खोटाङ । खोटाङमा एकैपटक कराते, खुल्ला म्याराथन, गायन र साहित्यिक प्रतियोगिता हुने भएको छ । ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गितिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत कराते, खुल्ला म्याराथन, गायन र साहित्यिक प्रतियोगिता हुने भएको हो ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा आगामी बैशाख ३१ गतेदेखि १० जेष्ठसम्म दिक्तेलबजारमा बृहत महोत्सव गर्ने तयारी गरिएको बुधबार दिक्तेलबजारमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।
महोत्सव अन्तर्गत राष्ट्रिय कराते प्रतियोगिता ८ जेष्ठदेखि १० जेष्ठसम्म बहुउद्देश्य कबर्डहल माटिकोरेमा हुनेछ । कराते प्रतियोगितामा सात प्रदेश, सोतोकान कराते, गोजोरियो कराते, वादोरियो कराते र आयोजकको सहभागिता हुनेछ। कराते प्रतियोगिताका लागि कुनै शुल्क लाग्ने छैन।
करातेमा टिम प्रथम हुनेले एक लाख ११ हजार १११, दोश्रो हुनेले ५५ हजार ५५५, तेश्रो हुनेले ४४ हजार ४४४, चौथो हुनेले २२ हजार २२२, उत्कृष्ट पुरुष र महिला खेलाडी एक–एक जनाले जनही २२ हजार २२२ रुपैयाँ र उत्कृष्ट व्यवस्थापनले ११ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र पाउनेछन्। कराते खेलाडीलाई आवास, खाना, खाजा र पानीको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
खुल्ला महिला पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो हुने महिला पुरुषले क्रमशः ७५ हजार, दोश्रोले ५० हजार, तेश्रोले २५ हजार, चौथोेले १५ हजार, पाँचौले १० हजार, छैटांैले सात हजार र सातौंले पाँच हजारका साथमा ट्रफि र प्रमाणपत्र पाउनेछन् । हाफ म्याराथन र १० किलोमिटर माथिका दौडा प्रतियोगितामा ५५५ रुपैयाँ सहभागिता शुल्क लाग्नेछ ।
यस्तै,छात्रछात्रा १२ वर्षमुनिको १६०० मिटर दौडमा प्रथम हुने छात्रछात्राले क्रमशः जनही तीन हजार, दुई हजार र एक हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन । ६० वर्षमाथि पुरुषको १६०० मिटर दौडमा प्रथम, दोश्रो, तेश्रो हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार पाउनेछन् । आमाहरुको ३ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। छात्रछात्राको १२ वर्षदेखी १५ वर्षमुनिको ५ किलोमिटर दौडमा प्रथम हुने छात्रछात्राले क्रमशः सात हजार, दोश्रोले छ हजार, तेश्रोले पाँच हजार र १५ वर्षमाथिको खुल्ला महिला पुरुष १० किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, १० हजार र सात हजार प्राप्त गर्नेछन् ।
३५ वर्ष भन्दा माथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक र व्यवसायीहरुको ७ किलोमिटर दौडमा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार तेश्रोले सात हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका सचिव मिलन कसजुले जानकारी दिनुभयो। नेपाल एथलेटिक्स परिवार नेपाल र एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने हाफ म्याराथन र दौड बैशाख ३१ गतेदेखि जेष्ठ १ गतेसम्म हुनेछ । १० किलोमिटर भन्दा तलका दौडमा ३३३ रुपैयाँ सहभागिता शुल्क लाग्नेछ ।
टेम्के तुवाचुङ साहित्यिक प्रतिष्ठान र रावासावा प्राज्ञिक नेपालको सह आयोजनामा जेष्ठ ३ गते कबर्डहल माटिकोरेमा हुने राष्ट्रिय कविता लेखन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौं हुनेले क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र सात हजार प्राप्त गर्नेछन् । कविता लेखन प्रतियोगितामा भाग लिन ५५५ रुपैयाँ शुल्क तोकिएको छ ।
खोटाङ कलाकार समाजको सह–आयोजनामा जेष्ठ ६ गते हुने १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ हुनेले क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र सात हजार प्राप्त गर्नेछन् । गायन प्रतियोगिताका लागि ५५५ रुपैयाँ शुल्क तोकिएको छ ।
प्रतिष्ठानका सह–सचिव मोतिचन्द्र राईका अनुसार राष्ट्रिय कराते प्रतियोगिता गराउनलाई ३६ लाख ८७ हजार ७७६ रुपैयाँ, एथलेटिक्स(हाफ म्याराथन,समूहगत दौड प्रतियोगिता) गराउनलाई १० लाख २० हजार ५०० र राष्ट्रिय कविता लेखन र गायन प्रतियोगिता गराउनलाई ५ लाख वजेट लाग्ने अनुमान गरिएको छ । आवश्यक वजेट स्थानीय सरकार समक्ष माग गरिरहेको र चन्दा संकलन भईरहेको छ ।
जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन र विभिन्न खेलक्षेत्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यले बृहत महोत्सव गर्न लागिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए ।
जिल्लाको हितका लागि हुन लागेको महोत्सवलाई सफल बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट खुलेर सहयोग गर्न अध्यक्ष राईले आग्रह गर्नुभयो।
जिल्लामा हुने प्रतियोगिताहरुमा लैङ्गिक भेदभाव छुट्याउँदै पुरस्कार राशीमा समेत भेदभाव भईरहंदा महोत्सवका सबै प्रतियोगितामा महिला पुरुषको पुरस्कार समान राखिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts