जुम्लामा शान्ति सुरक्षालाई मजबुत बनाउन सिसी क्यामेरा जडान गरिँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारको मुख्य-मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । सदरमुकामको विमानस्थलबाट बीचबजार, क्याम्पस लाइन र विजयजगरमा सिसी क्यामेरा जडानका लागि अहिले रु ३० लाखको बोलपत्र आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले जानकारी दिनुभयो ।

सिसी क्यामेराको प्रत्यक्ष निगरानी जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्ने भएको छ । नीति, कार्यक्रम तथा बजेटबाट यो आर्थिक वर्षमा ३० लाखको बजेट विनियोजित गरिएको थियो । क्रमशः अर्को वर्षका लागि पनि अर्को ठाउँमा सिसी क्यामेरा जडानका लागि बजेट पारित गरिने प्रशासकीय अधिकृत न्यौपानले भन्नुभयो, “पछिल्लो समयमा बजारमा बढेका चोरीका घटना र शान्ति सुरक्षा कायमसँगै आपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन सिसी क्यामेरा जडान गर्न लागिएको हो ।”

ADVERTISEMENT

आपराधिक क्रियाकलापसँगसँगै सडक दुर्घटना न्यूनीकरणका लागि पहिलो पटकमा नगरपालिको खलङ्गा बजारका विभिन्न स्थानमा क्यामेरा जडान गर्ने तयारीमा नगरपालिका लागिपरेको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो । बोलपत्र मूल्याङ्कनको काम अबको केही सातापछि सकिएपछि क्यामेरा जडानको काम अगाडि बढ्ने नगरप्रमुख कठायतको भनाइ छ ।

अहिले आवश्यकतानुसार सदरमुकाम खलङ्गा बजारका चोकमा क्यामेरा जडान गरिने भएको छ । शान्ति सुरक्षा मजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको नगर उपप्रमुख रामदेवी खड्काले बताउनुभयो । बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामेरा जडान सुरु गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *