काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज देशैभर धुमधामका साथ बकर इद मनाइरहेका छन् ।
इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद-उल-जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरू बताउँछन् ।

नमाज पढिसकेपछि घरघरमा गई बलि दिने र एकापसमा शुभकामना आदानप्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको छ ।
इस्लाम धर्मावलम्बीले आजको दिन विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब र दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।









-नवराज श्रेष्ठ






