काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्वकप्तानसमेत रहेका पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । त्यसका लागि ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको बुझाइ छ । साथै पारसले क्यान समक्ष धेरै चुनौतिहरु रहेको उल्लेख समेत गरेका छन् । नेपाल क्रिकेटका संरचनालाई बलियो बनाउनु काम गरिरहेको बताउँदै पूर्वक्रिकेटर पारसले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्नेसमेत विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले खेलको जित मात्रै नभई क्रिकेट कल्चरलाई विकास गर्नुपर्ने धारणा राख्नुभएको छ । थोरै लगानीबाट पनि नेपालले धेरै राम्रो गर्दै यहाँसम्म आइपुगेको उहाँको भनाई छ । उहाँले विश्वभर बस्ने मानिसलाई खेलसँग जोड्न आवश्यक रहेको समेत औंल्याउनु भयो ।
अर्का पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दासले अहिलेसम्म नेपालसँग राम्रो अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान नरहनु दुःखद् पक्ष रहेको उल्लेख गर्दै एनआरएनएले खुला मनले सहयोग गरेमा नेपाली क्रिकेट उचाईमा पुग्न सहयोग मिल्ने धारणा राख्नुभयो ।
सो कार्यक्रममा एनआरएनएले ट्वान्टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि क्यानलाई हौसला स्वरूप १० लाख रुपैयाँ सहयोग पनि गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले ट्वान्टी–२० विश्वकप क्रिकेट २०२४ मा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेका हुन् । क्यानका सचिव पारस, पूर्वकप्तान विनोद, क्यानका सदस्य सुदिप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो । एनआरएनएका सचिव पारसमणी पोखरेलले क्यानका सचिव खड्कालाई टोकन अफ लभ दिएका थिए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts