काठमाडौं । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटिटिएच) सेवा विस्तार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।
डोल्पा यस्तो सेवा प्राप्त गर्ने ७५औँ जिल्ला बनेको छ । मुगुमा हाल जडान भइरहेको छ भने हुम्लामा आगामी वर्ष जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ । थप दुई जिल्लामा सेवा विस्तारसँगै ७७ वटै जिल्लामा उच्च गतिको इन्टरनेट सेवा विस्तार हुनेछ । दूरसञ्चार सेवा आर्थिक व्यापारसँग पनि जोडिने र दुर्गममा सेवाग्राही थोरै हुने भएकाले लगानीअनुसारको प्रतिफल नहुने भए पनि नागरिकको बसोबास हुने सबै ठाउँमा सेवा विस्तार गर्ने राज्यको दायित्व भएकाले दुर्गमको सेवा विस्तारमा जोड दिइएको मन्त्री शर्माले बताउनुभयो ।
सेवा विस्तारसँगै सेवाग्राहीलाई सन्तुष्ट बनाउने गरी काम गर्न नेपाल टेलिकमको उच्च व्यवस्थापनलाई आग्रह गर्दै उहाँले सेवाग्राहीको गुनासो सुनुवाइका लागि टेलिकममा बिहान सातदेखि साँझ सात बजेसम्म मर्मतसम्भारका काम गर्ने गरी नीतिगत निर्णय गराइएको जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले सूचना तथा प्रविधिको युगमा निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा पुग्नु सरकारको दायित्व भएको बताउनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts