✍️ धनप्रसाद पण्डित
२०७९ साल वैशाख १९ गते । गलेश्वरको होटेल ताजमहल लज एण्ड रेस्टुरेण्टबाट बिहान सबेरै बस चढेर बागलुङतर्फ प्रस्थान ग¥यौं । हामी हिजो बसेको यो होटेल भर्खरै बनेको रहेछ । तीन वर्षअघि यही बाटो भएर मुक्तिनाथ जाँदा यो होटल बनेको थिएन । बिहान होटेलमा हलुका खाजा खाएर हामी निस्क्यौँ । यात्रा हल्काफुल्का किसिमको होला, बाटो धेरै टाढा छैन भन्ने मेरो सोचाइ थियो ।
बागलुङ कालिकाको दर्शन गर्ने र पर्वत बागलुङ जोड्ने नेपालकै सबैभन्दा लामो झोलुंगे पुल हेरेर पोखरा जाने कार्यक्रम छ । बिबिएमका छात्राहरूले यस अवलोकन भ्रमणलाई धेरै हिन्दी गीतको बोलमा रमाएर बिताएका छन् । यस अध्ययन भ्रमणले विजनेस प्लान, नेपालमा विकासको सम्भावना, रोजगारी सिर्जना, विजनेस अध्ययन, पर्यटन र विकाससँग कत्तिको जोड्न सक्छन् भन्न गाह्रो छ । विषयगत भ्रमण र अध्ययन प्रतिवेदन उपयोगी बनाउन सकेको खण्डमा ज्यादा उपलब्धिमूलक हुन्थ्यो भन्ने मलाई लागेको छ । यस अध्ययन अवलोकन भ्रमणका बारेमा टुर अपरेटर अर्जुन रेग्मी यस्तो विचार व्यक्त गर्छन् :
‘पद्मकन्या बहुमुखी क्याम्पसको बिबिएम छैटौं सत्रका ३१ जना छात्रा, क्याम्पस प्रमुख, एकजना डाइरेक्टर, प्रशासन प्रमुख सिमा अर्याल, चालक दलका तीनजना गरी जम्मा ३७ जना सदस्य बसको १४ दिने यात्रामा थरीथरीका विचार, भिन्न स्वाद र भिन्न रुचि हुनु अस्वाभाविक होइन । क्याबिनमा बसेका छात्राहरू (सुस्मिता गुरुङ, प्रतीक्षा भट्टराई, शशी राई, दीक्षा भुजेल, इच्छा काफ्ले, प्रशंसा श्रेष्ठले यात्रामा निकै आनन्द लिएका देखिन्थे । ड्राइभर पछाडिको सिटमा खुमप्रसाद शर्मा र म बसेका थियौँ ।
सिञ्जा उपत्यका प्रवेश गर्नुअघि चाहिँ कालीकोटको चिल्खाया भन्ने ठाउँ पुगियो । यो पण्डितहरूको बसाइँसराइ भएर ५०० वर्षअघि बझाङतिर लागेको ठाउँ हो । सिञ्जा उपत्यका चाहिँ साँच्चै रहरलाग्दो रहेछ । उपत्यकाको बीचमा कलकल नदी बगेको छ । वारिपारि गहुँ, जौ, उवा पाक्न लागेका छन् ।
वैशाख १९ गते बिहान बागलुङ कालिकाको मन्दिर पुगेर घुमघाम र पूजाआजा भयो । त्यसपछि बाग्लुङ कालिकाको प्रवेशद्वारमा फोटो खिचेर हामी पर्वतको कुश्मातिर लाग्यौँ । यात्रा तुलनात्मक रूपमा आरामदायी र छोटो थियो । काली गण्डकी सबैभन्दा बढी झोलुंगे पुल भएको नदी हो ।
(होटेल ओरे.... मा १ बजे खाना खायौं ।)
बागलुङ पोखरा राजमार्ग नमुना सडक रहेछ । यो राजमार्ग हेम्जा उपत्यका हुँदै गएको छ । पोखरादेखि फेदीसम्म विकाससँगै शहरीकरण अघि बढेछ । कृषियोग्य जमिन चाहिँ सखाप नै भएछ । परन्तु चीनसँग जोड्ने (कोरला नाका जोड्ने) सडक भएकाले नमुनाको रूपमा विकास गरेको राम्रै लाग्यो । हेम्जामै एक्सिडेन्ट भएर हो कि आउने जाने दुवै किसिमका यातायातका साधन चलेका थिएनन् । सडक चकमन्न थियो ।
वैशाख २० गतेका दिन खुमप्रसाद शर्मा काठमाडौंबाट भ्रमणमा सामेल हुन आइपुगे । राति करिब नौ बजे हामी गाभर भ्याली होम स्टेमा पुग्यौँ । खानपिन गर्दा रातिको १२ बज्यो । सबै विद्यार्थीका लागि यो यात्रामा नौलो अनुभव भयो । बिहान खाजा खाइ सबै जनालाई घरघरबाट ल्याई पौने नौ बजे हाम्रो यात्रा सुर्खेत भएर कालीकोटका लागि सुरु भयो । होम स्टेको बसाइ र खानपिन नेपालका लागि धेरै राम्रो हुने रहेछ भने हाम्रा छात्राहरूले । अञ्जलि, सुनैना, सिर्जना, अनिजाका लागि होम स्टेको अनुभव एकदमै अविस्मरणीय रहृयो । पहिलो चोटि बसे पनि हामीलाई केही अफ्ठ्यारो भएन । यति लामो यात्रापछि घरजस्तै खानेकुरा र सुत्ने कोठा पाउँदा एकदमै आनन्द र खुशी भए छात्राहरू । यस्तो अनुभवको लागि उनीहरूले कलेजप्रति आभार प्रकट गरे ।’
स्मार्ट शैक्षिक भ्रमण
मेरो विद्यार्थी जीवनको शैक्षिक भ्रमणताका इन्टरनेट, इमेल, मोबाइलको विकास भएको थिएन । यहाँसम्म कि नेपालमा टेलिभिजनको समेत थालनी भएको थिएन । त्यसैले पाकिस्तान टेलिभिजनमा गीत र नेपाली नाच प्रस्तुत गर्दा हामीलाई स्टुडियोभित्र अनौठो लागेको थियो । आजभोलि हरेक छात्राको हातमा स्मार्ट फोन, डाटा प्याकेज, भिडियोग्राफी छ । म कहाँ पुगँे मेरो वरिपरिको परिवेश कस्तो छ भनेर साथीभाइ र परिवारलाई रिपोर्टिङ गर्ने सुविधा उपलब्ध छ । यात्राको व्यवस्थापन गर्न निकै सहज भएको छ । कहाँ सुत्ने, कहाँ खाने सबै व्यवस्था गर्न सजिलो छ हिजोआज ।
सिञ्जा उपत्यका प्रवेश गर्नुअघि चाहिँ कालीकोटको चिल्खाया भन्ने ठाउँ पुगियो । यो पण्डितहरूको बसाइँसराइ भएर ५०० वर्षअघि बझाङतिर लागेको ठाउँ हो । त्यहाँ नजिकैको ठूलो ढुंगामा उभिएर हामीले फोटो खिच्यौँ । सिञ्जा उपत्यका चाहिँ साँच्चै रहरलाग्दो रहेछ । उपत्यकाको बीचमा कलकल नदी बगेको छ । वारिपारि गहुँ, जौ, उवा पाक्न लागेका छन् । कतै-कतै मार्सी धानको ब्याड (बेर्नाटो) तयार भएको देखिन्छ । यहाँ मार्सी धानको मात्र उत्पादन हुन्छ । त्यहाँ हामीले जुम्ली धानको रातो चामल मार्सीकै खाना खायौँ । च्यांग्राको मासु, सिमीको दाल, तरकारी र गोलभेडाको अचार । अहिले सम्झँदा पनि मुखबाट पानी आउँछ । त्यहाँको खानेकुरा सबैले मनपराए तर एकजना विद्यार्थीलाई मन परेन । अरू धेरैजसो विद्यार्थीले त रुचाएरै खाए । पाखामा खुर्पानी, दाँते ओखर, स्याउको खेती गरेको देखिन्थ्यो । नदीको किनारमा ठूल्ठूला तीनवटा गिद्ध देख्यौँ । धेरै दिनपछि मैले यति ठूलो गिद्ध देखेको थिएँ । जुम्ली घोडा लिएर बाजुरा पोखयाको लेक, बिना लेक, यामको लेक, परिडालको पुल तरेर जोल्जोकीमा लाग्ने घोडा बिक्री मेलामा धेरैपटक लिएर गएको छु भने रामबहादुर रोकायाजीले । ७१ वर्षका उनले आफ्नो जीवनयात्राका धेरै कथा सुनाए । उनले टनकपुरबाट ७÷८ दिनमा चिसापानी, त्यहाँबाट १५÷१६ दिनमा जुम्ला घर पुगेर नुन लत्ता कपडा लिएर आएका हौं भने । आजकाल त दैलोमा सडक छ, जिपमा एकै दिनमा नेपालगञ्ज पुग्न सकिन्छ । बझाङ, बाजुरा, अछामका मान्छे घ्यू लिएर टनकपुर जान्थे । हामी घोडा लिएर जान्थ्यौँ । जुम्ली घोडाको व्यापार गर्न एक महिनाभन्दा बढी समय लाग्थ्यो । समयसँगै ठूला परिवर्तन भएका छन्, अझै राम्रो नेता पायौँ र यो सडक पिच हुन सके भने बेस हुन्थ्यो भन्ने विचार पोखे ।
रारा पुगियो । निकुञ्जको गेटभित्र सेनाको स्वीकृति लिएर पाँच किलोमिटर जति बसैमा गयौँ । पाटन पुगेपछि बस फर्कायौँ र पैदल हिँड्दै फोटो खिच्दै रमाउँदै आधा घण्टा जति हिँडेपछि ताल देखियो । तालको दृश्यावलोकन गर्दै भिडियो र फोटो खिच्दै अरू एक घण्टा हिँडेपछि बल्ल हामी बास बस्ने होटलमा पुग्यौँ । रारा साँच्चिकै सुन्दरी रहिछिन् । सफा पानी, स्वच्छ हावा, चारैतिर सुरम्य धुपीको जंगल र माथितिर डम्म लागेको बादल । जे होस् दोस्रो प्रमुख गन्तव्यमा आठ बजे बेलुका पुग्दा क्याम्प फायरको तयारी हुँदै थियो । छात्राहरू निकै रमाए र कोठा लिनुअघि उनीहरूले तातो पानी खाएर मुगाली स्वागत पाए । यात्रा रमाइलो भयो । बाटो पनि सोचे जति डरलाग्दो थिएन । हामी बस्ने कोठाको टेबलमा उचाइमा हुने अलि सेतो खाने गुराँसको फूलले स्वागत गरिएको थियो । यो गुँरासलाई बझाङमा चमेलो भन्छन् ।
कर्णाली राजमार्गको सडक निकै घुमाउरो रहेछ । ५५ किलोमिटरको दूरी पार गर्न करिब साढे तीनदेखि चार घण्टा लाग्छ रे । परबाट एउटा गाडी आयो भने पास दिन पछाडि सर्नुपर्छ । दिउँसो चार बजे हामी बडिचौर भन्ने ठाउँमा पुग्यौँ ।
वैशाखको २४ गतेका दिन हामी गोरुचौर भन्ने ठाउँमा उठेर, खाजासाजा खायौँ । अनि हामी आठ बजेतिर जुम्लाको खलंगा जानका लागि प्रस्थान ग¥यौँ । करिब साँढे तीन घण्टा जतिमा जुम्ला एयरपोर्ट पुग्यौँ । त्यो क्षेत्रको फोटो, भिडियो खिचेर जुम्ला बजार घुम्दै चन्दननाथ र भैरवनाथको दर्शन गरेर बसैमा होटलसम्म गयौँ । त्यसदिन हामीले जुम्लामा नै खाना खायौँ । त्यहाँबाट हिँडेको केही बेरमै बसको चक्का पञ्चर भयो । कमसे कम जुम्ला सदरमुकामको पिचरोडमा नै पञ्चर भएको थियो । ढिलै भए पनि चक्का परिवर्तन गर्न ठिकै ठाउँ परेको थियो । करिब एक घण्टामा जति मरमत भए पनि हामी दुई बजेसम्म हिँडिसकेका थिएनौँ । आजको गन्तव्य कालीकोटको मान्म हो । दिउँसोको २ : १२ मा बल्ल जुम्लाबाट बस गुड्यो ।
यस अध्ययन भ्रमणका बारेमा बिबिएम छैटौं सेमेस्टर कि छात्रा साधना रेग्मी लेख्छिन् :
‘यो मेरो जीवनको सबैभन्दा पहिलो र लामो शैक्षिक भ्रमण हो । हाम्रो भ्रमण जम्मा १३ दिनको थियो । पहिलो दिन हामी पद्मकन्या कलेजबाट मुस्ताङ जानका लागि हिँडेका थियौं । पहिलो दिन हामी म्याग्दीको गलेश्वर पुगेका थियौं । हामी दोस्रो दिन त्यहाँबाट मुस्ताङको मुक्तिक्षेत्र लागि प्रस्थान ग¥यौँ । हाम्रो त्यो यात्रा निकै नै रमाइलो भएको थियो । मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पाउँदा एकदम आनन्द र रमाइलो लागेको थियो । मौसमले राम्रोसँग साथ त दिएको थिएन तैपनि हामी मुक्तिनाथ दर्शनपछि राराको यात्राका लागि तयार थियौं ।
मुक्तिनाथबाट हामी तीन दिनको लामो बसयात्रापछि रारा पुगेका थियौं । राराको त्यो मनोरम दृश्यले म एकदम नै रोमाञ्चित भएकी थिएँ, तर त्यहाँका मानिसको जीवनशैलीले मलाई एकदम भावुक बनायो । न त त्यहाँ कुनै सुविधा नै पुगेका छन् न त्यहाँका मानिसलाई कुनै किसिमको शिक्षाको प्रबन्ध नै थियो । त्यसै गरी साथीहरूसँग राराको रमाइलो भ्रमण गर्न पाउँदा मलाई एकदम आनन्द लागेको थियो । भविष्यमा मौका मिले फेरि पनि आउनेछु भनी त्यहाँ घुमेर हामी पुनः अर्को ठाउँको लागि यात्रा तय गर्यौं ।’
वैशाख २५ गतेका दिन हामी कालीकोटको मान्म पुग्छौँ । खिडकी जिउला, राकम भएर तल्लो डङ्डेशर गुराँसा गाउँपालिका दैलेखमा खाना खायौँ । त्यहीँबाट क्याम्पसको सञ्चालक समितिको बैठकमा टेलिफोनबाट सहभागी भयौं । सहभागी छात्रासहित म, खुमप्रसाद शर्मा र सीमा अर्याल खाना खाई दुई बजेपछि सुर्खेतका लागि प्रस्थान ग¥यौँ । कर्णाली राजमार्गको सडक निकै घुमाउरो रहेछ । ५५ किलोमिटरको दूरी पार गर्न करिब साढे तीनदेखि चार घण्टा लाग्छ रे । परबाट एउटा गाडी आयो भने पास दिन पछाडि सर्नुपर्छ । दिउँसो चार बजे हामी बडिचौर भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ पुगेर केही बेर बाहिर निस्केर घुमफिर ग¥यौँ । त्यसै ठाउँमा केही बेर बसी कालो चिया र मुङ्ग्रे केरा किनेर खायौँ अनि लाग्यौँ सुर्खेततिर ।
सुर्खेतको होटल बुलबुले-२ मा हाम्रो बस्ने प्रबन्ध गरिएको थियो । यो होटलको व्यवसाय सुरु गरेको तीन वर्ष भएको रहेछ । घरभाडामा लिएर सुरु गरेकोमा एक वर्ष त घरभाडा त्यत्तिकै तिर्नुपरेछ । बैंकको ऋणको भार पनि रहेछ । यस अध्ययन भ्रमणबारे छात्रा सिसम पुडासैनीको विचार यस्तो छ : ‘काठमाडौंको भिडभाडदेखि धेरै टाढा राराताल र मुक्तिनाथ भ्रमण गर्न हामी लाग्यौं । १३ दिने भ्रमणमा कष्ट र रमाइलो दुवै अनुभव भयो । यस यात्रामा मुक्तिनाथ पुग्दा हामी त्यहाँको सुन्दरताले मोहित भयौं । अझ मन्दिर घुम्दाघुम्दै हिउँ फुसफुस पर्न थाल्यो । सबै जना चिसो भुलेर त्यसमै आनन्दित भयौँ । मुक्तिनाथसम्मको यात्रा धेरै कठिन भएन । सुन्दर झरना, ठूला र अग्ला पहाड देखेर सबै खुशी भइयो ।
राराको यात्रा भने निकै लामो थियो । मुस्ताङबाट पोखरा झरेर मुगु जिल्लाको राराताल पुग्न हामीले बसमा लगातार तीन दिनको यात्रा गर्नुपरेको थियो । बसमा बसिराख्न कठिन थियो तर झ्यालबाट बाहिर हेर्दा ठूलाठूला पहाड, नदी, झरनाको दृश्यले मन भने असाध्य रमाएको थियो । जुम्लाको लहलह झुलेका गँहुका बाला हेर्दा मन आनन्दित भयो । त्यहाँको सुन्दरताको बयान गर्न कठिन छ । जुम्लापछि हामी मुगु जिल्लाको रारा पुग्यौँ । त्यहाँ पुग्दा दुःखपछि सुख हुन्छ भनेको यही हो जस्तो लाग्यो । हरिया रुखले घेरेरबीचमा रहेको निलो ताल आँखाले देखेसम्म फैलिएको थियो । त्यस तालमा पुगिसकेपछि सधैं यसै ठाउँमा बस्न पाए कस्तो आनन्द हुन्थ्यो होला भन्ने कुरा सबैको मनमा पक्कै लाग्यो होला । सबै राम्रो पक्ष हेर्दा खुशी लागे तापनि त्यहाँको जनजीवनको कष्ट देख्दा मलाई निकै दुःख लाग्यो । यस भ्रमणबाट मलाई निकै खुशी लाग्यो तर त्यति राम्रा ठाउँहरूमा सानोतिनो विकास पनि नभएको देख्दा मलाई साह्रै दुःख लाग्यो । छिटै नै विकास होस् र त्यहाँको मानिसलाई सुख होस् भन्ने कामना गर्दछु ।’ क्रमशः







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता