भोजपुर । कवि सुनिता राई कन्दङ्वाद्वारा लिखित ‘म युग बगिरहेछु’ कविता संग्रहको भोजपुर सदरमुकाममा शनिवार परिचर्चा गरिएको छ ।
प्रगतिशील लेखक संघ भोजपुरको आयोजनामा आयोजित कार्यक्रममा संग्रहमा समावेश भएका विषयवस्तुका विषयमा बत्ताहरुले परिचर्चा गर्नु भएको थियो ।
कविता संग्रहमा समावेश भएका ७५ वटा कविताहरुका बिषयमा प्रगतिशील लेखक संघ प्रदेश अध्यक्ष तिला लेकाली, भोजपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक सुरेन्द्र कार्की र कवि कमला प्रधानले चर्चा गर्नु भएको थियो । हाल इजरायललाई कर्मथलो बनाउँदै आउनु भएकी कवि सुनिताले नेपाली साहित्यमा खेल्नु भएको भुमिकाको चर्चा गर्दै बत्ताहरुले मानविय समवेदना, दुख पीडा, बिकृति, बिसंगति, भष्ट्रचार लगायतका बिषयहरु कविता संग्रहमा समेटिएको बताउनुभयो ।
प्रगतिशील लेखक संघ प्रदेश अध्यक्ष लेकालीले संग्रहको चर्चा गर्दे समावेश भएका कविताहरुले आजको समाज, राजनीतिक एवंम बैयक्तिक जीवन, चेतना लगायतका बिषयलाई उजागर गर्दै आजको युगको प्रतिबिम्वित गरेको बताउनुभयो । यस्तै भोजपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक कार्कीले आमाप्रतिको श्रद्धा, देशप्रतिको चिन्ता, नारी चेतनाको अभिब्यक्ति, आजको मानिसको संवेदनहीनता, बैदेशिक रोजगारीका पिडा लगायतका बिषयहरु कविता संग्रहमा समावेश रहेको बताउनुभयो । उहाँले कविता संग्रहले नेपाली साहित्यको बिकासमा पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
सोक्रममा कवि प्रधानले सुनिताको जीवनीको चर्चा गर्दै ‘एक जुवा घाम’, कविता संग्रह, ‘तिउरी’ कथा संग्रह पश्चात तेश्रो कृतिकारुपमा दोश्रो कविता संग्रह आएको बताउनुभयो ।
प्रगतिशील लेखक संघ भोजपुरका अध्यक्ष अमृका ताम्राकारको अध्यक्षतामा आयोजित परिचर्चा कार्यक्रममा कवि काङमाङ नरेश राई, पुराना कवि शेरबहादुर मोक्तान ‘मोक्तान भाइ’, नेकपा एमालेका अध्यक्ष मक्कर खडका, माओवादी केन्द्रका नेता जगत तामाङ, एकीकृत समाजवादीका सचिव ममिता राई, जनता समाजवादी पार्टीका सचिव नरराज काङमाङ लगायतले कविता कृति र साहित्य क्षेत्रका बिषयमा बोल्दै बैदेशिक रोजगारीका सिलसिलामा पनि साहित्यीक यात्रा जारी राखेर कवि राईले खेलेको भुमिका महत्वपूर्ण भएको बताउनु भएको थियो ।
सहित्य संगीतले मुलुक परिवर्तनमा पनि भुमिका निर्वाह गर्दे आएको बताउँदै अतिथी बत्ताहरुले विकृति विसंगति विरुद्ध सहित्यमा मात्र नभएर हरेको क्षेत्रबाट बिरोध गरिनु पर्ने धारणा राख्नु भएको छ ।






