रैथाने बालीको विकल्प खोज्दै किसान

नन्दराम जैशी
नन्दराम जैशी
Read Time = 9 mins

सुर्खेत । जुम्ला कनकासुन्दरी गाउँपालिकाका किसान धनविर बुढाले रैथाने बालीको खेती गर्न छाडेको एक दशक पुग्यो । दुःख गरेअनुसार उब्जनी नहुने, हुर्कनै समय लाग्ने, रोग र किराबाट बाली जोगाउनै मुश्किल भएपछि उहाँले परम्परादेखि लगाउँदै आएका अन्नबालीको खेती गर्न छाडेका छन् ।

उहाँका अनुसार फापर, उवा, चिनो र कागुनो जस्ता रैथाने बाली अचेल पहिलाको जस्तो फल्दैन । दुख अनुसार उब्जनी नहुँदा स्थानीय जातका अन्नबाली लगाउन छोडेको उहाँ बताउनुहुन्छ । स्थानीय उत्पादनले जिविका नचलेपछि उहाँ तीन बर्ष बैदेशिक रोजगारमा समेत बस्नुभयो । तर अहिले गाउँ फर्केर अन्न उत्पादनको सट्टा काठ मिल चलाउँदै हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘अचेल रैथाने बाली उत्पादनमा जोड दिन मन लाग्दैन । खानलाई स्वादिष्ट र पोषणयोग्य भएपनि लागत अनुसार उत्पादन नभएपछि किन दुःख गर्ने ?’ उहाँका अनुसार केहीवर्ष अघिसम्म फापर, चिनो, कागुनो, उवा, कोदो र जौ लगायतका स्थानीय जातका बालीको खेती राम्रै हुन्थ्यो । तर पछिल्ला वर्षमा ती बालीको उत्पादन क्रमशः घट्दो छ । उत्पादन घट्दै गएपछि स्थानीयले कतिपय रैथाने बालीको खेती नै गर्न छाडेका छन् ।

किसानले खेती छाडेपनि पछिल्लो समय कर्णालीका रैथाने बाली संरक्षणमा पनि चुनौती बढेको छ । खेती छाडेपछि हिजोआज कतिपय स्थानीय जातका रैथाने बालीको बीउ नै नपाउने अवस्था आएको छ । जुम्लाकै तातोपानी गाउँपालिकाका किसान जयप्रसाद गौतम पछिल्लो समय मार्सी धानको उत्पादन समेत घट्दै गएको बताउनुहुन्छ । आफ्नो गाउँका किसानले लगाएको मार्सीधानमा लगातार तीन बर्षसम्म रोग लागेपछि खेती छाड्ने मनसायमा रहेको उहाँको भनाइ छ ।

‘नयाँनयाँ रोग र किराको प्रकोपले मार्सी धानको उत्पादन सोचेअनुसार नहुँदा हामीले विस्तारै यसको खेती घटाउँदै गएका छौं’ उहाँले भन्नुभयो, ‘बर्सेनि नयाँ रोगले पाक्ने बेलामा मार्सी धान खेतमै नष्ट हुन्छ, पहिलाको जस्तो उत्पादन नै हुँदैन ।’

कर्णालीका हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा रैथाने जातका बालीको खेती घट्दो छ । उत्पादनमा आएको ह्रासका कारण स्थानीयले खेती गर्न छाडेपछि कतिपय रैथाने बालीहरूको अस्तित्व नै संकटमा परेको हो । चिसो र हिमाली हावापानीमा फल्ने चिनो, कागुनो, उवा, फापर, मार्से, जुम्ली मार्सी, कोदो, सिमी र जौं लगायतका रैथाने बालीहरू संकटमा पर्न थालेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुका किसान नन्दराम योगीका अनुसार धेरै उत्पादन हुने आसमा हिजोआज किसानको खेतबारमिा हाइब्रिड जातका बालीको खेती गर्ने चलन बढेको छ । भने रैथाने बालीलाई व्यवसायिक बनाउनुपर्छ भन्ने चलन हटिसकेको छ ।

वातावरणविद् सञ्जित कँडेलका अनुसार पहिलाको तुलनामा हिउँ कम मात्र पर्ने गरेको, हिउँ पर्न छाडेपछि विस्तारै हिमाली क्षेत्रको तापक्रम पनि वृद्धि हुँदै जाँदा त्यहाँका रैथाने बालीलाई अनुकुल वातावरण भएन । ती बालीमा रोग र किराको प्रकोप पनि बढ्न थाल्यो । र यसले उत्पादन पनि घट्दै गएको हो ।

किसान धेरै उत्पादन हुने बाली खोज्दै

कर्णालीका किसान के कारणले रैथाने बालीको उत्पादन घट्यो भन्ने विषयमा जानकार छैनन् । बरु उत्पादन बढी हुने बालीको खोजीमा भौंतारिने गरेका छन् । मुगुको खत्याड गाउँपालिकाका किसान वीरबहादुर खत्रीका अनुसार पछिल्लो समय हिउँ र पानी नपर्दा छरेको बाली पनि सप्रिँदैन । भने पहिला अन्न फल्ने पाखाहरू अचेल बाँझै छन् । पुस्तौंदेखि लगाउँदै आएका बालीको उत्पादन राम्रो नहुँदा हामीलाई छाक टार्न कठिन छ ।

ADVERTISEMENT

मार्सी, सिमी र फापरको बजारमा माग बढेको भए पनि उत्पादन भने वृद्धि हुन सकेको छैन । रैथाने बालीको उत्पादन वृद्धि र बीउ संरक्षणमा प्रभावकारी योजना र कार्यक्रम नहुँदा यी बालीहरू संकटमा पर्न थालेको किसानहरू बताउँछन् ।

पछिल्लो समय हिमाली क्षेत्रका किसानले उत्पादन बढी हुने आसमा हाइब्रिड तथा उन्नत जातका बीउको खेती गर्न थालेका छन् । आधुनिक कृषि प्रविधि र खेती प्रणालीतर्फ किसान आकर्षित हुदाँ रैथाने बालीमा ध्यान नगएको दैलेख दुल्लु नगरपालिका ५ का किसान पूर्ण बहादुर शाही बताउनुहुन्छ ।

संरक्षणका लागि बाली सूचीकृत

कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षणका लागि पहल भइरहेको जनाएको छ । रैथाने बालीको अस्तित्व जोगाउन र किसानलाई यसको खेतीमा आकर्षित गर्न कर्णालीमा उत्पादन हुने नौ वटा रैथाने प्रजातिका बालीहरू सूचीकृत गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चिनो, कागुनो, उवा, मार्से, फापर, जुम्ली मार्सी, कोदो, जौ र सिमीलाई रैथाने बालीको रूपमा सूचीकृत गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रैथाने बाली संस्कृतिसँग जोडिएकाले सम्पदाको उपमा दिएर ती रैथाने बालीको उत्पादनहरू बिक्री गर्नेले अब अनिवार्य रूपमा ‘मूल्यवान’ अंकित लोगो राख्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कठायतका अनुसार रैथाने बालीको बजार माग धेरै छ, मूल्य पनि राम्रो छ । तर उत्पादन भने हुन सकिरहेको छैन । रैथाने बालीको उत्पादन बढाउन र ती बालीको संरक्षणका लागि मन्त्रालयले प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको उहाँ बताउनुहुन्छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि जिल्लाहरूमा करिब चार करोड बजेट पठाइएको छ । रैथाने बालीको बीउ लोपोन्मुख अवस्थामा पुगेपछि जिल्लास्थित कृषि विकास कार्यालयहरूले बीउ जोगाउने प्रयासमा छन् ।

रैथाने बाली जोगाउनका लागि कृषि मन्त्रालय तथा विभिन्न संघसंस्था मार्फत पटक पटक जिल्ला तथा प्रदेश स्तरमा कृषक अभिमुखिकरण गरिन्छ । तर तीनै तालिम पाएका किसान उत्पादनमा लागेको पाइदैन । बजार मुल्य राम्रो हुदाँहुदै पनि रैथाने बाली उत्पादन बृद्धि गर्नबाट किसान र सरोकारवाला चुकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *