काठमाडौं । यही पुस २७ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘पर्खि बसें तिमीलाई’ को धरानमा नियमित प्रदर्शन हुने एक शोबाट उठेको रकम धरानमा सुम्निमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माण पक्षले गरेको छ । शुक्रबार बिहान निर्देशक दीपक श्रेष्ठले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर उक्त कुराको जानकारी गराउनुभएको हो । मेयर साम्पाङले आफ्नो सामाजिक सञ्जालबाट पनि उक्त कुराको जानकारी दिनुभएको थियो । उहाँले चलचित्रलाई शुभकामनासमेत दिनुभएको छ ।
साम्पाङले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यही पुस २७ गते रिलिज हुँदै गरेको पर्खि बसें तिमीलाई नामको चलचित्रले सुम्निमा पारुहाङ प्रतिमा निर्माणमा एक शो बराबरको रकम सहयोग गर्ने भएको छ ! निर्माता श्री दीपक श्रेष्ठ (धराने) लाई हार्दिक बधाई तथा शुभकामना ! सबैले फिल्म हेरेर नेपाली उत्पादनलाई बढावा दिऔँ !’
निर्देशक श्रेष्ठले चलचित्रमार्फत् दर्शकलाई हलमा मनोरञ्जन दिनेसँगै सामाजिक कार्यमा समेत सहभागिता जनाउन लागेको बताउनुभयो । ‘हाम्रो दायित्व हामीले पूरा गर्दैछौँ । हामीले चलचित्रमार्फत् पनि सन्देश दिएका छौँ । यो हामी सेलिब्रेटीको दायित्व पनि हो,’ निर्देशक श्रेष्ठले भन्नुभयो ।
राजाराम बुढाथोकीको निर्माणमा तयार भएको चलचित्रमा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता