काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “वामपन्थी दलहरु एक होउन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो ।”
विगतका त्रुटि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भएको उहाँको भनाइ छ । “कुनै न कुनैबेला ‘ब्रेक थ्रु’ गर्न त्यस्तो समयको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो, “राजनीतिक यात्रामा अवरोध आएपछि नयाँ अध्याय सुरु हुन्छ, यो कुनै नयाँ विषय होइन, बीचमा केही टुटेको थियो, यो विगतकै निरन्तरता हो ।”
नेकपा (एमाले) सहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर रहन उहाँको भनाइ छ । “समाजवादी मोर्चामा रहेका अन्य दलका शीर्ष नेता पनि वामपन्थी नै हुनुहुन्छ, सबै पार्टीलाई सँगसँगै लिएर अघि बढ्छौँ”, सचिव पौडेलले भन्नुभयो । रासस







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts