काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नुभएको छ ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै दाहालले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नुभएको हो ।
सांसद दाहालले वर्तमान सरकार पूरै असफल भएको जिकिर गर्दै भन्नुभयो, ‘सरकार आलटाल गरिरहेको छ । मन्त्रीले राजीनामा दिनुपर्दैन ? आज न आरती साहको परिवारले न्याय पाउन सक्यो,न मिटरब्याज पीडितहरूले न्याय पाउन सके । न बालकुमारी घटनाका पीडतले न्याय पाउने सके । असफल सरकारका गृहमन्त्रीको राजीनामा माग्छु । बालकुमारी घटनाका दोषी मन्त्रीलाई स्पष्टीकरण पनि सोधिँदैन । उहाँको पनि म राजीनामा माग गर्छु ।’







