काठमाडौं । केपी ओली कपको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई हराउँदै केपी ओली एफसी केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइजलाई ३–० गोल अन्तरले हराउँदै केपी ओली एफसी अन्तिम आठमा प्रवेश गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो। खेलको ५८ औँ मिनेटमा फोफे फोफानाको गोलमा आयोजक टोलीले सुरुवाती अग्रता बनायो ।
अग्रता बनाएको आयोजक टोलीले ६८ औँ मिनेटमा फोफे फोडानाको क्रसमा जय गुरुङको गोलमा अग्रता दोब्बर पार्यो। खेलको ७९ मिनेटमा जय गुरुङको व्यक्तिगत दोस्रो गोलमा आयोजक टोलीले ३–० को अग्रता बनायो।
केपी ओली एफसीले अब सेमिफाइनलमा स्थान बनाउन जावलाखेल युथ क्लबसँग खेल्नेछ। यो खेल मंगलबार बिहान साढे ११ बजे सुरु हुनेछ।
आयोजकका अनुसार दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टीम यस प्रतियोगिता समावेश हुने छन् ।

राष्ट्रिय युवा संघको आयोजनामा सुरू प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ११ लाख, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीलाई जनही रु ५० हजार र प्लेयर अफ द म्याचलाई रु १५ हजार प्रदान गरिने छ ।
गत वर्षको संस्करणमा एन्फाद्वारा सूचीकृत नेपालका आठवटा ‘ए डिभिजन’ टिममा स्वदेश तथा विदेशमा खेलाडीको सहभागिता थियो । प्रतियोगितामा मछिन्द्र फुटबल क्लब विजेता र सातदोबाटो क्लब उपविजेता भएका थिए ।










देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता