धादिङ । चारवर्ष अघि १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले तीन जनालाई जेल सजाय सुनाइएको छ । जिल्ला अदालत धादिङले दुईजनालाई १३ वर्ष र एकजनालाई १४ वर्ष जेल सजाय सुनाएको हो ।
धादिङको गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङलाई १४ वर्ष,३१ वर्षीय बुद्धिमान तामाङ र १९ वर्षीय सुमित गरुङलाई १३/१३ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत धादिङले जनाएको छ ।
जिल्ला न्यायधिस गोपालप्रसाद वास्तोलाको जेठ १६ गतेको ईजलासले जनही १२ वर्ष कैद गर्दै मुद्दा र कसुरदारहरुको अपराधको प्रकृति हेरि कसुरदारमध्ये राजकुमार तामाङलाई थप २ वर्ष र बुद्धिमान तामाङ र सुमित गुरुङलाई थप एकरएक वर्षको कैद सजाय गर्ने ठहर गरेको धादिङ अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो । कसुरको प्रकृति अनुसार राजकुमार तामाङलाई २० हजार रुपैयाँ जरिवाना गर्ने पनि फैसलामा उल्लेख गरिएको श्रेस्तेदार भण्डारीले बताउनुभयो ।
उनीहरुले ०७६ चैत १ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा ०७६ चैत २ गते उजुरी दिएका थिए।
उजुरी गरेको दिन धादिङ अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण गरिएको र जिल्ला अदालतमा ०७६ चैत २८ गते मुद्दा दर्ता भएको थियो ।
पछि पीडक पीडितको डिएनए परिक्षण समेत भएको थियो ।डिएनए परिक्षण प्रतिवेदन समेतको आधारमा मुद्दाको चारवर्षपछि अन्तिम किनारा लागेको हो । २१ पटकको पेसीपछि वास्तोलाको ईजलासले ०८१ जेठ ७ गते कसुर कायम गर्नुभएको थियो ।






