नमागिएको सल्लाह
योभन्दा अगाडि प्रकाशित ‘यात्रा काठमाडौं-काशी, आइपुगियो हाँसिखुसी’ शीर्षकको यात्रा विवरणमा काठमाडौंदेखि बनारसको पहिलो दिन अथवा यात्राको चौथो दिनसम्मको अनुभव प्रस्तुत गरिएको थियो । यस आलेखमा त्यसपछिको विवरण प्रस्तुत गरिएको छ ।
‘न्याय हराए गोर्खा जानु, धर्म हराए काशी जानु’ भन्ने कहावत सुनेका हामीहरूका लागि हराएको धर्म नै फेला पर्ने बनारसको रहस्य के रहेछ भन्ने जिज्ञासा लिएर यात्राको पाँचौँ दिन बिहान काशीका कोतवाला अथवा पहरेदार भनेर चिनिने कालभैरवको दर्शन गरेर हाम्रो टोलीले पनि कोतवालाको अनुमति लिने निर्णय ग¥यो । काशीका दण्डाधिकारी भनेर पनि चिनिने कालभैरवको दर्शन गरेर टोलीको यात्रालाई निर्बिघ्न बनाउने प्रयत्न गर्नु हाम्रो स्वाभाविक प्रक्रिया नै थियो ।
साँघुरो गल्ली, कुनै निकायको व्यवस्थापन र ट्राफिक नियमन नभए तापनि भिडमा सहज महसुस गर्नु बनारसको विशेषता हो । लामो नै भए पनि लाइन बसेर दर्शन गरेको कारण कोतवालालाई खुसी बनायौँ भन्ने मनोविज्ञानले हाम्रो मन प्रफुल्लित थियो ।
कालभैरव, भगवान् शिवको रौद्र रूप हो । कालको अर्थ समय र मृत्यु दुवै हो । मन्दिरको आन्तरिक गर्भगृहमा कुकुरलाई वाहन बनाएको कालभैरवको मूर्ति विराजमान छ ।
शिलालेखअनुसार १८१७ मा यो मन्दिर आधुनिकरूपमा निर्मित भएको पाइन्छ । यस्तो आस्थाको बिम्बका रूपमा रहेको मन्दिरको आँखा पर्ने अग्रभागमा लेखिएको संस्कृत भाषाको श्लोकमा एउटै अक्षरमा हलन्त र शिरबिन्दु दिने लगायतका गम्भीर गल्ती देख्दा मन्दिर व्यवस्थापन खासगरी मन्दिरसँग सम्बन्धित विद्वान् पण्डितहरूको ध्यान किन नपुगेको होला भन्ने प्रश्नले मन खिन्न बनायो, मन शान्त गर्न यो विषयलाई भ्रमण टोलीका अन्य सदस्यका बीच पनि छलफलको विषय बनाइयो ।
हिन्दू परम्परा र संस्कारबाट प्रभावित हाम्रो टोली गणेशको दर्शन गरेर अगाडि बढ्नुपर्छ भन्ने सोच बनाएर लोहटिया टोलमा रहेको पर्याप्त सफाइको व्यवस्था नभएको गल्ली हुँदै बडा गणेशको दर्शन गरेर दारानगररोड, विश्वेश्वरगञ्जमा रहेको महामृत्युञ्जय मन्दिर दर्शनका लागि अघि बढ्यो ।
विश्वेश्वरगञ्ज नामाकरण नेपालका प्रखर विचारक तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको नामबाट नामाकरण भएको भन्ने सुनेर अझ अपनत्वबोध भयो । गौरवको महसुस भयो ।
आचार्य भृगु महाराजले मन्दिरको निर्माण सुरु गरेको र आदिगुरु शंकराचार्यले यो मन्दिरमा ध्यान गरेको विश्वास गरिन्छ ।
अप्राकृतिक मृत्युबाट जोगिन सकिन्छ भनेर विश्वास गरिने यो मन्दिरको परिसरमा रहेको पानीको कूप रहस्यमय रहेको विश्वास गरिन्छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरिले उक्त कूपमा सर्वौषधि राखिदिएको भन्ने कहावतमा विश्वास गर्दै भक्तहरू आफ्ना रोगहरू निको हुने विश्वासमा उक्त कूपको जलपान गर्दछन् ।
काशी विश्वनाथ मन्दिर
सामान्य दिनमा तीन हजार, श्रावणदेखिको चार महिना एकदेखि दुई लाखसम्म र शिवरात्रिजस्ता पर्वमा दस लाखसम्म भक्तालुले दर्शन गर्ने तथ्यांकले पनि काशी विश्वनाथ मन्दिरको लोकप्रियता थाहा हुन्छ । गंगा नदीको पश्चिमी किनारामा रहेको यो मन्दिरमा भगवान् शिवको पूजा गरिन्छ भने हिन्दूहरूले मान्ने गरेका १२ ज्योतिर्लिंगमध्ये यो एक हो । विश्वेश्वर, विश्वनाथ अर्थात् यो ब्रहृमाण्डको मालिक भनेर चिनिने काशी विश्वनाथको गंगा स्नान गरी दर्शन गर्नाले मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
काशी विश्वनाथ मन्दिर ट्रस्टअन्तर्गत सञ्चालित यो मन्दिरमा विशेष दर्शनबापत प्रतिव्यक्ति भारु ३०० तिरेर हाम्रो टोलीका सदस्यलाई सुविधापूर्वक दर्शन मिल्यो भने ट्रस्टको आम्दानी बढाउने दोहोरो फाइदाको काम भयो । सामान्य दर्शन गर्ने लाइनको टुप्पो फेला पार्न र फेला परे पनि दर्शन गर्न कठिन अवस्था भएकाले हाम्रो यात्रा टोलीले विशेष दर्शनको चाँजोपाँजो मिलाएको थियो । ०२३/२४ मा यो मन्दिरको आम्दानी ४२.४३ करोड भारु रहेको थियो, जुन आम्दानी ०२२/०२३ को भन्दा ४२.४३ प्रतिशत बढी थियो ।
मोबाइल, घडी, जुत्ता व्यवस्थापनको झन्झटिलो कामले देवदर्शनलाई पट्यारलाग्दो बनाएको थियो । यो क्रममा झण्डै हराएका साथी केही समयपछि भेटिएपछि तनावमा परेको हाम्रो टोलीलाई राहत भएको थियो ।
शिवरात्रिको दिन महामृत्युञ्जय मन्दिरबाट विशाल झाँकीको आयोजना गरी भगवान् विश्वनाथप्रति श्रद्धा व्यक्त गरिन्छ । यो दिन सम्पूर्ण शहरमा उल्लासको वातावरण हुने गरेको भन्ने जानकारी लिएर हाम्रो टोली बाबा विश्वनाथसँग बिदा लिई अगाडि बढ्यो ।
मन्दिर-ज्ञानवापी विवाद
हिन्दू धर्मावलम्बीको विश्वासको केन्द्र काशी विश्वनाथ मन्दिर चौथो र पाँचौँ शताब्दीबीचमा बिक्रमादित्य भनिने चन्द्रगुप्त मौर्यले निर्माण गरेको दाबी गरिन्छ । एघारौँ शताब्दीदेखि १६औँ शताब्दीको अन्त्सम्ममा मन्दिर भत्काउने र पुनर्निर्माण गर्ने शृंखला नै चलेको पाइन्छ ।
अदालती प्रक्रियाहरू पनि लामो समयदेखि चलिरहेका छन् । पछिल्लोपटक अदालतको आदेशबमोजिम व्यासजीको तहखाना भनिने भूमिगत तला खोली हिन्दूहरूले पूजाआराधना र दर्शन गर्न प्रारम्भ गरेका छन् । त्यहाँ हिन्दूहरूले गर्ने गरेको पूजाअर्चना सन् १९९३ मा तत्कालीन प्रदेश सरकारको आदेशले रोकिएको थियो । भारतको पुरातात्विक सर्वेक्षण निकाय (एसएसआई) को प्रतिवेदनमा ज्ञानवापीको भूमिगत तलामा मन्दिरका स्तम्भहरू प्रयोग भएको, सोही तलाको माटोमुनि हिन्दू देवीदेवताका मूर्ति फेला परेको, तल्लो तलामा भेटिएको ठूलो कुवा जसमा मुस्लिमहरूले नमाज पढ्नुअगाडि हात धुने गर्छन् (वजूखाना) मा शिवलिंग भेटिएको भन्ने आधारमा अदालती फैसला आएको थियो
यस्ता प्रमाणहरूका आधारमा भत्काउने र पुनर्निर्माण गर्ने शृंखलाअन्तर्गत अन्तिम पटक १६६९ मा महŒवाकांक्षी शासक औरंगजेवले मन्दिर भत्काएर ज्ञानवापी मस्जिद निर्माण गरेको भन्ने भनाइलाई पुष्टि गर्दछ ।
दुनियाँका कमै मस्जिदको नाम संस्कृतबाट राखिएको होस् । ज्ञानवापीको अर्थ हुन्छ ज्ञानको ठूलो कूप अर्थात् ज्ञानकूप, हिन्दू संस्कार र संस्कृतिभन्दा विपरीत गर्न उद्यत तत्कालीन मुगल शासकहरूले ज्ञानवापी मस्जिद नामाकरण गरेको विषय हामीजस्ता सामान्य जनलाई पनि पत्यार लाग्दैन । हिन्दूधर्मका आस्थाका केन्द्र अयोध्याको राममन्दिर, बनारसको काशी विश्वनाथ मन्दिरसँगै टाँसिने गरी मस्जिद निर्माण हुनु ११आँै देखि १७औँ शताब्दीसम्मको मुगल साम्राज्यको विस्तारको उत्साहका रूपमा लिन सकिन्छ । मुगल शासकहरूले फर्मान जारी गरेर धेरै ब्राहृमणहरूलाई मुसलमान बनाएको र अहिलेका उत्तर प्रदेशका मुस्लिमहरूका पूर्वज ब्राहृमणहरू रहेको भन्ने भनाइ पनि रहेको छ ।
अहिले निर्वाचन नजिक देखिएको मोदी पक्षमा बढेको जनमतको पछाडि हिन्दूहरूको दुखेको मनमा मोदीले हिन्दू पुनर्जागरणको सन्देश दिन सकेको विषयलाई बिर्सन मिल्दैन ।
ध्वस्त गरिएको मन्दिरलाई १७७० देखि १७९८ बीच इन्दौरकी रानी अहिल्या वाई होल्करले ज्ञानवापीसँगै विश्वनाथ मन्दिरको पुनर्निर्माण गरेको बताइन्छ । पञ्जावका राजा रणजीत सिंहले मन्दिरका लागि बाइस टन सुन चढाएको र सुनको जलप लगाइएका कारण काशी विश्वनाथ मन्दिरलाई गोल्डेन टेम्पल पनि भन्ने गरिएको छ ।
ग्वालियरकी महारानी वैजाबाईले ज्ञानवापी मण्डप र नेपालका राजाले विशाल नन्दी प्रतिमा स्थापना गरेको भन्ने इतिहासमा पाउन सकिन्छ ।
गंगा आरतीको समयमा अर्को सुन्दर र आकर्षक घाट ललिताघाटको पनि अवलोकन गर्न सकिन्छ । त्यो अवसरलाई हाम्रो यात्रा टोलीले पनि सदुपयोग ग¥यो । राजा रणबहादुर शाहकी रानी ललितत्रिपुरा सुन्दरी देवीको नाममा रहेको यो घाटको माथिल्लो भागमा पशुपतिनाथ मन्दिर रहेको छ, जसलाई स्थानीयहरू नेपाली मन्दिर र काठवाला मन्दिर भनेर चिन्दछन् । यो घाट वाराणसी रेल्वे स्टेसनबाट ३.८ किमी र मणिकर्णिका घाटबाट १०० मिटर दक्षिण पश्चिममा रहेको छ ।
राजा रणबहादुर शाह सन् १८०० देखि १८०५ सम्म स्वामी निर्गुणानन्दको नामबाट काशीमा निर्वासनमा बसेका थिए । उनी दाइ शेरबहादुर शाहबाट २५ अप्रिल १८०६ मा मारिए । अधुरो रहेको मन्दिरको काम गीर्वाण वीरविक्रम शाहले निर्धारित समयभन्दा बीस वर्ष पछाडि सम्पन्न गरे । काशी नरेशबाट रणबहादुर शाहका नाममा हस्तान्तरण भएको जमिन हाल नेपाल सरकारको नाममा रहेको छ ।
विन्ध्यवासिनी मन्दिर
बनारसबाट सत्तरी किलोमिटर र प्रयागराजबाट पचासी किलोमिटर दूरीमा पर्ने विन्ध्यवासिनी मन्दिर बनारस क्षेत्रको प्रसिद्ध मन्दिर हो । यसमा निष्ठापूर्वक भक्ति गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । च्याउझँै फैलिएको बस्ती विस्तारका कारण मन्दिरको रमणीयता कमजोर बन्दै गएको छ । मन्दिरमा चढाउने सामग्रीको व्यापारलाई आधार बनाएर बस्ती बढिरहेको छ । मन्दिर अर्थतन्त्रमा आधारित छ । सानो बस्तीमा फूल, नरिवल र सिन्दुर देवीमा चढ्ने भएकाले यस्ता सामग्रीका बिक्रेताको बहुल संख्या रहेको छ ।
मन्दिरका पण्डाले अनेक वहानामा रकम झार्ने प्रयत्न गर्ने भएकाले यिनीहरूबाट जोगिनु आवश्यक देखियो । लाइनमा बसेका भक्तालुहरूलाई पनि गर्भगृह सम्मुख जान नदिने, बीचमा रोकेर ठूलो रकम माग गर्ने, पैसा नदिए देवीको दर्शन नहीं करोगे भनेर भावनात्मक ब्ल्याक मेलिङ गरेर ठग्ने पण्डाहरूको व्यवहारले धर्मप्रतिको मानिसको आस्थालाई कमजोर बनाउन सक्ने खतरा देखियो । हाम्रो टोली लाइनमा बसेर मूर्ति छेउ पुगेपछि मूर्तिको सामनेबाट दर्शन गर्न पण्डाले रु. ३०० माग गरे । टोलीको अन्य सदस्यलाई पनि त्यसै गरिएछ । यो धर्म र पाप भन्ने विषय छ भने आस्थाले बनाएकी देवीको सम्मुखमा बसेर गरेको अधर्मको पाप तिनै पण्डालाई लागोस् भनेर हामीले सामुनेबाट दर्शन गर्न ३०० नदिने निर्णय गर्यौँ र गर्भगृह पुग्न बाँकी छँदैको स्थानबाट दर्शन गरेर फर्किएपछि बनारस तीर्थाटनको क्रमलाई बिट मारियो भन्दा पनि हुन्छ ।
त्यस बखतको नेपाल भन्ने किताबमा सरदार भीमबहादुर पाण्डेले त्यसबेला काशीमा मृत्यु हुँदा सिधै स्वर्ग गइन्छ भन्ने विश्वास भएकाले बिदाबारी गरेर पठाउने र आफूलाई पनि धर्म लागोस् भनेर काशी जाने मानिसलाई घरघरै पूजा गरेर एकछिन भए पनि सबैले बोकेर अलि परसम्म पुर्याउने र एक-दुई दिन सँगै गएर फर्केर आउने चलन थियो भनी उल्लेख गर्नुभएको छ । यसरी परम्परागतरूपमा नेपाली समाजमा आस्था बोकेको काशीबाट भोलि अप्रिल ६, २०२४ का दिन बिहान अर्को धार्मिकस्थल अयोध्यातर्फको यात्रा प्रारम्भ हुनेछ ।
यात्राको योजना सबै ठीकठाक जस्तै देखिए पनि सारनाथ, प्रयागराजलगायतका नजिकका क्षेत्र पनि समेट्न सकिएको भए सुनमा सुगन्ध थपिएको महसुस हुने रहेछ । यात्रा सफल बनाउन सहयोग गर्ने सबैलाई स्यावास भन्दै हाम्रो टोली बनारसका सबै आराध्य देवीदेउता, गंगा माता, जीवनदायिनी प्रकृतिसँग बिदा मागी अर्को गन्तव्यतिर उन्मुख भयो ।
क्रमशः







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts