भोजपुर । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्व अन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शनिवार साकेला सिलीसहित शुभकामना आदनप्रदान गरिएको छ ।
गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन रहँदै आएको छ ।
पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदायहरु भेला भएर किराती पुर्खा/धामीले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने गरिन्छ । केटाकेटीदेखि बूढाबूढीसम्म गाउँदै नाच्दै गर्ने परम्पराले उधौली साकेलाको रौनक समेत बढदै गएको छ । किरात राई समुदायमात्र नभई यतिबेला गैरकिरातहरू पनि साकेलाको तालमा नाच्ने, रमाउने गरेको किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष बिदुर राईले बताउनुभयो ।
“पछिल्लो समय उधौली साकेला नाच सवै समुदायको पर्वकारुपमा स्थापित हुदै गएको छ, यसमा किरात राईहरू मात्र नभई गैरकिरात समुदायले पनि मनोरञ्जनात्मक नाचकोरूपमा लिने गरेका छन ।” कार्यबाहक अध्यक्ष राईले भन्नुभयो । पछिल्लो पिढीमा आएर सबै गैरकिरातका लागि भ्रातृत्व झल्काउने उत्सवकोरूपमा पनि साकेलालार्ई लिने गरिएको छ । यसरी अरू समुदायका मानिसहरूले पनि साकेला नाच्दा, रमाउँदा एक अर्काबीच धार्मिक सहिष्णुता र सद्भाव समेत बढदै गएको छ ।
वर्षको दुईपटक मनाइने साकेला उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको छ । उधौली र उभौलीमा किरात राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ । छिटको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक भेशभूषामा सजिएर हरेक किरात राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने प्रचलन रहदै आएको जानकारहरुको भनाई रहेको छ ।
उधौली पर्व किरातहरूको संस्कृतिलार्ई पुस्तान्तरण गर्ने बलियो आधार भएको संस्कृतिविद् कमलजंग राईको धारणा रहेको छ । उहाँका अनुसार हिउँदको धान्यपूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व पुर्खा र जंगली पशुपक्षीहरू लेकदेखि बेंसीतिर झर्ने समय भएको संकेत गर्ने तथा अन्नबाली भित्रयाएको खुसीयालीमा मनाउने गरिन्छ । परापूर्वकाल ढुंगेयुगमा किराती पुर्खाहरूले पृथ्वीमा कृषि युग सुरु गरेको भन्ने आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किरात अगुवाहरूको भनाई छ । बालीनाली भित्र्यायाउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना गर्दै उधौली मान्ने गरिएको धार्मिक विश्वास छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts