गुल्मी । गुल्मीमा कलकारखानामा काम गर्ने श्रमिकहरुको आँखा जाँच गरिएको छ । ४६ औं नेत्रज्योति दिवसको अवसरमा तम्घासमा श्रमिकहरुको आँखा जाँच गरिएको हो । “हाम्रो कर्तव्य, हाम्रो जिम्मवारी आँखा सेवामा साझेदारी” भन्ने नारासहित नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको आयोजनामा विभिन्न कलकारखानामा काम गर्ने श्रमिकहरुको आँखा जाँच गरिएको छ । विभिन्न कारखानामा काम गर्ने ६४ जना श्रमिकहरुको आँखा जाँच गरिएको आँखा उपचार तथा शल्यक्रिया केन्द्रका नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिनुभयो ।
नेपाल औषधि व्यवसायी संघ गुल्मीले कारखानामा काम गर्ने श्रमिकहरुलाई आँखाको सुरक्षाका लागि नि:शुल्क कालो चस्मा वितरण गरेको छ । तम्घासस्थित आकाश मेडिको फर्माले नि:शुल्क औषधि वितरण गरेको हो ।
त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले मानवीय जीवनमा सबैभन्दा महत्त्वपूर्ण आँखा रहेको बताउनुभयो । उहाँले आफु निर्वाचित भएर आइसकेपछि नगरपालिकाको कार्यपालिकाबाट निर्णय गरी नगरभित्रका नागरिकहरुको आँखाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गर्ने कार्यको प्रारम्भ गरेको बताउनुभयो । जिल्लाका अन्य पालिकाले पनि यसमा सहकार्य गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले जिल्लाका सबै पालिकाले यो कार्यलाई आत्मसाथ गर्न सके धेरै नागरिकहरु लाभान्वित बन्न सक्ने बताउनुभयो ।
यस जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नेत्रज्योति संघले जिल्ला र ग्रामीण क्षेत्रसम्म पुगेर पुर्याइरहेको सहयोगको प्रशंसा गर्दै मानवीय जीवनको महत्वपूर्ण अंग आँखा र आँखाको सुरक्षाका लागि गरेको कार्य विपद् जोखिमसँग पनि जोडिएकाले यो संस्थाले सामाजिक कार्यमा समेत ठुलो योगदान पुर्याएको बताउनुभयो ।
संस्थाका लुम्बिनी प्रदेश उपसभापति शेर बहादुर थापाले नेत्रज्योति संघले ९० प्रतिशत सेवा पुर्याइरहेको बताउनुभयो । ‘अन्य रोगहरु लागे हामी यहाँबाट उपचारका लागि भारत लगायतका अन्य देशमा जाने गर्दछौ । तर आँखा उपचारका लागि विदेशबाट नागरिकहरु यहाँ आउने गरेका छन् ।’ आँखा क्षेत्रमा नेपाल नेत्र ज्योति संघ एसियामै उत्कृष्ट सेवा दिन सफल भएको थापाको भनाई छ ।
नेपाल नेत्रज्योति संघ गुल्मीका सभापति अखिलेश्वर प्रसाद पाण्डेले जिल्लामा रहेको आँखा उपचार केन्द्र तथा शल्यक्रिया केन्द्रलाई सेकेण्डरी आँखा अस्पतालको रुपमा विकास गरी जिल्लामै नेत्ररोग बिशेषज्ञ डाक्टरको व्यवस्था गरी अर्घाखाँची र प्युठानसम्म नागरिकहरुलाई सेवा पुर्याउने उदेश्य रहेको बताउनुभयो । उहाँले अहिले जिल्लामा पाल्पाबाट नेत्ररोग बिशेषज्ञ डाक्टर बोलाएर मोतियाबिन्दुको शल्यक्रिया गर्ने गरिएको बताउनुभयो । अहिले जिल्लामा वार्षिक नेपाल नेत्रज्योति संघ मातहतका पाँचवटा आँखा उपचार केन्द्रहरुका माध्यमबाट वार्षिक रुपमा ३४ हजार जनाको आँखाको उपचार गर्दै आएको बताउनुभयो । भने वार्षिक रुपमा पाँच सय जनाको शल्यक्रिया गर्दै आएको उहाँले बताउनुभयो ।
यस जिल्लामा पाँच वटा पालिकाहरुसँग निःशुल्क मोतियाबिन्दुको शल्यक्रियाका लागि सम्झौता गरिएको छ । नेपाल नेत्रज्योति संघ अन्तर्गत जिल्लातहमा पाँच वटा आँखा उपचार केन्द्र रहेका छन् । जिल्लामा जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र, जिल्लाबाहिर चन्द्रकोट, वामीटक्सार, मदानेको पुर्कोट, सिमलटारीमा आँखा उपचार केन्द्र रहेका सचिव पदमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts