पाल्पा । पाल्पा औलोको जोखिममा रहेको छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलोरोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको छ । यहाँका स्थानीय तहहरुमा स्थानीय र आयातित औलोबाट संक्रमित विरामीहरुको संख्या बढ्दै गएपछि पाल्पा औलोको जोखिममा रहेको हो ।
पछिल्लो ५ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा १५ जनामा औलो पुष्टि भएको छ । जसमा आर्थिक वर्ष २०७६/०७७ मा २ जना, २०७७/०७८ मा १ जना, २०७८/०७९ मा १ जना, २०७९/०८० मा ५ जना र २०८०/०८१ मा ६ जनामा औलो पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । १५ जना मध्ये १४ जना आयातीत औलोबाट संक्रमित विरामी हुन् । मौसममा आएको परिवर्तन, लामखुट्टे वृद्धि हुँदै जानुले औलोका बिरामी पहाडी जिल्लामासमेत देखापर्न थालेका छन् ।
जिल्लामा चालु आर्थिक वर्षको ९ महिनामा मात्र ६ जना औलोका बिरामी पुष्टि भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार ६ जनामा औलो पुष्टि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘६ जनामध्ये ५ जना आयातीत र १ जना स्थानीय औलोबाट संक्रमित रहेका छन् ।’ यहाँको पूर्वखोला गाउँपालिका औलोको उच्च जोखिममा रहेको छ । यहाँ चालुआर्थिक वर्षमा १ जना स्थानीय औलोबाट संक्रमित भएका छन् । जसले गर्दा यो पालिका जोखिममा रहेको डा. गिरीले बताउनुभयो ।
तानसेन नगरपालिकामा १, रामपुर नगरपालिकामा २ र माथागढी गाउँपालिकामा २ जना व्यक्तिमा औलो देखिएको छ । जुन आयातीत औलोबाट संक्रमित विरामीहरु हुन् । कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरुमा औलो देखिने क्रम बढेसँगै आयातीत औलोबाट संक्रमित विरामीको संख्या पनि बढ्दै गएको हो । आयातीत औलोबाट संक्रमित ५ जना महाराष्ट्र, दिल्ली, गुजरादबाट आएकामा देखिएको डा. गिरीले बताउनुभयो ।
नेपालमा सन् २०२५ सम्म औलो रोग निवारण गर्ने सरकारी लक्ष्य तोकिएको भए पनि स्थानीय र आयातीत औलोका कारण पूरा हुन मुश्किल देखिएको छ । जिल्लामै बसोबास गर्ने भन्दा बाहिरबाट फर्केका मानिससँगै आउने आयातित औलोबाट संक्रमितहुने बिरामीको संख्या बढी छ । यसले सरकारको लक्ष्य प्राप्तिमा चुनौति थपेको डा. गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पाल्पामा स्थानीय मलेरियाका विरामीदेखिनु, आयातीत औलोका विरामीहरु बढ्दै जानु, कीटनाशकयुक्त झूल तथा विषादी माग अनुसार व्यवस्थापनमा कठिनाई, आर्थिक स्रोतको अभाव, स्थानीय तहमा औलो सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी तथा इन्टोमोलोजिष्टहरुको अभाव, मलेरिया टेस्टकिट आवश्यकता अनुसार प्राप्त नहुनु जस्ता कुराहरुले औलो निवारणमा थप चूनौति रहेको छ ।’
औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । संक्रमितलाई स्वास्थ्य कार्यालय विशेष निगरानी बढाएको डा. गिरीले बताउनुभयो । उहाँका अनुसार सरकारी स्वास्थ्य संस्थाहरुमा औलोको परीक्षण तथा उपचार निशुल्क उपलब्ध हुँदै आएको छ । स्वास्थ्य कार्यालय पाल्पाले औलो निवारणका लागि औंलो विरामीहरुको आधारमा जोखिम क्षेत्रमा सक्रिय खोजपड्ताल, सिमा नाका तथा समुदायमा शंकास्पद विरामीको रक्त परीक्षण तथा रोग बारे सचेतना, जोखिमयुक्त क्षेत्रहरुमा झुल वितरण तथा किटनाशक विषादी छिड्काउ जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नेपालमा पछिल्लो समय औलोको आयातित केसहरु बढिदेखिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका(ईडिसिडी) का अनुसार सबैभन्दा धेरै आयातित केसहरुको स्रोत भारत हो । महाराष्ट्र, गुजरात, उत्तर प्रदेश, दिल्ली ,बिहार, राजस्थान, पञ्जाब आदि राष्ट्रबाट औलोको केस आएका देखिन्छन् । ८७ प्रतिशत भारतबाट र बाँकी १३ प्रतिशत अफ्रिकन मुलुकबाट केसहरु भित्रिएका देखिन्छन् ।
के हो औलो ?
औलो रोग संक्रमित ‘एनोफेलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । यसका ४ प्रकार छन् । नेपालमा मुख्यतः औलोका दुई किसिमका परजीविहरु ‘प्लाज्मोडियम फाल्सिपारम’ र ‘प्लाज्मोडियम भाइभेक्स’ पाइने गरेका छन् ।
ज्वरो आउनु, मांशसपेशीहरु दुख्नु, जाडो लागेर कम्पन हुनु, वाकवाकी लाग्नु, थकान महसुस हुनु आदि यसका लक्षणहरु हुन् ।
घरवरिपरि लामखुट्टे बस्ने बासस्थान खोजी खोजी नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा झुलको प्रयोग गर्ने, शंकास्पद लक्षण देखिए चिकित्सकलाई सम्पर्क गर्नुपर्ने विज्ञहरु बताउँछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता