गुल्मी । गुल्मी र अर्घाखाँचीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार राति करिब ९:४५ बजेको समयमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका - ७, देउरालीस्थित तम्घास भित्री सडकमा ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा परि टिपर चालक सन्धिखर्क नगरपालिका -८ खाँचीका २६ वर्षीय रामलाल पुरीको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका - ७ का ३३ वर्षीय रिसभ केसी र शितगंगा नगरपालिक - २ का २९ वर्षीय नविन घिमिरे घाइते हुनुभएको छ । घाईते दुबै जनालाई राती नै गुल्मी अस्पतालबाट लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको थियो ।
घाइतेमध्ये केसीको बोल्न नसक्ने र घिमिरे बोल्न सक्ने अवस्था रहेको छ । दुर्घटना भएको टिपर सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।






