काठमाडौं । समाज शिक्षित हुँदै गए पनि धुम्रपान गर्नेको संख्यामा कमी आएको छैन । बरु बढ्दै गएको तथ्यांकले देखाउँछ । युवायुवतीहरू झन् धूमपानको अम्मली हुँदै गएका छन् । नागरिकहरू सुर्तीजन्य पदार्थको कुलतमा फस्दै गएका छन् । हाल मुलुकभित्र सुर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या ३४ प्रतिशतको हाराहारीमा रहेको चिकित्सकहरू बताउँछन् । विशेषतः युवा वर्गमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो छ ।
सुर्तीजन्य पदार्थ सेवनबाट हुने मानवीय क्षतिको अवस्था डरलाग्दो छ ।
सुर्तीजन्य पदार्थको सेवनबाट मुलुकमा प्रतिएक सय बढीको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ । सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष नेपालमा झण्डै आधा लाख मानिसहरूको ज्यान गइरहेको छ । अर्थात् सुर्ती-चुरोटको धुवाँले वर्षेनी अनुमानित ३७ हजार पाँच सय जनाको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ । यति मात्रै होइन एक खिली चुरोटले मानिसको ११ देखि १३ मिनेटसम्म आयु घटाउने अनुसन्धानबाट देखिएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार धुम्रपानका कारण वार्षिक ८० लाख मानिसको मृत्यु हुन्छ । १३ लाख मानिसले आफूले धुम्रपान नगरे पनि ज्यान गुमाउँछन् । ‘प्यासिभ स्मोकिङ’ अरूले धुम्रपान गर्दा आएको धुवाँकोे असरका कारण उनीहरूको ज्यान जाने गरेको डब्लयुएचओको रिपोर्टले देखाउँछ ।
सुर्तीजन्य पदार्थले सबै मानिसका सबै अंगलाई क्षति गर्ने गरेको चिकित्सकहरू बताउँछन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, श्वासप्रश्वास एवं मुटुजन्य रोगहरू निम्त्याउँछ । यी रोगको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष खर्च, रोगीको उत्पादकत्व र मृत्युको क्षति समेतलाई हिसाबकिताब गर्ने हो भने वर्षेनी अर्बौंको क्षति हुन्छ । तर, सरकार मूकदर्शक बनेको छ । सुर्ती, चुरोट उत्पादन र बिक्री गर्ने व्यापारीहरू सरकारभन्दा शक्तिशाली देखिएका छन् ।
सरकारलाई वार्षिक १३ अर्ब घाटा
सन् २०२२ /०२३ मा सरकारले सुर्तीजन्य पदार्थबाट ३० दशमलव ६१ अर्ब राजस्व संकलन गरेको तथ्यांक छ । सुर्तीजन्य पदार्थको उपभोगबाट लाग्ने रोगको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष खर्च, रोगीको उत्पादकत्व र मृत्युको क्षति समेतलाई हिसाबकिताब गर्दा वार्षिक क्षति ४४ अर्ब हुन आउँछ । संकलित राजस्व र क्षतिको हिसाबकिताब गर्दा वार्षिक १३ अर्ब घाटा भएको देखिन्छ । कारण सरकारले सुर्तीजन्य पदार्थमा लिने कम कर हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड तोकेको छ । तर, नेपालमा सुर्तीजज्य पदार्थको खुद्रा मूल्यमा ४१ प्रतिशत मात्र कर लगाइएको छ । जुन अत्यन्तै न्यून हो । दक्षिण एसियाली मुलुकमा सर्वाधिक बिक्री हुने ब्राण्डको खुद्रा मूल्यमा लाग्ने करको तुलनामा नेपालमा लगाइएको करको दर सबैभन्दा न्यून रहेको छ ।
दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा कम कर
नेपालको कुल राजस्वमा सुर्तीजन्य पदार्थबाट संकलन हुने राजस्वको हिस्सा २ दशमलव ५९ प्रतिशत मात्र रहेको छ । दक्षिण एसियाली मुलुकहरूमध्ये बंगलादेशले सुर्तीजन्य पदार्थबाट ९ दशमलव ५३ प्रतिशत राजस्व आम्दानी गर्छ । श्रीलंकामा ७७ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत, पाकिस्तानमा ६० दशमलव ७८ प्रतिशत, भारतमा ५७ दशमलव ६० प्रतिशत अप्रत्यक्ष कर रहेको छ । यसैगरी, उत्तरी छिमेकी मुलुक चीनमा पनि ५५ प्रतिशतभन्दा बढी कर रहेको छ । विगतका आर्थिक वर्षका बजेटमा सुर्तीजन्य पदार्थमा औसत १० प्रतिशतको हाराहारीमा कर वृद्धि भएको थियो । तर, आर्थिक वर्ष २०८०÷०८१ मा ३ प्रतिशत मात्र कर वृद्धि गरिएको थियो ।
पेय पदार्थ तथा चुरोट उद्योग संघको भ्रामक विज्ञप्ति
सुर्तीजन्य पदार्थको खपत घटाउन कर वृद्धि गर्नुपर्ने चौतर्फी आवाज उठिरहेका बेला सरकारलाई दबाब दिन नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले भ्रामक विज्ञप्ति जारी गरेको छ । सुर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र करको विधासहित प्रकाशित विज्ञप्ति भ्रामक रहेको एक्सन नेपालले जनाएको छ । नीति निर्माणमा संलग्न नेता तथा कर्मचारीहरूलाई प्रभावमा पार्न संघले भ्रामक र अवैज्ञानिक तथ्यको सहारा लिएको एक्सन नेपालको प्रष्टोक्ति छ । गलत तथ्य प्रकाशित गरेर नीति निर्माणमा हस्तक्षेप गरी आफूअनुकूल कानुन र परिस्थिति निर्माण गर्ने प्रयास गरेको एक्सन नेपालको दाबी छ ।
सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने आवाज उठरहेका बेला संघले गत जेठ ४ गते विज्ञप्ति जारी गर्दै गलत तथ्यहरू सार्वजनिक गरेको थियो । तर, एक्सन नेपालले बिहीबार पत्रकार सम्मेलन गर्दै संघले उठाएका विषयवस्तुको तथ्यगत रूपमा खण्डन गरेको हो । एक्सन नेपालले सधैँ वैज्ञानिक विधि र अनुसन्धानमा आधारित तथ्य र संसारभर प्रचलनमा आएका विशिष्टीकृत अभ्यासहरूको मात्रै परिपालना र वकालत गर्ने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

संघको झुटो दाबी, वास्तविकता ठीक उल्टो
चुरोटमा कर बढाइयो भने नेपालीभन्दा विदेशी चुरोट सस्तो हुने र अवैध रूपमा विदेशी चुरोट नेपाल भित्रिने संघले दाबी गरेको थियो । तर, संघको उक्त दाबी भने झुटो रहेको पाइएको छ । वास्तवमा त्यसो नहुने विभिन्न तथ्यहरूले देखाउँछ । नेपालमा सर्वाधिक बिक्री हुने चुरोटको मूल्य ३२० पर्छ भने भारतमा त्यस्तै चुरोटको मूल्य करिब नेपाली रुपैयाँ ५४४ छ । तसर्थ कर बढे पनि भारतबाट नेपालमा अवैध रूपमा चुरोट नभित्रिने एक्सन नेपालले जनाएको छ । बरु यसको ठीक विपरीत नेपालबाट गैरकानुनी रूपमा चुरोट भारत निर्यात हुँदै आएको छ । केही समयअघि बाँके प्रहरीले जमुनाह नाकाबाट अवैध रूपमा भारत निकासी भइरहेको १२८० बट्टा खुकुरी चुरोट बरामद गरेको थियो ।
सुर्तीजन्य उद्योगप्रति सरकारको सम्झौतावादी नीति
विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको कर दर (७५ प्रतिशत) भन्दा नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लगाएकोे कर निकै कम छ । यसले सुर्तीजन्य उद्योगप्रति नेपाल सरकारको सम्झौतावादी नीति प्रष्ट देखिन्छ । सरकारले विश्व स्वास्थ्य संगठनको सिफारिशअनुसार सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्यो भने मौजुदा राजस्व ३२ अर्ब ९८ करोडमा थप ४५ अर्ब ८९ करोड गरी जम्मा ७८ अर्ब ८७ करोड राजस्व संकलन हुने एक्सन नेपालको भनाइ छ । सुर्तीजन्य पदार्थबाट लाग्ने रोगहरू जनस्वास्थ्यको प्रमुख चिन्ताको रूपमा देखिएको अवस्थामा सरकार त्यसप्रति गम्भीर हुन जरुरी छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानुनको कार्यान्वयन र सुर्तीजन्य पदार्थमा उपयुक्त करको संयोजनले मात्र सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने स्वास्थ्य, सामाजिक र आर्थिक संकटलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकिने एक्सन नेपालको भनाइ छ ।
खपत घटाउन कर बढाऔँ
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क कम्तीमा ३५ प्रतिशतले वृद्धि गर्नुपर्ने अर्थशास्त्रीहरूको सुझाव छ । यसको सकारात्मक प्रभाव १४ अर्ब रुपैयाँ सम्मको थप राजस्व संकलन हुने अनुसन्धानमा देखिएको उनीहरूको भनाइ छ । कर वृद्धि भयो भने चुरोटको खपत घट्छ । नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । सुर्तीजन्य पदार्थमा ३५ प्रतिशतले कर वृद्धि गर्दा ४ देखि ८ प्रतिशतले खपत घट्ने अध्ययनमा पाइएको छ ।
सुर्तीजन्य पदार्थमा अन्तःशुल्क उल्लेखनीय रूपमा नबढाए सरकार नागरिकको स्वास्थ्यमा संवेदनशील नभएको पुष्टि हुन्छ । सुर्तीजन्य पदार्थ उत्पादकहरूको दबाब र प्रभावमा परेको बुझ्नुपर्ने हुन्छ । कर बढाएमा अवैध व्यापार बढ्छ र राजस्व गुम्छ भन्नु कुतर्क मात्र हो । वरिष्ठ चिकित्सकहरूले सरकारले सुर्तीजन्य वस्तुमा भारी कर वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सुर्तीजन्य वस्तुको कर वृद्धि गर्न सकिएमा यसको प्रयोगमा कमी आउने र मानव स्वास्थ्यमा समेत उल्लेख्य सुधार हुने उनीहरूको तर्क छ ।
अन्तःशुल्क बढाउँदा ४५ अर्ब राजस्व संकलन हुन्छ : आनन्दबहादुर चन्द
एक्सन नेपालले आन्तरिक राजस्व विभागको तथ्यांक उद्धृत गर्दै गत वर्ष नेपालमा लगभग ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार ६६७ खिली चुरोट उत्पादन भएको जनाएको छ । यस हिसाबमा कुल अन्तःशुल्क २६ अर्ब २२ करोड रुपैया (प्रति खिली औसत २.३२ रुपैयाँका दरले) राजस्व संकलन भएको एक्सन नेपालको भनाइ छ । प्रतिखिली अन्तःशुल्क चार रुपैयाँ (औसतमा) मात्रै बनाउँदा पनि ४५ अर्ब ६ करोड ६६ लाख ६६ हजार ६६८ रुपैयाँ राष्ट्रले राजस्वको रूपमा संकलन हुने एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार जुन अहिलेको भन्दा १८ अर्ब ८४ करोड ६६ लाख ६६ हजार रुपैयाँ बढी हो ।
अहिले प्रतिखिली ०.६ रुपैयाँ स्वास्थ्य जोखिम कर हुँदा राष्ट्रले कुल ६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाउँछ । स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेअनुसार प्रतिखिली तीन स्वास्थ्य जोखिम कर वृद्धि गर्ने हो भने लगभग ३३ अर्ब ८० करोड रुपैयाँ स्वास्थ्य जोखिम कर उठ्ने उहाँको भनाइ छ । जुन अहिलेको भन्दा २७ अर्ब चार करोड रुपैयाँ बढी हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts