खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङको तथ्याङक अनुसार गएको बैशाख १ गतेदेखि चैत ७ गतेसम्म जिल्लाको विभिन्न ५३ स्थानमा रहेको सामुदायिक वनमा डढेलो लागेको छ ।
डढेलोबाट १७ वटा घर, २६ वटा गोठ, ८९ वटा चौपाया र १५ वटा कुखुरा जलेर नष्ट भयो । जसका कारण १ करोड २१ लाख १६ हजार ५०० रुपैयाँको क्षति भयो । डढेलोले वन कुहिरीमण्डल हुँदा संयोगवस चैत ७ गते रातिबाट आकाशे पानी पर्यो । पानीले डढेलो निभाउनमा ठूलो मद्दत गरेको थियो । पानी पर्नुभन्दा अगाडी वनमा लागेको डढेलो निभाउनमा जनपथ प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित प्रहरीलाई भ्याईनभ्याई थियो ।
वनमा डढेलो लगाउनेलाई पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ खोटाङले जोडदार माग गरेको छ । सम्पूर्ण उपभोक्ताहरुले तीन दशक लामो अथक प्रयत्नबाट संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गरेको वन सम्पदा छिनभरमै खरानी बनाउने घोर अपराधी कोहि न कोहि हुने भएकाले पहिचान गरी वन ऐन २०७६ को दफा ५० को उपदफा(४) बमोजिम बिगो सजायसहित जोडदार कारवाही गर्न महासंघले माग गरेको हो ।
सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ खोटाङ अध्यक्ष मोहन गुरुङले प्रेस विज्ञप्ति जारी गरेर स्थानीय सरकार र नियामक निकायले डढेलो लगाउनमा संलग्नको खोजी गरी कारवाही गरेर पर्यावरण संरक्षण गर्न माग गरेको छ । जिल्लाभरी ४२२ वटा सामुदायिक वन रहेको छ ।
आगलागी र डढेलोको घट्ना रोकथाम र नियन्त्रणका लागि आम सरोकारवालाहरुको सक्रिय सहभागिता, समन्वय र सचेतिकरणको आवश्यक रहेको अध्यक्ष गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।
डढेलोले कार्बन उत्सर्जन गर्ने, वन पैदावरमा समस्या ल्याउने, वन्यजन्तुमा नोक्सानी गरी जैविक विविधता र पर्यावरणमा ह्रास ल्याई जनजीवनमा प्रत्यक्ष र अपत्यक्ष रुपमा नकारात्मक असर पारिरहेको महासंघको ठहर छ । डढेलोले वन जंगल क्षेत्रमा रहेको खानेपानीको पाइपलाइनमा क्षति गरेको,वन क्षेत्रसँग जोडिएका बस्तीहरुमा धनजनको क्षति गरेको छ ।
प्राकृतिक कारणले भन्दा मानीवय कारणले वनमा धेरै डढेलो लाग्ने गरेकोे छ । बाँझो बारीहरुमा भएको घाँस राम्रो उम्रने भन्दै डढेलो लगाएर राम्ररी ननिभाउँदा, वन जंगलमा सुर्ती, चुरोट खाएर त्यसको ठुटोलाई त्यतिकै फाल्दा डढेलो लाग्ने गरेको स्थानीयहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काका अनुसार सचेतना अभावका कारण स्थानीय व्यक्तिले वनमा जथाभावि डढेलो लगाउने गरेको पाईएको छ । डढेलो रोकथाम तथा नियन्त्रणका लागि मुख्यतः सचेतना फैलाउनु आवश्यक रहेको उहाँको भनाई छ ।
डढेलो तथा आगलागी हुन नदिन अहिले जिल्लामा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विधुत प्राधिकरण, डिभिजन वन कार्यालयले आगलागी रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रमहरु गरिरहेका छन् । वराहपोखरी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि सामाजिक सञ्जालबाट सचेतना फैलाईरहेको छ ।
तस्वीरमा: खाल्लेको चन्द्रमान सामुदायिक वनमा डढेलो रोकथाम तथा नियन्त्रणको अभ्यास गर्दै सुरक्षाकर्मी लगायत ।






