पेचिलो बन्दै एमाले जिल्ला कमिटी खोटाङको अधिवेशन

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 8 mins

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङको आँठौ जिल्ला अधिवेशन आगामी चैत २८ र २९ गते दिक्तेल बजारस्थित बहुउद्देश्य कभर्डहल माटिकोरेमा हुदैछ ।

अधिवेशन सम्पन्न गर्न एमालेले मूल आयोजक कमिटी र उप-समितिहरु गठन गरी कार्य विभाजन गरिसकेको छ । २४ चैतमा सम्पूर्ण वडाबाट एकैदिन प्रतिनिधि छनोटको तयारीमा एमाले युद्धस्तरमा लागेको छ ।

नविकृत ५ हजार १२७ जना पार्टी सदस्यबाट वडाको २० सदस्यबाट ३ जना प्रतिनिधि तथा २० सदस्यभन्दा माथि ९५ सदस्य बराबर १ जना प्रतिनिधि थप गर्दै लगिनेछ । ९५ सदस्यदेखि माथि जतिसुकै भए पनि प्रत्येक २० सदस्य बराबर १ जना प्रतिनिधि थप गरिने र दलित संगठीत सदस्यहरुलाई पालिका भुगोल मानि प्रत्येक ५ सदस्य बराबर १ प्रतिनिधिको व्यवस्था गरिएको छ ।

यसो हुँदा करीव ५५० जना प्रतिनिधिले अधिवेशनमा भाग लिनेछन् । यी प्रतिनिधिले नै एमालेको आगामी तीनवर्षे कार्यकाललाई नेतृत्व चयन गर्नेछ ।

आँठौ जिल्ला अधिवेशनपछि खोटाङ एमालेको नेतृत्व हाक्नलाई वर्तमान अध्यक्ष राम प्रसाद दंगालर वर्तमान उपाध्यक्ष देव विक्रम राई आकाँक्षी देखिनु भएको छ । दंगाल र राईलाई अहिले नेता, कार्यकर्ता भेटघाटदेखि फोन घुमाउन भ्याईनभ्याई छ ।

वर्तमान अध्यक्ष दंगालले सहमतिमा नेतृत्वको टुंगो लगाइने र सकिँदै नसकिए मात्रै निर्वाचन प्रक्रियामा जाने चैत १३ गतेको पत्रकार सम्मेलनमा बताईसक्नु भएको छ । श्रोतका अनुसार दंगाल जसरी पनि अध्यक्ष दोहाेर्‍याउने पक्षमा देखिनु भएको छ ।

वर्तमान उपाध्यक्ष तथा अध्यक्षका आकाँक्षी राईले सबै नेताहरु एकातिर लागे पनि अध्यक्षमा चुनाव लड्ने बताउनुभएको श्रोतले बतायो । सर्वसम्मत भए पनि चुनाव लडेर भए पनि अध्यक्ष हुने दाउमा राई रहनुभएको छ ।

चैत १३ गतेको पत्रकार सम्मेलनमा राईले आफूले क्लास नदोहाेर्‍याउने बताईसक्नु भएको छ । अध्यक्षमा सहमति भए अन्य पदाधिकारी पनि सहमतिमै टुङग्याईने नत्र निर्वाचनमै जाने राईले अडान राख्नुभएको छ ।

श्रोतका अनुसार दंगाललाई एमाले केन्द्रीय सदस्य रमेश पौडेल, उषाकला राई, खगेन्द्र राई लगायतको समर्थन छ भने राईलाई एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराईलगायतका केही प्रदेश सदस्यहरुको समर्थन छ । पूर्व पार्टी प्रमुखहरु कर्ण घले, हरि पोखरेल र पूर्वमन्त्री एवंम् कोशी प्रदेश सदस्य पिके राई हाललाई साझा देखिए पनि दंगाललाई समथर्न गर्ने श्रोत बताउँछ ।

ADVERTISEMENT

श्रोतका अनुसार उपाध्यक्षमा सचिवालय सदस्य उपिन कुमार राई र वर्तमान सचिव कुमार आचार्यको प्रतिस्पर्धा हुने देखिएको छ। सचिवमा वर्तमान उपसचिव सुरेन्द्र कुमार राई मात्रै आकाँक्षी छन् ।

ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष एवंम् सचिवालय सदस्य गिरेन्द्र बहादुर राई, दिक्तेल नगरपालिका नगर इन्चार्ज एवंम् सचिवालय सदस्य कमल ढकाल, खोटेहाङ इन्चार्ज एवंम् सचिवालय सदस्य राजन बन्जारा, गोपी खड्का, दिलचक्र राई, कविता राई, गोमा मगर र जिल्ला सदस्य पुर्णकला तामाङ उपसचिवमा आकाँक्षी छन्।

एमालेका एक नेताले अधिवेशन सहमतिमा भन्दा प्रतिस्पर्धा(चुनाव)हुनु न्यायपूर्ण हुने बताउनुभयो । “चुनाव हुनुपर्छ अनि पो कार्यकर्ताले नेता चुन्छ, हार्नेले कमजोरी सुधार्छ । सहमतिमा त हामीजस्ता नेताले कहिले मौका पाउने प्रेसर, सुगर रोगले ग्रस्त पार्ने उमेरमा ?” ती नेताले भन्नुभयो ।

एमालेकै नेताहरु यो अधिवेशन कडा हुने बताईरहेका छन् । ‘सहमति गर्दा पहिलेकै टीम दोहाेर्‍याउनु पर्छ । तर, अन्य नेताहरुले पार्टीमा स्पेस पाउँदैन । चुनाव हुँदा अहिलेका केही आकाँक्षी नै ब्याग जाने पनि देखिन्छ ।’ ती नेताले भन्नुभयो, “सहमति भन्दा चुनाव नै हुने छाँटकाँट छ ।”

अधिवेशन सहमतिमा अथवा चुनावमा जाने र कसले जित्ने संकेत प्रतिनिधि छनोटले निर्धारण गर्ने एक नेताले बताउनुभयो । वडामा प्रतिनिधि छनोटमासमेत आफ्नो मान्छे ल्याउने र अर्कोको फाल्न रस्साकस्सी हुने उहाँको भनाई छ ।

आँठौ अधिवेशन विशाल भट्टराई भर्सेस उषाकला राई/रमेश पौडेलबीचको हो ? भन्ने प्रश्नमा केन्द्रीय सदस्य उषाकला राईले सबैजना अब्बल भएको र यो र त्यो भन्ने केही नभई पार्टीको आन्तरिक एकता मजबुतका लागि अधिवेशन भएको बताउनुभयो ।

विशाल भट्टराई भर्सेस रमेश पौडेल/उषाकला राईबीचको आँठौ अधिवेशन हो ? भन्ने प्रश्नमा केन्द्रीय सदस्य रमेश पौडेलले अधिवेशन कसै भर्सेस नभएर न्यायको पक्ष र मिसन ८४ मा जिल्लाको दश स्थानीय,संघ, प्रदेश जित्ने ध्येयको अधिवेशन भएको बताउनुभयो । अर्का केन्द्रीय सदस्य खगेन्द्र राईलाई सम्पर्क गर्दा फोन उठेन ।

अधिवेशन सहमतिमा गराउन अन्तिमसम्म सम्पूर्ण प्रयास गरिने त्यति गर्दा पनि नभए स्वस्थ्य र मर्यादित प्रकारको मित्रतापूर्ण प्रतिस्पर्धा हुने पोलिटव्युरो सदस्य विशाल भट्टराईले बताउनुभयो । यो अधिवेशन तपाई भर्सेस रमेश पौडेल/उषाकला राईको हो भन्छन नि भन्ने प्रश्नमा, भट्टराईले कसैसँग लडाई नभएको बताउनुभयो ।

‘कसैसँग मेरो लडाई छैन, एउटै कुरामा मेरो लडाई छ त्यो भनेको खोटाङमा एमाले किल्लाको रुपमा रहनुपर्छ,सधै बलियो रहनुपर्छ, सधै विजयी भावमा अगाडी बढ्नुपर्छ, अपराजित ढंगले अघि बढ्नुपर्छ भन्ने बाहेक अरु केही, कसैसँग लडाई छैन ।’ भट्टराईले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज