रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले विपन्न तथा भूमिहिन किसानहरुलाई जग्गा भाडामा लिएर खेती गर्न अनुदान रकम प्रदान गरेको छ । कृषि उत्पादन मार्फत विपन्न किसानहरुको आर्थिक अबस्था उकास्न सो नगरपालिकाले खेती गर्न तीब्र इच्छाभएका किसानहरुलाई अनुदान प्रदान गरेको हो ।
कृषि योग्य जग्गा नभएका तर कृषि पेशा गर्न चाहने किसानहरुको पहिचान गरी जग्गा भाडामा अनुदान प्रदान गरिएको मेयर शशीकुमार खनियाले जानकारी दिनुभयो । धनाठ्यको जग्गा खेर जाने र गरिबले जग्गा नभएर उत्पादन नै गर्न नपाउने अबस्थाको अन्त्य गर्न उक्त कार्य सुरु गरिएको मेयर खनियाको भनाई छ । सो नगरपालिकाले विपन्न किसानलाई खेती गर्न जग्गा भाडामा अनुदानको लागि कार्यविधि समेत बनाएको छ । नगरसभाबाट बजेट विनियोजन गरी कार्यविधि बनाएर तीन बर्षको लागि विपन्न तथा भूमिहिन किसानले जग्गा भाडा लिएबापतको रकम नगरपालिकाले तिर्दिने गरी योजना अघि बढेको मेयर खनियाले बताउनुभयो ।
जग्गा भाडामा पहिलो बर्ष सत प्रतिशत अनुदान, दोस्रो बर्ष ७५ प्रतिशत अनुदान र तेस्रो बर्ष ५० प्रतिशत अनुदान दिइने छ । नगरसभाबाट १० लाख रुपैया विनियोजन गरेको सो नगरपालिकाले चालु आर्थिक बर्षमा ३१ जना किसानलाई दुई कठ्ठा देखि १० कठ्ठासम्मको जग्गा भाडामा अनुदान दिएको छ । विहीबार नगरपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा अनुदान पाउने किसान र नगरपालिका बीच लिखित सम्झौता भइ भूक्तानीका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
विपन्न तथा भूमिहिन किसानको लागि प्रतिकठ्ठा प्रतिमहिना दुई हजारका दरले अनुदान रकम प्रदान गरिएको छ । किसानले आफु अनुकुलको जग्गा भाडामा लिने र त्यसको भूक्तानी नगरपालिकाले गर्ने व्यवस्था मिलाइएको छ । जग्गा भाडाको अनुदानको लागि ८० जना किसान मध्ये चालु आर्थिक बर्षको लागि ३१ जना छनौटमा परेका हुन् । जग्गा नभएका, दुई कठ्ठा भन्दा कम जग्गा भएका र आम्दानीको अन्य स्रोत नभएका किसानहरुको पहिचान गरी अनुदान प्रदान गरिएको मेयर शनियाले बताउनुभयो ।
नगरपालिकाबाट जग्गा भाडाको लागि अनुदान पाएका अधिकाँस किसानहरुले खाद्य बाली लगाउने बताएका छन् । विहान बेलुकाको छाक टार्न समस्या छ जग्गा भाडाको अनुदान पाएका सन्तोष बहादुर परियारले भन्नुभयो सिजन अनुसार धान, तोरी र कमै लगाउने योजना बनाएको छ । १० कठ्ठा जग्गाको भाडाको लागि अनुदान पाएकी सुखिया महतोले परम्परागत खेती गरेर आम्दानीको स्रोत बनाउने बताउनुभयो । खेती गर्ने जग्गा नभएर सबै कुरा किनेर खानु पर्ने अबस्था थियो उहाँले भन्नुभयो अब बारीमा फराएर खाने योजना छ । खैरहनीमा विपन्न, मध्यम र व्यवसायिक गरी तीन प्रकारका किसानहरु रहेको भन्दै मेयर खनियाले विपन्नलाई कृषि पेशामा आबद्ध गराउने, मध्यम किसानलाई उकास्ने र व्यवसायिक किसानलाई अनुदान मार्फत उत्पादन बढाउने गरी काम गरिरहेको बताउनुभयो ।
गत बर्ष मकैमा अनुदान दिएको सो नगरपालिकाले चालु आर्थिक बर्षमा नगदे बालीको रुपमा प्याज खेतीमा कठ्ठाको तीन हजारका दरले अनुदान प्रदान गरेको छ । उपमेयर कविता उप्रेतीले विपन्न तथा भूमिहिन किसानलाई कृषि उत्पादनसंग जोड्न जग्गा भाडामा अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । जग्गा भएकाहरुको काम गर्ने मान्छे नभएर बाझो छ, केही नहुने किसानहरुले खेती गर्न पाउनु भएको छैन् उहाँले भन्नुभयो आर्थिक अबस्था कमजोर भएका किसानहरुलाई कृषि उत्पादनसंग जोडेर आम्दानीको स्रोत बनाउन कार्यक्रम ल्याएका हौं । खैरहनीमा ५४ प्रतिशत मान्छे कृषि पेशामा आबद्ध छन् । सो नगरपालिकाले कृषि र पशुपादन मार्फत किसानको जीवन स्तर उकास्ने गरी अनुदानका कार्यक्रम ल्याएको छ ।
सिंचाईको लागि डिप बोरिङ, स्यालो बोडिङ र नहर मर्मतको काम गरेको छ । त्यसका लागि चालु आर्थिक बर्षमा १ करोड ७४ लाख रुपैया लगानी गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले बताउनुभयो । कृषि उत्पादन बढाउन अनुदानसंगै खेतखेतमै कृषि प्राविधिक सेवा प्रदान गरिएको उहाँको भनाई छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts