म्याग्दी । पश्चिम म्याग्दीका पाँचओटा गाउँबाट यस वर्ष रु पाँच करोड बढीको सुन्तला विक्री भएको छ ।
बेनी नगरपालिकाको वास्कुना, मरेक, राखु तथा मालिका गाउँपालिकाको बिम र देविस्थानबाट रु पाँच करोड बढीको सुन्तला उत्पादन तथा विक्री भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव वास्तोलाले जानकारी दिनुभयो ।
“अझै बढी हुन सक्छ, विस्तृत तथ्याङ्क आइसकेको छैन” उहाँले भन्नुभयो “अहिले यस क्षेत्रका किसानहरु सुन्तला विक्री गर्न व्यस्त छन्, व्यापारीहरुले बोटबाट नै सुन्तला खरिद गरेको सामान्य तथ्याङ्ककाे आधारमा मात्रै पनि रु पाँच करोड बढीको सुन्तला विक्री भएको देखिन्छ ।”
उहाँका अनुसार म्याग्दीको बेनी नगरपालिका-३,भकिम्ली राखुगाउँका कृषकले मात्रै रु डेढ करोड बढीको सन्तला विक्री गरेका छन् भने मरेक र वास्कुनाबाट पनि रु डेढ करोड बराबरको सुन्ताल विक्री भएको छ ।
त्यसैगरी मालिका गाउँपालिकाको वडा नं ५ देविस्थान र वडा नं ७ विममा पनि सुन्तलाको राम्रो उत्पादन भएको र यतिबेला यहाँका किसानहरु सुन्ताला विक्रीमा नै व्यस्त रहेका उहाँले जानकारी दिनुभयो । “ती दुई गाउँ पनि सुन्तला राम्रो उत्पादन हुने गाउँहरु हुन् । यस वर्ष असिना र रोगको प्रकोपका कारण अलिकम उत्पादन भएको भन्ने छ । थोरैमा पनि ती दुई गाउँमा रु ५० लाखदेखि रु एक करोडसम्मको सुन्तला विक्री हुन्छ” प्रमुख वास्तोलाले भन्नुभयो ।
भकिम्ली राखुकी सुन्तला कृषक मनकुमारी पुनले मात्रै रु नौ लाखको सुन्तला विक्री गरेको बताउनुभयो । यहाँका एउटै किसानले रु पाँचलाख देखि रु नौ लाखसम्म सुन्तला विक्री गरेर आम्दानी गरेका छन् ।
त्यसैगरी मरेक र वास्कुनाका कृषकले पनि रु १ लाख ७५ हजारदेखि रु सात लाखसम्मको सुन्तला विक्री गरेका स्थानीय तिलक पुनले बताउनुभयो ।
उता मालिका गाउँपालिकाका किसान जीतवहादुर पुनले मालिकाको देविस्थानमा विगतका वर्षमा भन्दा सुन्तलाको उत्पादन घटेको भए पनि व्यापारीले गत सालको भन्दा बढी मूल्य दिएका र नयाँ बोटबाट पनि उत्पादन सुरु भएकोले राम्रै आम्दानी भएको बताउनुभयो । गत साल बोटबाट नै प्रतिकिलो रु ५०देखि ६०सम्म सुन्तला विक्री गरेका यहाँका किसानले यस वर्ष रु ६५देखि रु ७० सम्म प्रतिकिलो मूल्य पाएका छन् ।
“उत्पादन घटेपनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घरआगनमै लाखौं कमाएका छन्” पुनले भन्नुभयो ।
यहाँका किसानले परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती सुरु गरेका मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बताउनुभयो ।

हरेक वर्ष नयाँ विरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उहाँको भनाइरहेको छ ।
सुन्तला खरिदका लागि ठूला ट्रक लिएर व्यापारीहरू गाउँमा नै आएका छन् । टाढाटाढाबाट आउन थालेपछि सडक समेत ब्यवस्थित बनाइएको छ । अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि राखुका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएपछि अहिले बाँझो जमिनसँगै घरआगन समेत सुन्तलाको लटरम्मै बोटले पहेलपुर भएको छ ।
म्याग्दीमा पछिल्लो समय सुन्तला खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौं, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा सात सय छ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष तीन हजार नौ सय पाँच मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts