नमुना युवा संसदमा जनजीविकाको सवाल (तस्वीरसहित)

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 10 mins

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको प्राङ्गणमा एउटा रोचक दृश्य देखियो । त्यहाँ राखिएका टेबलमा सभामुख, उपभामुख, संसद सचिवालय, त्यसको विपरिततर्फ रहेका डेक्समा सत्तापक्ष जसमा प्रधानमन्त्री, मुख्य सचेतक, मन्त्री र प्रतिपक्ष जसमा प्रतिपक्ष दलका नेता, प्रमुख सचेतक लेखिएको नेमप्लेटमा छात्रहरु कोट पाइन्टसँगै ढाकाटोपी र छात्राहरु कोटसँगै साडी र ब्लाउजमा सजिएर बसेका थिए ।

यत्तिकैमा संसद सचिवालयमा रहनुभएका सचिवले सभामुखको आगमन हुँदैछ भन्ने जानकारी गराउनुभयो । सभामुखको आगमनसँगै त्यहाँ सहभागी सबै राष्ट्रिय गानको धुनमा सरिक हुनुभयो । सभामुखको. भूमिकामा नयाँ युवा नयाँ सोच नेपालका प्रशिक्षक विनोद खत्री र उपसभामुखको भूमिकामा जुना परियार रहनुभयो । सभामुखको भूमिकामा रहनुभएका खत्रीले राष्ट्रपति कार्यालयबाट संसद अधिवेशनको आव्हान गरेको पत्र प्राप्त भएको भन्दै सो पत्र पढेर सुनाउँदै एक जना पूर्वअर्थमन्त्रीको निधन भएको भन्दै सुरुमा शोक प्रस्ताव प्रस्तुत गर्नुभयो ।

यसरी संघीय संसदको झल्को नै दिने गरि सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई नमुना युवा संसदको अभ्यास गराइएको हो । यस विद्यालयमा अध्ययनरत विशेषगरी कानुन संकाय र केहि शिक्षा संकायका विद्यार्थीलाई नमुना सांसदको रुपमा प्रस्तुत गर्दै नमुना युवा संसद सञ्चालन गरिएको हो । देशका विभिन्न निर्वाचन क्षेत्रहरुको प्रतिनिधित्व गर्दै संघीय सांसद बन्नुभएका नमुना युवा सांसदहरुले पूर्व मेचीदेखि पश्चिम महाकालिसम्मका समस्याहरु भने तथ्यगत रुपमा प्रस्तुत गरेका थिए ।

अझै पनि जनताका प्रमुख आवश्यकताहरु शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, सडकलगायतका विकासमा प्रयाप्त ध्यान पुग्न नसकिरहेको र समाजमा पुरातनवादी सोंच हट्न नसकिरहेको भन्दै यसप्रति सरकारलाई उत्तरदायी बन्न नमुना युवा सांसदहरुले आग्रह गरे । सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गरिरहेएका विद्यार्थीहरुले त्यहाँ प्रस्तुत गरेका समस्याहरु सबै साझा जस्ता देखिन्थे ।

नमुना युवा संसदको अभ्यासमा संघीय सांसदको रुपमा आफुलाई प्रस्तुत गर्नुभएकी विद्यार्थी आशा घर्तिले जुम्लाका स्याउले अहिलेसम्म बजार नपाएको गुनासो गर्नुभयो । अहिले स्याउले राम्रै बजार पाउला भन्ने आशमा रहेका त्यहाँका किसानहरुमा निराशा छाएका भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । नमुना युवा सांसद सन्ध्या विश्वकर्मा र प्रमिला विश्वकर्माले स्वास्थ्य सेवा गुणस्तरीय नभएको भन्दै स्वास्थ्य सेवामा व्यापारीकरण भएको बताउनुभयो । उहाँहरुले सरकारी अस्पतालमा बिरामीहरुका लागि भनेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएतापनि जनताले औषधि उपचार गर्नका लागि पैसा खर्चिनु परिरहेको भन्दै बीमाको उपयोगिता के लागि भन्दै प्रश्न गर्नुभयो ।

त्यस्तै, नमुना युवा सांसद लक्ष्मी थापा र शिवानी भट्टराईले एक्काइसौं शताब्दीमा पनि छुवाछूतको व्यवहार र धारणा पालेर बस्नु विश्वसामु लाजमर्दो विषय भएको भन्दै जातीय विभेदका कारणले दलित समुदाय पछाडि परेको बताउनुभयो । जात व्यवस्थाकै कारणले अन्तरजातीय विवाहलाई अस्विकार गर्ने जस्ता समस्याहरु उत्पन्न भएको भन्दै उहाँहरुले दलित समुदाय श्रम शोषण र अमानवीय व्यवहारको सिकार समेत बन्नु परेको बताउनुभयो । खोइ त हाम्रो समाज परिवर्तन भएको, आखिर दलित समुदायले कहिलेसम्म हेपाई सहन पर्ने भन्दै विभेदकारी सोचाइका कारण देशमा विकासले राम्रो गति लिन नसकेको उहाँहरुले बताउनुभयो । पुरातनवादी सोँचले गर्दा शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रहरुमा निकै ठुलो असर पुगेको छ । यसलाई व्यवहारिक रुपमा निर्मूल पार्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ADVERTISEMENT

नमुना युवा सांसद सुजता पाण्डेले गुल्मीको पश्चिम क्षेत्रमा पर्ने सडक खण्डमा पुलको निर्माण कार्य नहुँदा जनताले धरै समस्या भोग्नु परेको भन्दै केही सडकहरुमा पनि वर्षामा बाढी पहिरो र हिउँदामा धुलाम्य हुने हुँदा ठुलो धनजनको क्षति हुँदै आएको बताउनुभयो । बाटोको नाममा गरिब, दुःखी जनताको खेतबारी मासिए पनि जनताले गुणस्तरीय सेवा भने नपाएको भन्दै वातावरणमैत्री विकास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नमुना युवा सांसद तारा खत्रीले अझै पनि महिला र पुरुषबीचको पारिश्रमिकमा समेत विभेद रहेको भन्दै महिलाहिंसा अन्त्य हुन नसकेको बताउनुभया ।

शून्य समय र बिशेष समयमा नमुना युवा सांसदले उठाएका प्रश्नहरुको जावफ प्रधानमन्त्रीको भूमिकामा रहनुभएकी ममता बुढाथोकी, मन्त्रीहरुको भूमिकामा रहनुभएका बिशेष पन्थी, प्रतिक्षा श्रेष्ठ, प्रेमकुमार टण्डन, यमुना घर्ति मगर, सन्देश अर्याल, लजिना महतले जवाफ दिनुभयो । प्रतिपक्षी दलको नेताको भूमिकामा रहनुभएकी रिया श्रीस र प्रमुख सचेतक बिपिन सुनारले बेला–बेलामा नियमआपत्ति जनाउँदै सरकारको कामकार्वाहीका विषयमा प्रश्न गर्नुभयो ।

यसरी नमुना युवा संसदको लामो छलफल र बहसपछि शिक्षामन्त्रीद्वारा पेश भएको विद्यालय शिक्षा विधेयक बहुमतले पारित भयो । जिल्लामै पहिलो पटक गरिएको यो अभ्यासले दर्शकहरुलाई समेत उत्साहित बनायो । विद्यार्थीहरुलाई नेपाली संसदीय पद्धतिको ज्ञान प्रदान गर्ने, कानुन निर्माण प्रक्रियाको जानकारी गराउने तथा उनीहरुमा वैज्ञानिक तर्ककला र नेतृत्व क्षमता विकास गराउने उद्देश्यका साथ नयाँ युवा नयाँ सोँच नेपालको सहयोगमा नेपालको संसदीय प्रणालीमा आधारित कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने र प्रयोगगात्मक तरिकाले व्यवस्थापिका संसदको काम, कर्तव्य अधिकार विधेयक प्रस्तुत गरि पारित गर्ने विधिको बारेमा जानकारी गराउने उद्देश्यसहित गरिएको नमुना युवा संसद अभ्यासमा १०० जना विद्यार्थीको सक्रिय सहभागिता रहेको प्रअ श्रीसले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज