भोजपुर । गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी निर्देशिका तर्जुमाका लागि सहजीकरण गर्ने उद्धेश्यले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा तीन दिने कार्यशाला गरिएको छ ।
भोजपुरका नौ स्थानीय तहहरु मध्ये चार पालिकामा आन्तरिक नियन्त्रण प्रणाली सम्वन्धी कार्यशाला थालिएको छ । जिल्लाको रामप्रसाद राई गाउँपालिका, पौवादुङमा गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा यो कार्यशाला संचालन हुने सहजकर्ता घमचन्द्र दाहालले जानकारी दिनुभयो ।
पौवादुङमा गाउँपालिकामा ३७ जनाको सहभागितामा कार्यशाला गरिएको हो । स्थानीय पालिकाहरुको मागको आधारमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापा अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) को आयोजनामा कार्यशाला थालिएको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) का क्षमता विकास विज्ञ कर्णबहादुर नेपालीले जानकारी दिनुभयो । कार्यशालामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, शाखाका प्रमुखहरु र वडा कार्यालयका सचिवहरुको सहभागीता रहेको थियो ।
कार्यशालामा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २ को अधीनमा रही आन्तरिक नियन्त्रण प्रणालीको अर्थ, महत्व, परिभाषा, आवश्यकता, प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धीको कोशो मोडेलका बिषयमा छलफल गरी साझा अवधारणा तयार गरिने छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरेको स्थानीय तहको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन २०७८ र यसको अनुसुची २ बमोजिम दफावार छलफल सहभागीतामुलक विधिको अबलम्बन गरी सहजीकरण गरिएको थियो ।
सहजीकरण पश्चात रामप्रसाद राई गाउँपालिका भोजपुरको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धीको दिग्दर्शन मस्यौदा तयार गरी गाउँपालिकाका अध्यक्ष किरण राईलाई दस्तावेज हस्तान्तरण समेत गरिएकोछ । कार्यशालाको सहजीकरण विज्ञद्धय हरिप्रसाद गौतम र घमचन्द्र दाहाल गर्नु भएको थियो भने समग्र समन्वयको कार्य प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापा अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) का क्षमता विकास विज्ञ नेपालीले गर्नु भएको थियो ।
यो कार्यशाला बाँकी रहेका जिल्लाका दुई पालिकाहरुमा पनि संचालन हुने प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) ले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts