खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सञ्चालन गरिरहेको हेल्लो डाक्टर कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
गाउँपालिकाभरीका सात वडाका नागरिकलाई घर–घरमै पुगेर स्वास्थ्य सेवा र परामर्श दिने उद्देश्यले चालू आर्थिक वर्ष २०८०/०८१ को गता भदौ १ गतेबाट सुरु भएको ‘हेल्लो डाक्टर’ कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
‘हेल्लो डाक्टर’ कार्यक्रमभित्र पाँचजना स्वास्थ्यकर्मी छन् । ती पाँचजना स्वास्थ्यकर्मीको नाम, फोन नम्बर र गाउँपालिकाको कुन–कुन भुगोलमा काम गर्ने भनेर हाते ब्रसुर बनाईएको छ । हाते ब्रुसर गाउँपालिकाभित्रका सातै वडाका नागरिकको घर–घरमा पु¥याईएको छ ।
लडेर घाईते भएका, रुघाखोकी लागेका, झाडापखाला लागेका, टाउँको दुखेका, स्लाइन दिनुपर्ने अवस्था लगायत स्वास्थ्यमा समस्या आई विरामी परेकाहरुले हाते ब्रुृसरमा भएको नम्बरमार्फत हेल्लो डाक्टरका स्वास्थ्यकर्मीलाई फोन सम्पर्क गर्नुपर्ने हुन्छ । लगत्तै स्वास्थ्यकर्मी घरमै आएर विरामीको उपचार गर्ने र परामर्श दिने गर्छन् ।
हेल्लो डाक्टर कार्यक्रम अन्तर्गत बतासे र छोरम्बुका लागि हेल्थ असिस्टेन्ट रमेश कुमार यादव, छितापोखरी र स–छितापोखरीको माथिल्लो भूगागका लागि अहेव गोविन कटुवाल, याम्खा र टेम्मालाई अहेव कैलाश खत्री, गाउँपालिकाबाट आवश्यकता अनुसार समन्वयका लागि अहेव सुरेश प्रधान र अहेव बलराम मगरलाई टिममा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरी बताउनुभयो ।
संयोजक मन्सुरीका अनुसार हेल्लो डाक्टर’का स्वास्थ्यकर्मीले प्रेसर जाँच, वाफ लगाउने, टाका लगाउने, स्लाइन दिने, शरीरमा अक्सिजनको मात्रा हेर्ने यदि दिनुपर्ने भए दिने, औषधि वितरण जस्ता स्वास्थ्य सेवा दिने र परामर्श दिने गरिन्छ ।
हेल्लो डाक्टरका स्वास्थ्यकर्मीले घरमा उपचार गर्ने र घरमा उपचार संम्भव नभए ओख्रेमा अवस्थित आधारभूत अस्पतालमा विरामीलाई पठाउने गरेका छन् । आधारभूत अस्पतालमा पनि उपचार संम्भव नभए मात्रै बाहिर रिफर गरिने संयोजक मन्सुरीले बताउनुभयो ।
हेल्लो डाक्टर कार्यक्रममा आवश्यक पर्ने मेशिनरी औजार खरीद, औषधि खरीद र आधारभूत अस्पताललाई मेडिकल अधिकृत एकजना डाक्टर, एकजना ल्याब असिष्टेन्ट र एकजना स्टाफ नर्सलाई तलब दिनेगरी ३० लाख बजेट छुट्याईएको छ ।
हेल्लो डाक्टर कार्यक्रममा खटिरहेका अहेव सुरेश प्रधानका अनुसार भदौ १ गतेदेखि हालसम्म एक हजार ४२० जनाको उपचार गरिएको छ । त्यसमा ८०९ जना महिला र ६११ जना पुरुषको उपचार गरिएको हो । मुख्यतः सबैभन्दा बढी टाईफाईडका १०५ जना, ग्यास्ट्रिकका ८८ जना, छाती दुखेका ५९ जना, ज्वरोका ११६ जना, पखला लागेका ३८ जना, रुघाखोकी लागेका ५१ जना, लुतोका ४४ जना र घाउँटाकाका ५४ जनाको उपचार गरिएको छ ।
तत्काल स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्ने अवस्थाका गम्भीर र आकस्मिक स्वास्थ्य समस्या भएमा घरमै आकस्मिक स्वास्थ्य सेवा तथा परामर्श सेवा दिनलाई ‘हेल्लो डाक्टर’ कार्यक्रम कार्यान्वयनमा ल्याईएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
“हेल्लो डाक्टरका स्वास्थ्यकर्मीले घर–घरमा जाँदा उपचार संम्भव नभए उहाँहरुले आधारभूत अस्पतालमा विरामीलाई पठाउनु हुन्छ । आधारभूत अस्पतालमा पनि उपचार संम्भव नभए मात्रै विरामीलाई जिल्ला अस्पताल वा गाईघाट रिफर गरिन्छ ।” अध्यक्ष राईले भन्नुभयो ।
आधारभूत अस्पतालमा एकजना मेडिकल अधिकृत डा.मन्दीप उप्रेती, ल्याब असिष्टेन्ट जेनिशा राई र एकजना स्टाफ नर्स कार्यरत छन् । अस्पतालमा प्रत्येक बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ओपिडी सेवा र २४ सैं घण्टा आकस्मिक सेवा हुने गरेको छ । मेडिकल अधिकृत डा.उप्रेतीका अनुसार अस्पतालमा ल्याव सेवा अन्तर्गत रगत, खकार, दिसापिसाब, एचआइभी एड्सको जाँच हुनेछ । गर्भवती महिलाले लिने सेवा सुविधा उपलब्धसँगै मौसमी विरामीहरुको उपचार हुनेछ ।
हेल्लो डाक्टर कार्यक्रम निक्कै प्रभावकारी भईरहेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका स्थानीय एवंम् नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य केशव कार्कीले बताउनुभयो। “मेरो छिमेकी चन्द्र बिक दम रोगका कारण निक्कै सिकिस्त विरामी भएको खबर पाए लगत्तै आधा घण्टामा आएका स्वास्थ्यकर्मी सुरेश प्रधानले आवश्यक जाँच, औषधी उपचार र परामर्श गरेपछि विरामीको अवस्था सुधार गएको छ । धन्यवाद, स्वास्थ्यकर्मी ज्यु” कार्कीले स्वास्थ्यकर्मी घरमै आएर उपचार गरिरहेको तस्विर फेसबुकमा राखेर खुशी साट्नुभएको छ ।
हेल्लो डाक्टर कार्यक्रम अन्तर्गत घरमै पुगेर विरामीको उपचार गर्दै स्वास्थ्यकर्मी । तस्विर सौजन्य : सुरेश प्रधान






