारी बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । छलफलमा सिएनआई पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा