कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका-१ कोडबाडामा रहेको बहुचर्चित एकमात्र सुनथराली विमानस्थल उद्घाटन भएको डेढ महिना पुग्दा पनि नियमित उडान हुन सकेको छैन । ३८ वर्षपछि निर्माण सम्पन्न भएको सुनथराली विमानस्थलको गत फागुन १४ गते उद्घाटन भएको थियो । विमानस्थल उद्घाटन हुँदा कालीकोटबासीले जहाज चढ्ने सपना पूरा हुने भयो भन्दै खुसी व्यक्त गरेका थिए । ०४२ सालदेखि निर्माण सुरु भई बीचमा गौचरन बनिसकेको यहाँको एकमात्र सुनथराली विमानस्थलको फागुन १४ गते तत्कालीन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तामझामका साथ उद्घाटन गर्नुभएको थियो ।
फागुन १३ गते तारा एयरको विमान अवतरण गरेर दोस्रोपटक परीक्षण उडान सफल गरेपछि सोमबार १४ गते तत्कालीन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, नागरिक उड्डयनमन्त्री किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरणपछि विमानस्थलको उद्घाटन गरिएको थियो ।
सुनथराली विमानस्थलको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले लामो समयपछि निकै मिहिनेत र कठिन परिस्थितिका बाबजुद विमानस्थलको उद्घाटन गरेको बताउनुभएको थियो । विमानस्थल निर्माणका क्रममा मारिएका एक नाबालकसहित ३५ जना धादिङ जोगिमाराका मजदुरप्रति उहाँले श्रद्धाञ्जलीसमेत व्यक्त गर्नुभयो ।
विमानस्थलको उद्घाटन भएसँगै अब आवश्यकताअनुसार नियमित उडानका लागि स्थानीय, प्रदेश र संघ सरकारले काम गर्ने उहाँको प्रतिबद्धता थियो । उहाँले कालीकोटबासीको प्रदेश राजधानी सुर्खेतसँगको सम्बन्ध थप मजबुत भएको बताउनुभएको थियो ।
कर्णाली प्रदेशको विकासका लागि सबै राजनीतिक दल एकताबद्ध भएर लागेको खड्काले बताउनुभएको थियो । उहाँले विमानस्थल सञ्चालनका लागि सबै ऐक्यबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको भए पनि उद्घाटन भएको डेढ महिना हुन लाग्दा पनि पुनः विमान फर्किएको छैन ।
विमानस्थल उद्घाटनका अवसरमा तत्कालीन नागरिक उड्डयनमन्त्री किराँतीले हप्ताको एकपटक यात्रुको चाप हेरेर उडान भर्ने प्रतिबद्धता जनाउनुभएको थियो । ‘कोटबाडामात्र नभएर अहिले कर्णालीका जिल्लामा नियमित उडान हुन सकेको छैन । यस्तो अवस्थालाई हेरेर हप्ताको एकपटक नियमित उडान भर्छौँ,’ किराँतीले भन्नुभएको थियो । साथै सबै प्रदेशमा नेपाल एयरलाइन्सको एक–एक जहाज दिने उहाँको उद्घोष थियो ।
०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटबासीको ‘चिलगाडी’ चढ्ने सपना पूरा हुन सकेको थिएन । ०७३ माघमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराए पनि त्यसपछि जहाज आएको थिएन ।
कहिले स्थान छनोटको विवाद, कहिले बजेट अभाव त कहिले सशस्त्र द्वन्द्वको असरले कामले गति लिन नसकेको कोटबाडा विमानस्थल पछिल्लो समयमा पिच भएर उद्घाटन भइसक्दा पनि नियमित उडान हुन नसकेको हो ।
स्थानीय छैनन् आशावादी
विमानस्थल उद्घाटन भए पनि नियमित उडान हुनेमा स्थानीय अझै आशावादी देखिएका छैनन् । पटक–पटक उद्घाटनको आशा जगाएर विमानस्थल सञ्चालनमा आउन नसक्दा स्थानीय निराश छन् ।
३७ वर्ष विमानस्थल बन्न र थप एक वर्ष उद्घाटनमा लाग्दा बल्लतल्ल ३८ वर्षपछि विमानस्थल उद्घाटन भयो तर नियमित हवाई उडान हुन्छ भन्नेमा कालीकोटबासी कत्ति पनि भरमा छैनन् । उद्घाटनमा पर्यटनमन्त्रीले उद्घोष गर्दा हप्तामा एक–पटक भए पनि जहाज उडान हुन्छ भनेपछि केही नागरिक आशामा थिए तर उद्घाटनको डेढ महिना भइसक्दा पनि जहाज नफर्किपछि आफूहरू भ्रममा रहेको स्थानीय बताउँछन् ।
हुन पनि अझै साबिक कर्णालीका चार जिल्ला प्रदेश राजधानी सुर्खेतसँगको सिधा हवाई सेवाको पहुँचबाहिर छन् । २०७४ अघि साबिक कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा सुर्खेत विमानस्थलबाट नियमितरूपमा हुँदै आएका उडानहरू त्यसयता नेपालगञ्जबाट हुँदै आएका छन् । जसले हवाई सेवा प्रयोग गरी प्रदेश राजधानी आउन लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनुपर्ने बाध्यतामा नागरिकहरू छन् ।
काठमाडौं-सुर्खेत सिधा हवाई उडान हुने विमानस्थलमा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको कार्यालयसमेत सुर्खेतमा छैन । अझ नेपाल वायुसेवाले सुर्खेत विमानस्थल भएर कर्णालीका कुनै पनि जिल्लामा हालसम्म एउटा पनि उडान भरेको अवस्था छैन । यस्तै, यस सुनथराली विमानस्थल निर्माणको सुरुवात २०४२ सालबाट गरिएको थियो । तत्कालीन जिल्ला विकास समितिले विमानस्थल निर्माणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, देशमा चलेको सशस्त्र द्वन्द्वले विमानस्थललाई अघि बढ्न भने दिएन । द्वन्द्वको चपेटामा पर्दा विमानस्थल निर्माण कार्यमा निकै सुस्तता आयो । २०६३ मा माओवादी र राज्य पक्षबीच शान्ति सम्झौता भएपछि मात्र विमानस्थल निर्माणले गति लिएको थियो । यस्तै, बारम्बार यस विमानस्थलमा परीक्षण उडानसमेत गरिएको थियो ।
विमानस्थलमा ६४० मिटरको धावनमार्ग निर्माण गरिएको छ । भौगोलिकरूपमा विकट यो जिल्लामा हवाई सेवा एकमात्र भरपर्दो विकल्प हो । तर, विमानस्थल उद्घाटन हुँदा पनि हालसम्म उडान सुरु नहुँदा कालीकोटबासीलाई असहज भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा