चितवन । चितवनको भरतपुर स्थित दासढुंगामा विहीबार ३१औं मदन आश्रित स्मृति सभा गरिएको छ । नेकपा एमाले चितवनको आयोजनामा भरतपुरको दासढुंगास्थित मदन स्मृति पार्कमा सभा गरिएको हो ।
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । अन्य विभिन्न कम्युनिष्ट पार्टीहरुले पनि मदन भण्डारीको स्मृति सभा मनाउने गर्दछन् ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । त्यहि ‘जबज’ लाई नेकपा एमालेले अनुसरण गरिरहेको छ । दासढुंगामा आयोजना गरिएको स्मृति सभामा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलिया, संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, बागमती प्रदेशका पूर्व मन्त्री विजय सुवेदी, नेकपा एमाले पोलिटब्युरो सदस्य देवि ज्ञवाली लगायतको विशेष उपस्थिति थियो ।
सभालाई संवोधन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीले देखेका अन्य थुप्रै सपनाहरु पूरा गर्न आगामी ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रदेश मन्त्री जेएन थपलियाले देशको परिवर्तनको बाहक मदन भण्डारीलाई षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले हत्या गरिएको बताए । अहिले नेपालको राजनीति जबज अर्थात मदन भण्डारीको विचार वरिपरी घुमिरहेको उहाँको भनाई छ । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts