कालीकोट । भौगोलिक हिसाबले कालीकोटका नौवटा स्थानीय तहमध्येको अति विकट र दुर्गम पालिका पलाँता गाउँपालिका हो । सदरमुकाम मान्मदेखि करिब आठ घण्टाको कर्णाली करिडोरको पैदल यात्रापछि पुगिने यो गाउँपालिकाका बासिन्दाको मुख्य समस्या भनेकै वर्षांैदेखिको खानेपानी अभाव थियो । स्थानीय सरकार सञ्चालन २०७४ पछि विकासले केही मुहार फेरेपछि पलाँता गाउँपालिकाका बासिन्दाको वर्षाैंदेखिको खानेपानी समस्या टरेको छ ।
स्थानीय सरकार आउनुभन्दा पहिले शिक्षा, स्वास्थ्य, खानेपानी र सडक यातायातको पहुँचमा नरहेको यो पालिका स्थानीय सरकार सञ्चालनपछि २०८० सम्म आइपुग्दा पलाँताले पनि विकासको फड्को मारेको छ । बाजेको पालादेखि खानेपानीको चरम समस्या झेल्दै आएका पलाँताको बान्जडा, लार्फा र मिजुबाडाका बासिन्दाहरूले खानेपानीको समस्याबाट मुक्ति पाएका छन् । पलाँताको बान्जडा, लार्फा, मिजुबाडा, ढकेना र शीतलागाउँका घरआँगनमै खानेपानी पुगेपछि पानी खानकै लागि दिनभर गाउँकै एक सार्वजनिक कुवामा लाम लाग्नुपर्ने बाध्यताबाट बान्जडावासीले मुक्ति पाएका हुन् ।
जिल्लामा खानेपानीको अभाव खेपेका विभिन्न गाउँबासीले पलाँताको खाडा-बान्जडा जस्तैः काकाकुलको अवस्था भयो भनेर कुनै समय उदाहरण दिने गर्दथे । अहिले त्यसै खाडा-बान्जडा र लार्फामा चार सयभन्दा बढी घरधुरीमा घर-घरमा पानीको धारा पुगेपछि स्थानीय खुसी भएका छन् । ‘२०७४ सालको स्थानीय तहको निर्वाचनसम्म हामीले चार घण्टा लगाएर एक गाग्रो पानी बोक्थ्यौँ,’ पलाँता गाउँपालिका वडा नम्बर–२, लार्फाकी स्थानीय नानी दर्जीले भन्नुभयो, ‘अहिले त धेरैको घर-घरमा पानीको धारा आइसकेको छ, केहीको आउन बाँकी छ ।’ ‘खानेपानी ल्याउनकै लागि पिठ्युँमा डोको बोकेर चार घण्टाको पैदल बाटो हिँडेर खानेपानी ल्याउनुपथ्र्यो । लुगा धुन त परै जाओस् । एक गाग्री खानेपानी भर्न दिनभर सार्वजनिक कुवामा लाइन लाग्नुपथ्र्योे । यस्ता समस्या झेलेकी हुँ, अहिले घरकै आँगनमै पानी आउँदा खुसीको सीमा छैन,’ नानीले खुसी हुँदै भन्नुभयो, ‘घर-घरमा खानेपानीको धारा पुगेपछि घरको बारीमा सिँचाइसमेत हुने गरेको छ । तरकारी पनि खान पाएका छौँ । दिन त फेरिए अब, जति दुःख पायौँ ऊ बेला नै पायौँ ।’
घरआँगनमै खानेपानी खस्दा नानी दर्जीमात्र हैन बान्जडा निवासी अमना प्याकुरेलको पनि खुसीको सीमा नै छैन । वर्षले ७६ पुग्नुभएकी अमनाको दुःख सुनिनसक्नुको छ । उहाँले भन्नुभयो, ‘बिहान पानी भर्न जाने चिन्ताले राती निद्रा नै आउँथेन । कति बेला उज्यालो होला र डोको बोकेर पानी ल्याउन जाउँला मन-मनमै चिन्ता पसिरहन्थ्यो । यस्ता दुःखबाट मुक्ति पाइयो । बाँचेपछि सबै देख्न पाइन्छ भन्थे साँचो रहेछ ।’
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुशा) का संयोजक धीरबहादुर भण्डारीका अनुसार जिल्लाकै सुक्खा क्षेत्र पलाँताको बान्जडा, मिजुबाडा, लार्फा, राडुनेटा, ढकेना र शीतलागाउँका घर-घरमा खानेपानीको धारा पुगेको छ । खानेपानी योजनाबाट सबै समुदायमा गरी जम्मा ४३८ घरधुरीको घर-घरमा धारा पुगेको छ । तीन करोड रुपैयाँको लागतमा आयोजनाभित्र ४४१ मिटरसहितका धारा र विद्यालयमा शौचालय निर्माण गरिएको भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार आयोजना सम्पन्न भइसकेका छन् । अब केही दिनमै गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी थालेको उहाँको भनाइ छ । गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाका अनुसार ४३८ घरमा खानेपानीको धारासहित पानी खसिसकेको छ । बान्जडा, लार्फा, मिजुबाडाबासीहरूले सदियौँदेखि खानेपानीको चरम अभाव झेल्नुपरेको थियो । अहिले यो दशकौँपछि हल भएको छ । उहाँले भन्नुभयो, ‘अब धौलगोहबासीले दिनभरको समय लगाएर लाइनमा बसेर पानी खानुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।’
गाउँका एक सार्वजनिक धारामा गाउँभरका नागरिकले पानी खानुपर्ने बाध्यता हटेको छ । यो ठूलो उपलब्धि हो भन्लान् संघीयता आएको ६ वर्षसम्म पनि खानेपानीको समस्या हटाउन सकेनन् ? पलाँता क्षेत्र अन्य क्षेत्रहरूभन्दा विकट र दुर्गम छ । सुक्खा क्षेत्रमा पानीको स्रोत नै छैन । टाढाबाट खानेपानी बान्जडा क्षेत्रमा ल्याउनु निकै चुनौतीको विषय रहेको थियो । बल्ल यो समस्याबाट मुक्ति पाएका छौँ । घरको आँगनमै मिटरसहितको खानेपानीको धारा बन्यो र पानी पनि खस्यो । सुशा परियोजना र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएका खानेपानी आयोजनालाई केही दिनमै गाउँपालिकालाई हस्तान्तरण गर्ने अध्यक्ष रोकायाले बताउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts