हुम्ला । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले सदरमुकाम सिमकोटमा मंगलबारबाट प्रथम औद्योगीक प्रदर्शनी तथा प्रतियोगिता मेला सञ्चालन गरेको छ । मंगलबारबाट सुरु भएको औद्योगीक प्रदर्शनी मेला भोली बुधबारसम्म सञ्चालन भएर सम्पन्न हुने भएको छ ।
स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले औद्योगिक मेलाको आयोजना गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदिप रेग्मीले बताउनुभयो । जिल्लाको स्थानीय रैथान उत्पादनलाई प्रथामिकता दिनका लागि हुम्लामा पहिलो पटक मेलाको आयोजना गरिएको प्रमुख रेग्मीले बताउनुभयो । प्रदर्शनी मेलामा जिल्लामा उत्पादन हुने, जिल्लामै भेडाका उनबाट बनेका राडीपाखी, लिउ, फेरुवा, कोट, बोख्खु, पटुका, पाखो, गुनिउचोलो, घागर, रातो काम्लो, कुशन, डस्ना, शिरानी लगायतका सामग्री प्रर्दन गरिएको थियो । भने यस्तै दलित समुदायका सुनारले फलामबाट बनाएका ढाल, तरवार, चक्कु, बन्चारो, कुटो कोदाली, तारे चुकबाट बनेका जुस, जाम, फापर, चिनो लगायतबाट बनेका विस्कुट, पाउरोटी, स्थानीय सिस्नुबाट बनेका विभिन्न परिकार, घोडा मर्चा,पाड्नी सिस्नो, सिस्नोको धुलो, प्रदर्शन गरिएको थियो । साथै काठबाट बनेका दराज, सुत्ने बेड लगायतका विभिन्न परिकार राखिएको थियो । प्रदर्शनीमा राखिएका उक्त सामग्री सुपथ मुल्यमा समेत विक्री गरिने भएको छ ।
औद्योगिक मेलामा राखिएका विभिन्न सामग्रीको जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख, राजनितिक दल, बुद्धिजिबी, लगायत आमनागरीकले अवलोकन गरेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । उक्त कार्यालयमा दर्ता भएका उद्योगिहरुले उत्पादन गरेका स्थानीय विभिन्न परिकार मेलामा प्रदर्शन गरिएको हो । फापरबाट बनेका विस्कुट, कोदोबाट बनेका विभिन्न परिकार समेत मेलामा राखिएको थियो । स्थानीयले उत्पादन गरेका राडिपाखी, होजियारी, लत्ता कपडा लगायतका सामग्री प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनी मेलामा राखिएका उक्त सामग्री अवलोकन गर्न जाने अधिकांस आमनागरीले ती सामग्री खरिद समेत गरेका थिए । जिल्लामा लुकेका विभिन्न स्थानीय रैथाने सिप र उत्पादन साग्रमीलाई प्रचारप्रसार गर्ने कार्यालयको परिकल्पना अनुसार प्रदर्शनी मेलाको आयोजना गरिएको हो ।
प्रदर्शनी मेलामा प्रथमलाई रु तीस हजार, द्धिर्तीयलाई रु बिस हजार, तृतीयलाई रु दश हजारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । स्थानीय उत्पादनमा प्रचारप्रसार नहुँदा सुस्ताएको बजारीकरणमा यो समयमा आयोजना गरिएको मेलाले यहाँको अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ ।
औद्योगीक मेलामा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले कृषिको महत्वका साथै श्रम सिप दिएर बजारमा ल्याउनु नै उद्योग भएको बताउनुभयो । उद्योग महत्व भएकाले स्वर्ग जाने बाटो नै उद्योग, उद्यम भएकाले सबै उद्यमी हुनु पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
यस्तै प्रदर्शनी मेलामा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले, कुनै समय जसको घरमा पशुवस्तु बढी थिए उसैलाई धनी भन्ने चलन थियो । अहिले जस्ले बढी सिप सिकेको छ त्यसलाई धनी भनिने बताउनुभयो । नागरीकले सिकेका सिपलाई बजारमा ल्याउन यहाँका स्थानीय तहले सहयोग गर्ने बताउनुभयो । भत्ता र सटीफिकेट लिनका लागि मात्रै नभएर सिकेको सिपलाई बजारमा ल्याउनु पर्ने र बजारीकरणका लागि आफुले सक्दो सहयोग गर्ने गाउँपालिका अध्यक्ष भण्डारीले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले, हामी आधुनिक प्रणली तिर उन्मुख हुँदै गएको बताउनुभयो । हुम्लामा साना उद्योग थिए अहिले हराउँदै गएको छ । प्रत्येकका घरमा चान थिए, यहाँकै उत्पादन गरेका कपडा लगाउथ्यौं जिल्लाकै उत्पादनलाई प्रयोग हुन्थ्यौ । तर अहिले परनिर्भर भएर विदेशी कपडामा जोड दिने गरेको समन्वय प्रमुख शर्माले बताउनुभयो । हुम्लाको उत्पादनलाई हामीले निरुत्साहित बनाएका छौं । यो दुर्भाग्य हो, हामीले हाम्रो रैथाने परम्परालाई विर्सन हुँदैन निरन्तरता दिनुपर्छ । हुम्लामा हरेक उत्पादन हुन्छ, हुम्लामा उत्पादन भएका विभिन्न उत्पादित वस्तुले नेपाल मात्रै नभएर अन्तराष्ट्रिय मार्केट समेत पाउने हुम्ली धनी हुने प्रशस्तै आयामहरु रहेको प्रमुख शर्माले बताउनुभयो ।
आजबाट शुरु भएको प्रदर्शनी मेलामा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख रेग्मी, प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया (भाम), उद्योग बाणिज्यसंघका अध्यक्ष राम बहादुर भण्डारी, नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमी, नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापती कैलाश भण्डारी, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा, राष्टि स्वतन्त्र पार्टीका महेन्द्र पाण्डे, सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया, लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सदरमुकावासी सहित आम नागरीकको सहभागीता रहेको औद्योगीक प्रदर्शनी मेला कार्यक्रमका कार्यक्रम सञ्चालक रेशमराज रोकायाले बताउनुभयो । यस्तै आज ठेहे गाउँ सिमकोट तल्लो र माथि गाउँका महिला विच देउडा प्रतियोगिता समेत भएको रोकायाले बताउनुभयो । प्रदर्शनी मेलाको भोली समापन हुने भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका लेखा अधिकृत केवश न्यौपानेले बताउनुभयो ।






