काठमाडौं । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालका राज अधिकारीले खिचेको फोटो दोस्रो स्थानमा पर्न सफल भएको छ । पहिलो हुनेमा दक्षिण अफ्रिकी फोटोग्राफर जोनाथन रिज रहनुभएको छ । विश्वका ५८ देशबाट पठाइएका झण्डै ८०० तस्वीरहरूमध्ये नेपालमा कोदो संरक्षणमा महिलाको भूमिकासम्बन्धी तस्वीर दोस्रो स्थानमा पर्न सफल भएको हो ।
बर्दघाट, नवलपरासी निवसी फोटोग्राफर अधिकारीले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णुमाया बरालको कोदो काट्दै गरेको फोटो खिचेर प्रतियोगितामा सहभागी हुनुभएको थियो । सांस्कृतिक र पौष्टिक महत्वका साथ कोदो नेपाली घरपरिवार, विशेषगरी ग्रामीण क्षेत्रको अभिन्न अंग बनेको र कोदोको संरक्षणमा नेपालका ग्रामीण महिलाहरूको ठूलो भूमिका रहेको फोटोग्राफर अधिकारीले क्याप्सन दिनुभएको थियो ।
फोटोग्राफर अधिकारी विगत पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षण गर्ने अभिप्रायले फोटोग्राफी क्षेत्रमा लागिरहनुभएको छ । उहाँ कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ग्रामीण समाजशास्त्र विषयमा कृषि स्नातकोत्तर अध्ययनरत विद्यार्थी पनि हुनुहुन्छ ।






