काठमाडौं । चीनले नेपालका वामपन्थी दलहरूलाई विभाजन हुनुभन्दा मिलेर अघि बढ्न सुझाव दिएको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको प्रतिनिधिमण्डल सँगको भेटका क्रममा चीनको इन्टरनेसन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सिपिसी (आइडिसिपिसी)का प्रमुख लिउ चियानचाओले चीनले कम्युनिष्ट पार्टीहरू एक ठाउँमा उभिएको देख्न चाहेको धारणा राख्नुभएको हो । वामपन्थीहरू मिलेर गए एकताबाट नै मुलुक विकासको मार्गमा अघि बढ्न सक्ने उहाँको भनाइ थियो । चियानचाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी पार्टीहरूको सरकार बन्दा चीन उत्साहित भएको समेत उल्लेख गर्नुभयो । ‘हामी जहिले पनि वामपन्थी सरकार स्थिर होओस् भन्ने पक्षमा नै छौँ । यो नेपाली जनताको लागि पनि हितकर छ । वामपन्थी सरकार बन्नु भनेको नेपाल स्वर्णिम यात्रातिर अग्रसर बन्नु हो । वामपन्थी एकताबाट नै नेपालको विकास गर्न सकिन्छ ।’
सो अवसरमा उहाँले सिपिसी र माओवादी केन्द्रबीचको सम्बन्ध घनिष्ठ रहेको उल्लेख पनि गर्नुभयोे । उहाँले भन्नुभयो, ‘दुई देशबीचको सम्बन्ध त घनिष्ठ छ नै त्यसमाथि माओवादी केन्द्रबीच पनि हाम्रो मित्रवत् सम्बन्ध छ ।’
अमेरिकाप्रति लक्षित गर्दै उहाँले चीनलाई घेराबन्दीमा पार्न केही मुलुकले नेपालमा सहयोगमार्फत हात बढाइरहेको पनि जिकिर गर्नुभयो । सो कुरा चीनलाई सह्य नहुने बताउँदै उनले जसले जतिसुकै भाँजो हाल्ने कोसिस गरे पनि नेपाल र चीन बीचको सम्बन्ध परिवर्तन हुन नसक्ने धारणा राख्नुभयो ।
जवाफमा गुरुङले आफूहरू कुनै पनि प्रकारको अस्थिरता र द्वन्द्व निम्त्याउन खोज्ने तत्वप्रति सचेत रहेको प्रतिक्रिया दिनुभयो । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि उहाँको भनाइ थियो । ‘नेपालले स्थायित्व र पञ्चशील सिद्धान्तमा जोड दिन्छ’, उहाँले भन्नुभयोे, ‘विगतदेखि नै पश्चिमा शक्तिले नेपालमा प्रभाव जमाउन प्रयास गरे पनि हाम्रो पार्टी र सरकारले चेक एण्ड ब्यालेन्स गर्छ ।’ उहाँले प्रचण्ड नेतृत्वको सरकारले त्यो दिशामा महत्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनमा पनि खेल्ने बताउनुभयो । यस्तै, उनले आफूहरू वामपन्थी एकता र सरकारलाई निरन्तरता दिन प्रयासरत रहेको पनि बताउनुभयो । ‘वामपन्थी सरकारको निरन्तरता र एकतालाई विशेष जोड दिएका छौँ,’ उहाँले भन्नुभयोे । उहाँले नेपालमा चीनले गरेको सहयोग र बिआरआई सम्झौताप्रति ऐक्यबद्धता जनाउनुभएको थियो ।
सो अवसरमा चियानचाओले नेपाली पक्षले चीनको लगानीका लागि ठोस परियोजना प्रस्तुत नगरेको प्रति गुनासोसमेत गरेका थिए । नेकपा माओवादी केन्द्रका दुई दर्जन नेता बुधबार चीन प्रस्थान गरेका थिए । महासचिव देव गुरुङको नेतृत्वमा अमृता थापा, परशुराम तामाङ, कमला रोका, अगष्तराज अधिकारी, विकास ढकाल, देवकी कार्की र विमला केसी लगायतका व्यक्तित्वहरू त्यहाँ गएका हुन् । वैशाख १५ गतेसम्म चीनमा रहने टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिव गुरुङका स्वकीय सचिव नवराज थापासहित पाँच जनाले बिदाई गरेका थिए । उनीहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले निम्तो दिएको हो । टोली बेइजिङ, माओको जन्मथलो हुनान, क्वेइचौ, खुन्मिङ हुँदै फर्कनेछ । माओवादी केन्द्रका नेताहरूले चिनियाँ कम्युनिष्ट पार्टीसँग आफ्नो भाइचारा सम्बन्ध रहेको बताउने गरेका छन् । पछिल्ला वर्षहरूमा माओवादी प्रतिनिधिमण्डल चीनको भ्रमणमा पटक-पटक गएको पाइन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts