सिन्धुली । कमलामाई नगरपालिका, सिन्धुलीमा अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा गरिएको छ ।
बिहिबार एक औपचारिक कार्यक्रमका बिच जिल्लामै पहिलो कमलामाई नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा गरिएको हो ।
अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कुनै पनि बालबालिकालाई शिक्षाबाट बन्चित गराउन नहुने बताउनुभयो । “कुनै पनि बालबालिकालाई शिक्षाबाट बन्चित नगराउनु हाम्रो दायित्व हो,” उहाँले भन्नुभयो ।
चालु आर्थिक वर्षमा १८ वटा स्थानीय तह अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएको र आगामी वर्षहरुमा प्रदेशभित्रका सबै पालिकालाई घोषणा गर्ने लक्ष्य रहेको सुनाउनुभयो । शिक्षाको क्षेत्रमा बागमती प्रदेशले न्याय गरिरहेको उहाँको भनाई थियो ।
नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले नगरलाई अनिर्वाय तथा निशुल्क शिक्षा घोषणा गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । भन्नुभयो, “अनिर्वाय तथा निशुल्क शिक्षा घोषणाले मात्रै यो कार्यक्रम सफल हुँदैन, यो घोषणालाई निरन्तरता दिनुपर्छ । त्यसको लागि सबैको सामुहिक प्रतिवद्धता चाहिन्छ ।”
सामुहिक प्रतिवद्धता र सहयोग भएमा कुनै पनि बालबालिका शिक्षाबाट बन्चित नहुने र अनिर्वाय तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमले सार्थकता पाउने उहाँले विचार व्यक्त गर्नुभयो ।
बागमति प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय र कमलामाई नगरपालिकाबिच २०८० फागुन २३ गते सम्झौता भएबमोजिक सबै सूचकहरु पुरा गरेर नगरलाई आज अनिर्वाय तथा निशुल्क शिक्षा घोषणा गरिएको नगर शिक्षा शाखाका प्रमुख शंकर लुईटेलले बताउनुभयोे ।
सरकारले २०८५ सालभित्र विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयको पहूँचमा ल्याएर नेपाललाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्ने कार्यक्रम छ । सोही अभियान अन्तर्गत नगरले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान अगाडी बढाएको थियो ।
सोहीक्रममा १६ हजार ०७४ घरधुरी सर्वेक्षण गर्दा विद्यालय बाहिर भेटिएका दुई सय ८१ जना र विशेष आवश्यकता भएका २६ जना बालबालिकाको पहिचान गरेर पायक पर्ने विद्यालयमा भर्ना गरिएको उहाँले बताउनुभयो ।
चार बर्षदेखि १३ वर्ष उमेर समुहभित्रका बालबालिकालाई विद्यालय वा वैकल्पिक शैक्षिक संस्थामा भर्ना भई नियमित अध्ययन पुरा गर्ने बाध्यकारी व्यवस्था अनिवार्य शिक्षामा पर्दछ । निशुल्क शिक्षा भन्नाले विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै पनि शुल्क असुल नगरि दिईने शिक्षा सम्झिनु पर्दछ । कक्षा एकदेखि कक्षा आठसम्मको आधारभुत शिक्षा सबै बालबालिकालाई अनिवार्य तथा निशुल्क भएको नगरले घोषणा गरेको हो ।
कमलामाई नगरपालिकाभित्रका ७२ वटा सामुदायिक विद्यालयमा सात हजार चार सय १३ जना बालबालिकाले आधारभुत शिक्षा प्राप्त गरिरहेका छन् । नवज्योती बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय थिङले सरकारी हिसाबले कार्यक्रम सफल भएपनि अपाङ्गता भएका, आर्थिक अवस्था कम्जोर रहेका लगायतका समस्याका कारण विद्यालय बाहिर रहने बालबालिकाको संख्या अझै ठुलो संख्यामा रहेको बताउनुभयो । आगामी दिनमा यस्ता बालबालिकालाई पनि समेटेर लैजानु पर्ने उहाँको सुझाव छ ।
नेपाल शिक्षक महासंघ, सिन्धुलीका अध्यक्ष विष्णु फुर्यालले नगरले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम गरेको कुरा आफूलाई जानकारी नभएको बताउनुभयो । अनिवार्य तथा निशुल्क शिक्षा घोषणा भन्दापनि कार्यान्वयनमा जोड दिन आवश्यक रहेको उहाँको भनाई थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts