सुर्खेत । संघीय सरकारको अर्थ मन्त्रालयले भन्सारमा रोकिएका उपकरण दैलेख पठाउने सहमति दिएको छ । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि ल्याइएका उपकरणहरु करिब दुई हप्तासम्म नेपालगंज भन्सारले रोकेको थियाे ।
नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भूगर्भ विभागकै नाम उल्लेख गरेर अनुमति प्रदान गरेपछि उपकरण ल्याउने बाटो खुलेको छ । चीनदेखि भारतको कोलकत्ता हुँदै नेपालगंजको रुपैडिया भन्सार नाकामा उपकरण ल्याएर आएका ३० वटा ट्रक दैलेख पठाइएको छ ।
बुधबार अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्य प्रक्रिया सुरु भएको र अर्थबाट भन्सारमा पत्र पठाइएकोले अब एक हप्ताभित्र भन्सारमा रोकिइएका ट्रक दैलेख पुग्ने जनाइएको छ । खानी तथा भूगर्भ विभागका प्रमुख दिनेशकुमार नापितका अनुसार दैलेखको पेट्रोलियम अन्वेषण कार्यका लागि अन्तिम तयारी पूरा भएको छ ।
उहाँले भन्नुभयो, ‘अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गर्नका लागि बन्दोबस्तीका सामान, मेसिन औजार, उपकरणलगायत दुई सयभन्दा बढी ट्रक दैलेख आउने तयारी छ ।’
चीनको जिओलोजिकल सर्भे कम्पनीको नाममा भन्सार छुट पत्र तयार गरिएको भए पनि उक्त पत्रमा नेपाल सरकार खानी तथा भूगर्भ विभागकै नाम समावेश गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा डेढ महिनाअघि नै पत्र पठाइएको थियो । अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्तिम अन्वेषणको काम सुरु भएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार जिल्लामा सामान आउने रुटहरूको सफाइ गर्ने, मोड नमिलेका स्थानमा मोड मिलाउने लगायतका अधिकांश काम सम्पन्न भइसकेका छन् ।
उपकरण बोकेका ट्रकहरु नेपालगंज–सुर्खेत हुदै कर्णाली राजमार्गपछि चामुण्डा विन्द्रासैनी नगरपालिका स्थित मध्यपहाडी राजमार्गको सडक प्रयोग गरेर अन्वेषण स्थल दैलेखको जलजले पुग्नेछन् ।
यसपालिको अन्वेषणको सकारात्मक रिपोर्ट आएमा समग्र नेपालकै आर्थिक अवस्था सुधारमा यो परियोजना कोसेढुंगा सावित हुनेछ । कर्णालीवासी दैलेखमा पेट्रोल निस्किने अपेक्षामा छन् । हाल दैलेखको नावीस्थान र श्रीस्थान मन्दिर तथा खोला क्षेत्रमा पानीमाथि ज्वाला बलिरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts