काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिनुभयो ।
‘सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे, ‘यही यथार्थलाई आत्मसात् गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने तथा सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको छ ।’
कोषको स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अर्बौँको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुनुका साथै युवा पुस्तालाई देशभित्र आशा जगाउन एवं अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन सकिने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो । उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले देशभित्रै केही गर्न चाहने युवाका निम्ति नयाँ अवसर सिर्जना गरिने स्पष्ट पारिने बताउनुभयो । उहाँले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीर रूपले लागिरहेको स्पष्ट पार्नुभयो ।
सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’का रूपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम नागरिकको आर्थिक, सामाजिक जीवनमा उन्नयन र रूपान्तरणका निम्ति सम्बद्ध सबैमा अपिल गर्नुभयो ।
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्नेगरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताउनुभयो । ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको उल्लेख गर्दै उहाँले सन्देशमा यससँग सम्बन्धित परियोजना विकास गरेर त्यसलाई कार्यान्वयन गरी समृद्ध नेपाल निर्माणको आकांक्षा पूरा गर्न सहयोग पुग्ने बताउनुभयो । ‘तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरैभन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ सुरु गरिएको ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ लाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रूपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको स्पष्ट लक्ष्य रहेको छ’, मन्त्री शर्माले भन्नुभयो । उहाँले सुरक्षित सूचना प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि स्थापित गर्ने कार्यमा ठोस योगदान गर्न सबैमा अपिलसमेत गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको र राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका उहाँको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts