नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नयाँ जनप्रतिनिधिहरु आएको २ वर्ष नपुग्दै ५ हाकिम फेरिएका छन् । अहिलेसम्म ४ प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । अहिले पाँचौ प्रमुख प्रशासकीय अधिकृतका रुपमा नयाँ आउँदै हुनुहुन्छ। नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतको अहिलेसम्म टुंगो छैन । जनप्रतिनिधिहरुको आपसी मनमुटाव र आफू अनुकुल काम गर्न दबाब दिँदा त्यहाँ हाकिमहरु टिक्न नसकेको बताइएको छ।
जनप्रतिनिधिहरुकै टसलका कारण सरुवा भएर पुगेका एक प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरै नगराई फिर्तासमेत पठाइएको थियो । मेयर बिमला अर्याल र उपमेयर सूर्य दुबेको आन्तरिक विवादसँगैको दबाब र अन्य केही जनप्रतिनिधिहरुले समेत काममा दिने दबाबका कारण प्रमुख प्रशासकीय अधिकृतहरु लामो समयसम्म टिक्न नसकेको कर्मचारीहरुले बताएका छन् । २०७९ जेठ पहिलो सातामा नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको २ महिना नपुग्दै तत्कालीन प्रमुख प्रशासीय अधिकृत अशोक कोइरालाको सरुवा गरेपछि त्यसको श्रृङ्खला अहिलेसम्म पनि चलिरहेको छ। कोइराला ८ महिना पूरा बस्न पाउनु भएन् ।
पछिल्लो पटक अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीको पनि सात महिना नपुग्दै फेरि सरुवा भएको छ। गिरी गत असोज महिनामा हाजिर हुनुभएको थियो । गिरीको गुल्मीको मुसिकोट नगरपालिकामा सरुवा भएको छ । जनप्रतिनिधिहरुकै
विवादका कारण गिरी अगाडी कार्यरत प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनीको २ पटक भएको सरुवा थमौती गरिएको थियो। मरासीनीको सरुवाको विषयमा मेयर बिमला अर्याल र उपमेयर दुबेसहित जनप्रतिनिधिहरुको विवाद त्यसबेला छताछुल्ल भएको थियो। मरासीनीको सरुवालाई थमौती गर्नुपर्ने मेयर अर्यालको पत्र र सरुवा नै गर्नुपर्ने भन्दै उपमेयर दुबेसहितका केही जनप्रतिनिधिहरुले मन्त्रालयमा पत्र पठाएर जनप्रतिनिधिहरुको विवाद छताछुल्ल पारेका थिए। विवादकाबीच अहिलेसम्म लामो समयसम्म (१ वर्ष) टिक्नुभएका प्रमुख प्रशासकीय अधिकृतमा मरासीनी मात्र देखिएको छ। २०७९ भदौमा पुग्नु भएका मरासीनीको २०८० असोजमा सरुवा भएको हो। त्यसबेला विवादकाबीच सरुवा गरिएका मरासीनीको ठाउँमा पुग्नुभएका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमलाई मेयर अर्यालले हाजिर गर्न दिनुभएको थिएन । १८ दिन नगरपालिका जानुभएका गौतमलाई हाजिर नगराई मेयर अर्यालको दबाबमा सरुवा गरिएको थियो ।
अहिलेका प्रमुख प्रशासकीय अधिकृत गिरीको मुसिकोट सरुवा गरिएपनि उहाँको ठाउँमा अहिलेसम्म नयाँलाई जिम्मेवारी दिएर पठाइएको छैन। मेयर अर्याल र उपमेयर दुबे दुबै एमालेबाट निर्वाचित हुनुहुन्छ। तर, उहाँहरुसहित केही जनप्रतिनिधिहरुबीच खोला ठेक्का दिने विषय, योजना र कार्यक्रम बाँडफाँडलगायतका विषयमा विवाद हुँदै आएको छ। जसको मारमा कर्मचारीहरु पर्दै आएको बताइएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts