पुल निर्माण कार्यको सुरुवात नभएपछि महाशाखालाई ज्ञापनपत्र

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कालीकोटको महावै गाउँपालिका जोड्ने तिला नदीको पान्तडीमा चार वर्षसम्म पुल निर्माण कार्यको अझै सुरुवात नभएपछि गाउँपालिका कानुनी प्रक्रियामा गएको छ । आर्थिक वर्ष २०७७-७८ मा ठेक्का भएर २०७७ साल चैतमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम सुरु नभएपछि गाउँपालिका जिल्ला प्रशासन कार्यालय पुगेको हो ।

महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले पुल निमार्णको प्रक्रिया के कति कारणले अगाडी बढेन यसको जानकारी गरिदिन जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पेश गर्नुभएको छ । अध्यक्ष सिंहले चार वर्ष पुगिसक्दा पनि पुल निमार्णको काम अगाडि नबढ्नुको कारण खोज्दै जिल्ला प्रशासन कार्यालयमार्फत सडक विभाग पुल महाशाखा बबरमहल काठमाडौंलाई ध्यानाकर्षण पत्र पेस गरिएको जानकारी दिनुभयो ।

पक्की पुल निर्माण गरिसक्ने समय सकिएको पनि ११ महिना बितिसकेको छ । पुल बन्ने समय सकिए पनि पुल निर्माणको काम सुरुसम्म भएको छैन । पुल महाशाखा काठमाडौंले ठेक्का लगाएको हो । २०७७ साल चैत १२ गते महादेव खिम्ती निर्माण सेवा काठमाडौंले आठ करोड ३९ लाख लागतमा पुल निर्माण सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा २०८० साल असार १२ गते पुल निर्माण गरिसक्ने उल्लेख छ । पुल बनाइसक्ने समय सकिएको ११ महिनासम्म पनि पुल बनाउने स्थलसम्म निर्माण कम्पनी पुगेको छैन ।

गाउँपालिका अध्यक्ष सिहंले राजमार्गसँग गाउँपालिकालाई जोड्ने योजना आफ्नो अलपत्र मात्र होइन यहाँका नागरिकले सहज यातायात सेवा पाउनबाट वञ्चित भएकाले तत्काल निमार्ण कार्यलाई अगाडी बढाउने वा ठेक्का रद्द गरेर अर्को बोलपत्र आह्वान गरेर भए पनि पुल निमार्णको काम अगाडि बढाउन माग गर्नुभएको छ ।

ADVERTISEMENT

पुल सेक्टर सुर्खेतका इन्जिनियर शुभम वैश्यका अनुसार पुल निर्माणका लागि निर्माण कम्पनीले आफैँ डिजाइन गर्नुपर्ने र उसले समयमा त्यो काम नगरेकाले बन्न ढिलाइ भएको हो । सम्झौता भएको तीन महिनामा डिजाइन प्रतिवेदन पुल महाशाखालाई दिनुपर्ने र प्रतिवेदन दिएको तीन महिनामा महाशाखाले स्वीकृत गरेर काम सुरु गर्ने नियम भए पनि निर्माण कम्पनीले अहिलेसम्म डिजाइन प्रतिवेदन कार्यालयमा नबुझाएको वैश्यको भनाइ छ ।

निर्माण कम्पनीको लापरबाहीले पुल बन्न नसकेको र जसका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । महाशाखाले दिएको जानकारी अनुसार ठेकेदार कम्पनीले एक पटक प्रतिवेदन लिएर महाशाखा पुगेको भए पनि केही सच्याउनुपर्ने देखिएको थियो । त्यो सच्याएर ल्याउनु भनेर फिर्ता गरिए पनि त्यसयता कम्पनीले सम्पर्क नगरेको बताइएको छ ।

उता निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा काठमाडौंका सञ्चालक प्रदीप पुडासैनीले गत चैतमा केही दिनभित्र डिजाइन प्रतिवेदन पास हुने र काम पनि सुरु गरिने बताउनुभएको थियो । पान्तडीमा सुरु भएन पुलको काम शीर्षकमा गोरखापत्रमा प्रकाशित समाचारमै पुडासैनीले एक महिनाभित्र काम सुरु हुने बताउनुभएको थियो । उहाँले आफ्नो कारण भन्दा पनि पुल महाशाखाकै कारणले ढिला भएको आरोप लगाउनु भएको थियो । तर अहिलेसम्म काम सुरु नभएपछि गाउँपालिका अन्यायमा परेको छ । प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आफूले गाउाँपालिका अध्यक्षको ध्यानाकर्षण पत्र पुल महाशाखालाई पठाउने र कानुनी प्रक्रिया पनि थालिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज