-विजय नेपाल
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख प्रशासकीय भवनकै गेटमा 'निरंकुश मेयर मुर्दावादु भन्दै नाराबाजी गरिएको छ । योजनाको उपभोक्ता समिति बनाउँदा आफ्नो पार्टीको कार्यकर्ता मात्रै समावेश गर्न खोजेको भन्दै आक्रोशित स्थानियले नगरपालिकाको मुख्य भवनको मुलगेटमै मेयर विरुद्ध नाराबाजी गरेका हुन् ।
आक्रोशित स्थानियका अनुसार चौतारा साँगाचोकगढी ९ को लागि विनियोजित दलित बस्ती विकास शीर्षकको उपभोक्ता समिति बनाउँदा मेयरले माओवादी पार्टीका कार्यकर्तालाई मात्रै समावेश गर्न खोजेको आरोप छ । ८ लाख रुपैयाँको सो योजनामा अन्य दलका प्रतिनिधिले समेत समितिको जिम्मेवार पदमा रहन खोजेपछि विवाद उत्पन्न भएको थियो ।
सो वडामा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका बिमल श्रेष्ठ हुनुहुन्छ भने नगरको मेयर पदका माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा हुनु हुन्छ । आफुले सबै दलका प्रतिनिधिलाई समेटेर समिति बनाउन खोजेको भएपनि मेयरको निर्देशनका कारण स्थानिय माओवादी कार्यकर्ताले अरु दलका व्यक्तिलाई समितिमा बस्न बाट रोक्न खोजेको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो । ५ पटक सम्म पनि बस्तिमै पुगेर समिति गठन गर्न खोज्दा पनि सहमति हुन नसकेपछि स्थानीय आक्रोशित भएको उहाँले बताउनु भयो ।
उपभोक्ता समिति गठन तथा योजनाको रकम भुक्तानी प्रक्रियामा वडाध्यक्षको प्रत्यक्ष संलग्नता हुने गरको भएपनि वडा नं २ मा भने मेयरकै रोहवरमा मात्रै सो कार्य गर्ने गरेको वडा नं २ का वडाध्यक्ष सुदिप श्रेष्ठले बताउनु भयो । मेयरले वडाध्यक्षको अधिकार क्षेत्रमा हस्तक्षेप गरेकाले नागरिकता सिफारिसमा समेत मेयरले नै हस्ताक्षर गर्न वडाध्यक्ष श्रेष्ठले चुनौती दिनुभयो। वडाध्यक्ष श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित हुनु भएको हो।
स्थानियहरुको नाराबाजीकै बिच नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा मेयर सापकोटाले आफू जहिल्यै पनि सहमतिको पक्षमा रहेकोले सहमतिकै आधारमा उपभोक्ता समिति बनाउन पहल गर्न वडाध्यक्ष श्रेष्ठलाई निर्देशन दिनुभयो । 'सबै प्रमुख दलका प्रतिनिधिलाई समितिको मुख्य पदहरुमा सहभागी गराऔँ' मेयर सापकोटाले भन्नुभयो' 'बरु बैंक खातामा पनि फरक फरक दलकै व्यक्तिको हस्ताक्षर चल्ने गरि निर्णय गरौं ।'
मेयर सापकोटाको राय पछि सहमत हुँदै वडाध्यक्षहरू छिट्टै नयाँ उपभोक्ता समिति निर्माण गर्ने सहमतिका साथ बैठकबाट बाहिरिनु भएको थियो ।
सो स्थानमा अघिल्लो वर्ष एउटा खानेपानी आयोजनाको उपभोक्ता समिति गठन गर्दा समेत विवाद भएको थियो । उपभोक्ता नै नभएका व्यक्तिलाई समितिमा राख्न मेयर सापकोटाले दवाव दिएका थिए । सो खानेपानी आयोजनाको उपभोक्तामा माओवादी कार्यकर्ता भएको एउटा पनि परिवार नहुँदा समेत प्रमुख पदमा माओवादी नै राख्न मेयरले दवाव दिएकोमा त्यसलाई अटेर गरि उपभोक्ता मात्रै राखि समिति बनाएकोले त्यसैको बदला स्वरूप यो समितिमा अन्य दलका कार्यकर्तालाई पेल्न खोजेको हुनसक्ने स्थानियको आरोप छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts