सर्लाही । सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सेवाग्राहीलाई छिटो नागरिकता दिलाइदिन्छु भनी रकम माग गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सेवाग्राहीलाई अनुचित प्रभावमा पारेर नगद लिएको सूचनाका आधारमा प्रहरीले मलङ्गवा नगरपालिका–३, बस्ने २५ वर्षीय सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिएको हो । महतोलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसैबिच सर्लाही प्रहरीले विभिन्न मुद्दामा फरार रहेका एकै गाउँका आठ जना अभियुक्तलाई एकैसाथ पक्राउ गरेको छ । जिल्ला प्रहरी तथा मातहतका युनिटबाट परिचालित टोलीले अहिले रामनगर गाउँपालिकामा पर्ने साबिकको खैर्बा गाउँ विकास समिति वडा नं. ९ घर भएका आठ जना फरार अभियुक्तलाई एकैसाथ नियन्त्रणमा लिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
डिएसपी श्रेष्ठका अनुसार पक्राउ पर्नेमा छ जना कुटपिट र दुई जना सार्वजनिक अपराध मुद्धामा दुई सयदेखि पाँच हजारसम्म जरिवाना तोकिएका अभियुक्तहरु रहेका छन् । पक्राउ परेका आठै जनालाई सर्लाही जिल्ला अदालतमा बुझाइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता