सुर्खेत । वीरेन्द्रनगर–३ पतेनी रोडकी बर्षा भण्डारीलाई हिजोआज पानीको पिरलोले सताइरहेको छ । गर्मी मौसम सुरु भएसँगै इनार समेत सुक्न थालेपछि उहाँलाई खानेपानीको चिन्ता छ ।
‘घरको इनार पनि सुकिसक्यो । घर नजिकै पानीको मुहान छैन । खानेपानीका लागि जारको पानी किन्नुको विकल्प छैन’ उहाँले भन्नुभयो्, ‘अन्य सरसफाई गर्ने पानी छैन । खानेपानीको संकटले बस्ती नै छोडेर जाउँजस्तो लाग्छ ।’
उहाँ जस्तै पतेनी टोलमा रहेका सबै स्थानीयको पीडा एउटै छ । हप्तौ दिनसम्म धाराको पानी आउँदैन । भएका इनाहरु पनि सुक्दै गएका छन् । त्यसैमा झन् टोल टोलमा खनिएका व्यक्तिगत बोरिङहरुका कारण पनि इनारको पानी छिट्टै सुक्न थालेको छ ।
स्थानीय सौगात बिसीले भन्नुभयो, ‘यो वर्ष छिट्टै इनार समेत सुक्न थाले । टोलमा पानीको चरम संकट छ । दैनिक पानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउँछ ।’पानीको स्रोत घट्टै गएपछि पतेनी टोलमा रहेको सार्वजनिक कुवा समेत सुक्न थालेको छ ।
यो कुवामा हाल दैनिक बिहान ४ बजेदेखि राती ११ बजेसम्म पानी भर्नेको भिड लाग्छ । पानीको पालो कुर्दा कुर्दा दिग्क लागेर कहिलेकाँही रित्तै भाँडो लिएर घर फर्किने गरेको स्थानीय चन्द्रकली कंडेलले बताइन् ।
उहाँका अनुसार वीरेन्द्रनगरमा व्यवसायका लागि टोलटोलमा खनिएका बोरीङका कारण इनार सुक्दै गएका हुन् । भने पानीको मुहान घट्न थालेपछि सार्वजनिक कुवाहरु सुक्न थालेका छन् । वीरेन्द्रनगर–५ चिसापानी स्थित गणेशमन्दिर नजिक रहेको सार्वजनिक कुवा पनि सुक्न थालेको छ ।
‘दैनिक हजारौं घरधुरीलाई पानीको प्यास मेटाउने यो कुवा सुक्दै गएको छ’ स्थानीय रुपा गुरुङले भन्नुभयो ‘जहिल्यै वीरेन्द्रनगरमा पानीको हाहाकार हुन्छ, नगरपालिका र प्रदेश सरकार के हेरेर बसेका छन् ? कुरा गर्ने काम नगर्ने हो भने अब हामी रित्ता भाँडा लिएर नगरपालिका धाउछौं ।’
खानेपानीको समस्या जताततै उस्तै रहेपनि इनार समेत सुक्न थालेपछि सरसफाइ गर्न समस्या भएको वीरेन्द्रनगर–१० का लक्ष्मी गौतम बताउनुहुन्छ । यी उदाहरण पात्र हुन् । तर वीरेन्द्रनगरमा पानीको अभावले सबैलाई सास्ती भएको छ । त्यसैमा झन् भाडामा बस्नेहरु ठुलो मारमा छन् ।
‘इनारमा पानी छैन, घरभेटीले ट्यांकरको पानी किन्दा बराबर पैंसा तिर्नुपर्ने बाध्यता छ’ बजारमा भाडामा बस्दै आएका जगत हमालले भन्नुभयो, ‘हिजोआज त कोठा भाडा भन्दा पानीमा बढि पैंसा जान थाल्यो । अब सुर्खेत बजारबाट बसाइ सर्ने सोचमा छुँ ।’
सरकार मौन, नागरिक आक्रोसित
यतीबेला कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा खानेपानीको चरम संकट पर्न थालेको छ । यो समस्या यो वर्षको मात्रै होइन । वर्षौदेखि नागरिकले भोग्दै आएका छन् । विगतका वर्षहरुमा गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु हुन्थ्यो । तर यो वर्ष
इनार नै सुक्न थालेपछि भविष्यमा झन् ठुलो पानीको संकट पर्ने देखिन्छ ।
यसबिषयमा स्थानीय र प्रदेश सरकारले ध्यान नदिएको भन्दै नागरिक आक्रोसित भएका छन् । वीरेन्द्रनगरको खानेपानी संकट कस्ले र कहिले रु अन्त्य गर्ला भन्दै राजनीति दलबारे आलोचना सहित चर्चा पनि हुने गरेको छ । तर वर्षौ बित्यो समस्या ज्यूँ का त्यूँ छ ।
यता सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगरमा पानी वितरण गर्दै आएको छ । तर गर्मी लागेसँगै मुहानमा पानी घटेपछि ७२ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको संथाले जनाएको छ । संस्थाका प्रमुख डम्मर गौतमका अनुसार हिजोआज मुहानमा ४० प्रतिशत पानी घटेको छ ।
संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएपनि मागअनुसार पानी पु¥याउन नसकेको गौतम बताउँछन् । संस्थाले हाल झुप्रा खोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ ।
यता वीरेन्द्रनगरमा खानेपानी समस्या समाधानको दीर्घकालिन विकल्पका रूपमा हेरिएको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणको गति सुस्त छ । यो खानेपानी परियोजना सुरु भएको ६ वर्ष बित्यो । तर निकै चर्चामा रहेको खानेपानी आयोजना सम्पन्न हुन अँझै कति समय लाग्ने हो रु पत्तो छैन ।
निर्वाचनमा मतदाता रिझाउन नेताहरुको चुनावी नारा समेत बन्ने गरेको यो आयोजना निर्माणको काम भने कछुवाको गतिमा छ । पछिल्लो समय काकाकुल बनेको सुर्खेत उपत्यकामा खानेपानीको संकट टार्न यो आयोजना निर्माण हुनुको विकल्प पनि छैन । तर आयोजना निर्माणको सुस्त गतिले नागरिक आजित बनेका छन् ।
भेरी लिफ्टिङ खानेपानी आयोजनामा प्रयाप्त बजेट हुदाँहुदै कार्यान्वयन गर्न नसक्नु सम्बन्धित पक्षको कमजोरी हो । हाल परियोजना कार्यान्वयन प्रक्रियामा रहेकोले आगामी तीन वर्षभित्र वीरेन्द्रनगरमा पानीको संकट अन्त्य हुने अपेक्षा छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts