काठमाडौं । गोपीकृष्ण नगरस्थित विद्यासदनको अभिावक दिवस विभिन्न सांस्कृतिक कार्यक्रम तथा विचार प्रस्तुतिकासाथ सम्पन्न भएको छ । विसं ०५२ सालमा स्थापित विद्या सदनलाई रिलायन्स इन्टरनेशनल कलेजमा संलग्न भएपछिको यो प्रथम अभिभावक दिवसमा प्रमुख अतिथिका रूपमा हिमालय टाइम्सका प्रधानसम्पादक प्रा.पुरुषोत्तम दाहालले शिक्षाबारे स्पष्ट नीति अझै बन्न नसकेको हुनाले शैक्षिक पलायन व्यापक हुँदै गएको बताउनुभयो । दाहालले भन्नुभयो, ‘कक्षा १२ पछि स्नातक अध्ययन गर्ने विद्यार्थीलाई स्थान अनुसार रोजगारी दिएर अध्ययन गराउनसके पलायन घट्ने, सीप र ज्ञान सिकेर उच्चशिक्षा अध्ययनमा जाने वा रोजगारीमा जानेबाट देशले फाइदा लिनसक्ने र उनीहरूको अनुभव र धन दुवै राष्ट्रमा लगानी हुनसक्ने सम्भावना रहनेछ । विदेश पुगेकाहरूलाई अनुभव र धनकासाथ स्वदेश वस्नसक्ने वातावरण सरकारले नीतिगत रूपमै निर्माण गर्नु आवश्यक छ ।’
कार्यक्रमको अध्यक्षता गर्दै रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले रिलायन्सले व्यावहारिक शिक्षा दिएको, भौतिक विकाससँगै आध्यात्मिक चेतना बढाउन र सांस्कृतिक क्रियाकलापमा समेत जोड दिएको बताउनुभयो । उहाँले विद्यासदनमा नानीहरूलाई गुणस्तरीय शिक्षाका प्रदान गरिने हुनाले अभिभावक ढुक्क हुन आग्रहसमेत गर्नुभयो । रिलायन्स एजुकेशनभित्र अहिले कलेज र विद्यालय गरी सातोटा संस्था आबद्ध रहेका छन् । कार्यक्रममा वरिष्ठ चार्टरएकाउण्टेट तथा बोर्ड डाइरेक्टर राजुकुमार शिवाकोटीले शिक्षाको महत्व, गुणात्मक शिक्षाको आधार, नेपालको वर्तमानमा दिनुपर्ने शिक्षालगायत विषयमा मन्तव्य प्रकट गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य लक्ष्मण आचार्यले विद्या सदनको अवस्था र परिवर्तित सन्दर्भबारे जानकारी दिनुभएको थियो । मेघराज अधिकारीको साहित्यिक उद्घोषणमा अभिभावक राजुविक्रम चाम्लिङ र डीबी श्रेष्ठले विद्यालयले राम्रो शिक्षा प्रदान गरिरहेको विचार प्रकट गर्दै तर विद्यार्थीहरूको विदेश पलायन कसरी रोक्ने भन्ने विषय गम्भीर रहेकोमा चिन्ता प्रकट गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवात प्रमुख अतिथिबाट दीपप्रज्वलन गरी भएको थियो भने दामोदर निरौलाबाट दुई मिनेट ध्यान गराइएको थियो । रिलायन्सका हरेक कार्यक्रममा ध्यानबाट सुरु गर्ने परम्परा बसाइएको छ । कार्यक्रममा विद्यार्थीहरूले मन्त्र, सरस्वतीवन्दना, राष्ट्रिय गान, स्वागत गीत, अत्यन्त रोचक गीतसंगीत प्रस्तुत गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts