कैलाली । कैलालीको धनगढीमा संकलन गरेको फोहोरलाई वर्गीकरण गरेर बिक्री गर्ने काम सुरु भएको छ । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सूक्ष्म वर्गीकरण केन्द्रबाट तयार भएको फोहर बिक्री गर्ने काम सुरु भएको हो ।
उपमहानगरपालिकाले करिब १५ लाख मुल्यको वर्गीकरण गरिएको फोहर बिक्री गर्न लागेको छ । उपमहानगरपालिकाले फोहर बिक्री गर्न मूल्य सूचि नै तयार पारेर ठेक्का सम्झौता समेत गरिसकेको छ ।
उपमहानगरपालिकाले सञ्चालन गरेको केन्द्रका प्राविधिक सहितका कर्मचारीको तलब खर्चको रकम वर्गीकृत फोहर बिक्रीबाट सङ्कलन गर्ने योजना छ । उपमहानगरपालिकाले तयार पारेको वर्गाीकृत फोहरको न्यूनतम दररेट तयार पारेर ठेक्काका लागि सूचना सार्वजनिक गरेको थियो । उपमहानगरपालिकाको बोलपत्रमा बढी दर पेस गर्ने सोनुराज ट्रेड एण्ड सप्लायर्सले ठेक्का पाएको छ ।
कम्पनीले वर्गीकृत फोहर ढुवानी सुरु गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखाप्रमुख अशोक अवस्थीले बताउनु भयो । उपमहानगरपालिकाले भुरा कागजको १० रुपैयाँ, कपिको १३ दशमलव ५०, किताबको १३ दशमलव ५०, एलडी र एचएमको ३५, पिपिको २०, पेट बोतलको ४० रुपैयाँ, गुडिया २२ रुपैयाँ, कचराको पाँच दशमलव ५०, पिभिसिको पाँच दशमलव ५०, कट्टाको पाँच दशमलव ५०, रसिहरुको पाँच दशमलव ५० र बोतल प्लास्टिकको दुई दशमलव ५० रुपैयाँ प्रति किलोग्रामको दरले बिक्री गरिँदैछ ।
यस्तै, टीनको ४५, फलामको ४८, आल्मुनियमको दुई सय २०, तामाको नौ सय ५०, पित्तलको ६ सय ५०, बियरका बोतलको २ दशमलव ५०, सेतो बोतलको पाँच, रुस्लान, खुकुरी लगायत बोतलको १० रुपैयाँ, काठ र दाउराको ६ रुपैयाँ तथा तारको २० रुपैयाँ प्रति किलोग्राममा बिक्री थालिएको हो । टायरको १३, ट्युवको २२ रुपैयाँ प्रति किलोग्राममा बिक्री सुरु गरिएको छ ।
धनगढी उपमहानगरपालिका–२ मा एक बिघा जग्गा वार्षिक ८८ हजार आठ सय ८८ रुपैयाँमा भाडामा लिइएको छ । उपमहानगरपालिकाले १९ लाखमा उपकरण तथा संरचना निर्माण गरेको छ । ७ लाखको घेरबारसमेत गरिएको छ । उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएका छन् ।
उनीहरुको तलब सुविधाका लागि बिक्री गरिएको वर्गीकृत फोहरबाट रकम सङ्कलन हुने दाबी छ । सरसफाइ व्यवस्थापन शाखाप्रमुख अवस्थीले कर्मचारीको तलब, विद्युत महसुल, इन्धन लगायत खर्चका लागि वर्गीकृत फोहर बिक्रीको रकमले खर्च धान्ने बताउनु भयो । धनगढी उपमहानगरपालिकाले केन्द्र सञ्चालनको एक वर्षमा कम्तीमा १५ लाखको वर्गीकृत फोहर बिक्री थालेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता