काठमाडौं । सत्तापक्षका प्रमुख नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोड्न नहुने धारणा राखेका छन् । सिरोहियाको गिरफ्तारी कुनै समाचार लेखेको कारण नभई फौजदारी अभियोगमा भएको भन्दै सत्तापक्षीय प्रमुख नेताहरू बचाउमा उत्रिएका हुन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सिरोहिया पक्राउमा ‘हृयु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको धारणा राख्नुभयो । ‘जस्तो हृयु एण्ड क्राई भन्छन् नि त्यो भइराखेको छ । त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुनसक्छ । उनलाई जन्मकैद गर्न खोजेको होइन । सञ्चार माथिको हमला भनेर,’ उहाँले भन्नुभयोे, ‘पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यस्तो समाचार प्रकाशित ग¥यो ? किन यस्तो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ । फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानविन गर्नुपर्ने देख्यो...।’
उहाँले मन्त्री, ‘उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा प्रजातन्त्र खतरामा नपर्ने’ भनेर प्रतिप्रश्न गर्दै एकजना मिडिया हाउसका मानिस गिरफ्तार हुँदैमा गलत व्याख्या गर्न नहुने बताउनुभयो । ‘कोही समाउँदाखेरी, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने ? डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए ? सही हो या गलत म त्यता जान चाहन्नँ । टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला । तर, डेमोक्रेसी नै खतरामा परिहाल्यो त ? के अब सञ्चारका हक खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ।
उहाँले के लेखेको भरमा सिरोहियालाई पक्राउ पुर्जी जारी गरेको हो ? भन्दै प्रतिप्रश्न पनि गर्नुभयो । ‘के लेखेको आरोप उनीमाथि लागेको छ ? म त यता छु कि, के लेखेको विषयमा उनीमाथि यसरी कारबाही भयो त ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? अहिले गिरफ्तारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन,’ उहाँले भन्नुभयो । देशमा सबै कानुन मातहत छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्ने उहाँको भनाइ थियो ।
यसअघि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरुरी नरहेको प्रतिक्रिया दिनुभएको थियो । काठमाडौंको चन्द्रागिरिमा पत्रकारहरूको प्रश्नमा जवाफ दिनुभएका प्रचण्डले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको पनि बताउनुभएको थियो । ‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियोे, ‘बढ्ता हो-हल्ला गर्न जरुरी छैन । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भइहाल्छ ।’
यस्तै, गृहमन्त्री रवि लामिछाने नेतृत्वको रास्वपाले बुधबार विज्ञप्ति जारी गरी धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको भन्दै विधिको शासनमा कानुनभन्दा माथि कोही नहुने प्रतिक्रिया दिइसकेको छ । साथै सिरोहियाको पक्राउ प्रेस स्वतन्त्रताको विषय नभएको रास्वपाको भनाइ छ । उसको विज्ञप्तिमा लेखिएको छ– नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन, अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ । न्यायको विधि पुगोस् । सञ्चार माध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जित होस् ।
निजी क्षेत्रको आपत्ति
निजी क्षेत्रले सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागीदार हुनुपर्छ भन्नेमा सबै स्पष्ट रहेको निजी क्षेत्रले जनाएको छ । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने निजी क्षेत्रले जनाएको छ ।
निजी क्षेत्रले संयुक्त विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगतदेखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने भन्दै आइरहेका छौँ । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौँ ।’
कुनै पनि व्यवसायीको मानमर्दन गरेर तथा उनीहरूलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न नसक्ने निजी क्षेत्रको भनाइ छ । व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता रहेको निजी क्षेत्रले जनाएको छ ।
सिरोहियालाई तत्काल रिहाइ गर्नुपर्छ : निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिनुभएको छ । बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले शुक्रबार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने चेतावनी दिनुभयो । उहाँले सरकारले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलास सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको दाबी गर्नुभयो । उहाँले अध्यक्ष सिरोहियाका साथमा नेपाली कांग्रेस र सबै नेपाली रहेको भन्दै उनको पक्राउको विरुद्धमा कांग्रेस रहेको बताउनुभयो । उहाँले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने बताउनुभयो । सिरोहिया माथिका आरोप निराधार र त्रुटिपूर्ण रहेको बताउनुभयो ।
नेता निधिले भन्नुभयोे, ‘सरकारले कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको छ । अनावश्यक दुःख दिएको छ । उहाँलाई जनकपुरमै ल्याइएको छ । उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ, उहाँलाई भेट्न आएको हुँ । उहाँप्रति ऐक्यबद्धता प्रकट गर्न आएको छु । हामी कैलाश सिरोहियाका साथमा छौँ । दुईवटा नागरिकता केसमा बदर भइसकेको छ । उहाँ माथिको आरोप निराधार छ । कानुनी र व्यवस्थापकीय कारणले फरक फरक देखिएको छ, किर्ते होइन ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts