झापा । झापाको कमल गाउँपालिकाले पालिका प्रद्धत्त सेवाका लागि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अनिवार्य सर्त बनाएको छ । हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्नेलाई पालिका प्रद्धत्त सेवा रोक्ने निर्णय गरिएको हो ।
विभिन्न बाहना बनाउँदै हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्ने, औषधि सेवन गरिसकेँ, समय छ भोलिपर्सी खान्छु भनेर कार्यक्रम असफल पार्ने संकेत देखिएपछि गाउँपालिकाले यस्तो बाध्यकारी नियम बनाएको हो ।
हात्तीपाइले विरुद्धको औषधी खाएको प्रमाण देखाएपछि मात्र पालिका प्रद्धत्त सेवा प्रदान गरिने अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो ।
'यो गाउँपालिकाले गरेको जबर्जस्त निर्णय होइन' उहाँले भन्नुभयो, 'सुन्दा अप्रिय लाग्ने यो निर्णय हात्तीपाइले रोगको उच्च जोखिम रोक्न जरुरी थियोे ।' यो निर्णयको पछाडि कार्यक्रमलाई प्रभावकारी बनाउने बाहेक गाउँपालिकाको अर्को स्वार्थ नभएको अध्यक्ष राईको भनाइ छ ।
औषधी सेवन गर्न नमान्ने र औषधि खुवाउन स्थानीयको घरघर गएका स्वास्थ्यकर्मीलाई हप्काउने, थर्काउने प्रवृत्ति बढेपछि गाउँपालिकाले अनिवार्य औषधि सेवनलाई अनिवार्य सर्त बनाउन बाध्य भएको अध्यक्ष राईले बताउनुभयो।
गाउँपालिकाले अनिवार्य रूपमा औषधि सेवन गरी कार्ड लिन पालिकाबासीलाई आग्रह गरेको छ। औषधि सेवन गरेको आधिकारिक कार्ड नभए सेवा रोक्न गाउँपालिकाले मातहतका सबै कार्यालयलाई निर्देशन दिइसकेको छ ।
राष्ट्रिय अभियान अन्तरगत झापासहित १० जिल्लामा यस वर्ष हात्तीपाइले विरुद्धको औषधी सेवन गर्ने अन्तिम कार्यक्रम हो । कमल गाउँपालिकामा औषधि सेवन गर्ने आइतबार अन्तिम दिन हो ।
वैशाख १६ गतेदेखि कमलका सम्पूर्ण घरमा औषधि खुवाउन तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालित गरिएको छ । झापा यो रोगको उच्चजोखिम भएको जिल्ला हो। झापाका १५ पालिका मध्ये बाध्यकारी निर्णय गर्ने कमल गाउँपालिका एक्लो गाउँपालिका हो ।
हात्तीपाइले मानिसलाई शारीरिक रूपमा असक्त बनाउने गर्दछ । यो रोगको संक्रमण एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट हुन्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेर सो परजीवी मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्ने गर्छ ।






