भोजपुर । आर्थिक वर्ष २०८१/०८२ का लागि भोजपुर नगरपालिका अन्तर्गतका वडाहरुले परिषद सुरु गरेका छन् । आगामी आर्थिक बर्षका लागि योजना छनौट सहित बजेट बिनियोजनका लागि वडा परिषद थालिएको हो ।
भोजपुर नगरपालिका अन्तर्गत वडा नम्वर ८ ले बुधवार ३० लाख बराबरको योजनाहरु वडा परिषदबाट छनौट गरेको छ । वडाको प्रस्तावित योजना तथा कार्यक्रम अन्तर्गत लक्षित बर्ग र विकास निर्माण तर्फका योजनाहरु छनौट गरी पास गरिएको छ । छनौट भएका योजनाहरुका बिषयमा वडाध्यक्ष नवीन प्रधानले जानकारी गराउनुभयो । बजेट अभावका कारण वडाको बजेटमा समावेश गर्न नसकिएका बिभिन्न योजनाहरु बजेट ब्यवस्थापनका लागि नगरपालिका, प्रदेश र संघीय सरकारका सम्वन्धित निकायहरुमा सिफरिस गरी पठाईने वडाध्यक्ष प्रधानको भनाई रहेको छ ।
वडामा क्रियाशिल राजनीतिक दल, जनप्रतिनिधी, बुद्धिजिवी, पत्रकार, संघ संस्थाका प्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक र वडावासीको उपस्थितीमा भएको परिषदले लक्षित तर्फ १० लाख ५० हजार र बिकास बजेट तर्फ १९ लाख ५० हजार बरावरको योजनाहरुमा बजेट बिनियोजन गरेको हो । सवै क्षेत्रहरुबाट माग भएर आएका योजनाहरुलाई प्राथमिकताका आधारमा छनौट गरी वडा परिषदले पारित गरेको छ ।
वडा स्तरमा बिभिन्न योजनाहरु माग हुने गरेतापनि नगरपालिकाले उपलब्ध गराउने बजेट अनुसार योजना छनौट गर्नु पर्ने भएकाले सवैका माग सम्वोधनमा समस्या हुने गरेको वडाध्यक्ष प्रधानको धारणा छ । सोक्रममा पूर्व वडाध्यक्ष गोपाल कार्की, पत्रकार निरोज कोइराला, समाजसेवी नरेन्द्र थापा, शिक्षिका देवी तामाङले वडाको बजेटका बिषयमा आफनो धारणा राख्नु हुदै बजेट बृद्धिका लागि नगरपालिकालाई पनि घच्घच्याउँदै तोकिएका योजनाहरु पुरा गर्न वडावासी पनि सक्रिय हुनु पर्ने बताउनु भएको थियो ।
वडा परिषदबाट शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, सडक निर्माण, महिला लक्षित तरकारी खेती, फुसको छाना बिस्थापन लगायतका शीर्षकहरुमा योजना छनौट गरी बजेट बिनियोजन गरेको छ ।






