काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ आयुर्वेद क्याम्पस इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उहाँले प्रतिपक्षका कुरा नसुनेर अगाडि बढिरहेको सत्तापक्षले उल्टै कांग्रेसलाई संसदीय व्यवस्थाबारे सिकाउन खोज्नु शोभनीय नभएको बताउनुभयो । “संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरा सुन्दै नसुनी अगाडि बढ्न खोजेको छ”, डा कोइरालाले भन्नुभयो,“कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन पर्दैन । कांग्रेस आफ्नो अडानमा अडिग छ ।”
नेता डा कोइरालाले सहकारीको रकम अपचलनका विषयमा कांग्रेसले उठाएको संसदीय छानबिन समिति गठनको माग छिटो सम्बोधन गरेर संसद्को गतिरोध अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभयो । “कांग्रेसलाई सरकारमा जाने हतारो छैन । हामी सत्ताभन्दा देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने विषयमा स्पष्ट छौँ । त्यही नीतिअनुसार सहकारीको रकम हिनामिना हुँदा सरकार गम्भीर नभएकाले आफ्नो आवाज राखिरहेका छौँ”, उहाँले भन्नुभयो ।
नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएकाले राज्यले आयुर्वेदिक विज्ञान क्षेत्रका समस्या समाधान गर्न ध्यान दिनुपर्नेमा डा कोइरालाको जोड थियो ।








Breaking news with related posts