धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बर्षको बजेट तथा नीति कार्यक्रममा उत्पादन वृद्धि केन्द्रित हुने बताउनुभएको छ ।
शनिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, चरौंदीमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा सुरु भएको ७ औं राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो ।
प्रचण्डले नेपाली लोकगीत–सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने भन्दै कलाकर्मी र सम्पूर्ण जनसमुदायहरू सचेत रहन आग्रह गर्नुभयो ।
विविधतापूर्ण मौलिकतामा आधारित गीत–सङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “दर्शक–स्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुण्डिएका छन् ।सार्वजनिक मेला महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री दाहालले यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गर्नुभयो ।उहाँले लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति भएको भन्दै सबै भाषा, जाति र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताउनुभयो । जनताले बिगतका भन्दा फरक अनुभूति हुने गरि परिणाम निस्कने आयोजनामा केन्द्रित हुने पनि बताउनुभयो।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल,गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष विवेक थपलिया लगाएतको आतिथ्यता रहेको थियो ।
आजदेखि सुरु भएको ७ औं राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगितामा देश तथा विदेशबाट ४८ समुह सहभागी भएका छन् । नेपालको मौलिक र संकृतिलाई बचाई राख्नको लागि प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष मगरले बताउनुभयो। प्रतियोगितामा उत्कृष्ट प्रतिस्पर्धी समूहहरुबाट सर्वोत्कृष्ट छनौट गरिने उहाँको भनाई छ । अनुभवी अग्रज कलाकारहरु निर्णायक रही प्रतिभावान र उत्कृष्ट कलाकारहरुको बीचमा दोहोरी खेलाईने छ ।
प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्त्वना हुनेले क्रमश तीन लाख, दुइ लाख, एक लाख र पचास हजार पाउने छन् ।
प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक,उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। ८ गतेसम्म सञ्चालन हुने प्रतियोगीता हेर्न आउने दर्शकसंग कुनै पनि किसिमको शुल्क नलिइने आयोजकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts