सर्लाही । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत सर्लाहीमा यो वर्ष ८ लाख भन्दा बढी व्यक्तिलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको छ ।
स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीले जिल्लाका २० वटा पालिकामा ८ लाख २४ हजार ६७१ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको जानकारी दिएको हो ।
यही वैशाख १६ गतेदेखि २९ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले बताउनु भयो ।
आज सदरमुकाम मलंगवास्थित स्वास्थ्य कार्यालयमा हात्तीपाइले रोगको औषधि सेवन अभियानको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रादेशिक अस्पताल मलंगवामा निमित्त मेडिकल सुपरिटेन्डेन्ट समेत रहनुभएको स्वास्थ्य कार्यालय प्रमुख डा. झाले आ–आफूले औषधि सेवन गरेर यो अभियानलाई सफल बनाइदिन पत्रकारमार्फत सबैसँग आग्रह गर्नुभयो ।
हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, सिकिस्त बिरामी, अस्पताल भर्ना भएका बिरामी र जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामी र मिर्गौला रोगको लागि डायलाइसिस गरिरहेका बिरामीले सेवन गर्न हुँदैन । गाउँ, बस्तीमा एक व्यक्तिले औषधि नखाइदिँदा अन्य व्यक्तिमा संक्रमित लामखुट्टेको टोकाईबाट हात्तीपाइले सार्ने जोखिम हुने भएकाले आफू र आफ्ना छरछिमेकी सबैलाई औषधि खान प्रोत्साहन गर्नुपर्ने चिकित्सकको भनाई छ । हात्तीपाइले रोगविरुद्ध आइभरमेक्टिन, डाइइथाइल कार्वामाजिन र अल्बेन्डाजोल गरी तीनप्रकारका औषधि प्रयोग हुन्छन् ।
अभियानका लागि जिल्लाभर ५२५ जना स्वास्थ्यकर्मी र १ हजार ३५६ महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ । औषधि खुवाउने अभियानभर प्रत्येक क्षेत्रमा डाक्टर समेत परिचालन गर्ने स्वास्थ्य कार्यालयको योजना छ ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाले हात्तीपाइलेविरुद्धको औषधि खाएपछि केही व्यक्तिमा ज्वरो आउने, वान्ता हुने, रिंगटा लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने बताउनु भयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता