सर्लाही । जिल्लाको बरहथवा नगरपालिका–१, हजरियामा हावाहुरीले ४७ वटा घरको छानो उडाएको छ ।
गएरातिको हावाहुरीले बरहथवा नगरपालिका वडा नं. १ को दुसाद टोल र नयाँबजार टोलमा व्यापक क्षति पु-याएको हो ।
इलाका प्रहरी कार्यालय हजरियाले सङ्कलन गरेको क्षतिको विवरण अनुसार नयाँबजारमा ४१ घर र दुसाद टोलमा छ वटा घरको छानो उडाएको छ । बरहथवा नगरपालिका १ का वडाध्यक्ष राकेशकुमार सहनीले मध्यरातमा आएको हावाहुरीले गाउँका कच्ची घरको छानोमा व्यापक क्षति पु-याएको जानकारी दिनुभयो ।
वडाध्यक्ष सहनीका अनुसार हावाहुरीले दुईसय बढी रुखविरुवा ढालेको छ । बिजुलीको पोल समेत ढालेकाले गाउँभर विद्युत् अवरुद्ध भएको छ । घरको छानो, रुख र बिजुलीको पोलमा पु-याएको क्षति हेर्दा ठूलो मानवीय क्षति टरेको वडाध्यक्ष सहनीले बताउनुभएको छ । राति सुतेका सबै मानिस तत्काल सुरक्षित भइ बसेकाले मानवीय क्षति भने हुन पाएन । हावाहुरीले दुई गाउँका अधिकांश स्थानीयले टायल तथा खपडाले छाएको घरको छानोमा क्षति गरेको छ । दुसाद टोल र नयाँबजारमा गरी हावाहुरीले आठ लाख बढीको क्षति पु-याएको प्रहरीले जनाएको छ । सर्लाहीमा आज बिहानपख भने केहीबेर भीषण हावाहुरी चलेपनि ठूलो किसिमको क्षति कहिँ नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता